४ वैशाख २०८१ मंगलबार
खेल

नेपाल प्रहरीलाई एएफसीको सम्मान

क्वालालाम्पुर- एसियाली फुटबल संघ(एएफसी)ले म्याच फिक्सिङको अनुसन्धानमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै नेपाल प्रहरीको महानगरीय अपराध अनुसन्धान महाशाखालाई सम्मान गरेको छ ।
शुक्रबार एएफसीको मुख्यालयमा आयोजित कार्यक्रममा एएफसीका महासचिव डोडो विन्डसोरजनले नेपालमा म्याच फिक्सिङ अनुसन्धानको नेतृत्व गरेका महानगरीय अपराध अनुसन्धान महाशाखाका तल्कालीन प्रमुख एएसएसपी हाल (डिआईजी) सर्वेन्द्र खनाल र प्रहरी निरीक्षक (हाल डिएसपी )सुदिपराज पाठकलाई सम्मान गरेको हो ।
महाशाखाले २०७२ सालमा म्याच फिक्सिङमा संलग्न भएको भन्दै नेपालका चार राष्ट्रिय खेलाडी र एक सहायक प्रशिक्षकलाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा तत्कालीन कप्तान सागर थापा, रक्षक सन्दिप राई, विकास सिंह क्षेत्री, गोलकिपर रितेश थापा र सहायक प्रशिक्षक अन्जन विष्ट रहेका थिए । एएफसीले उनहरुलाई खेलभावना विपरित कार्य गरेको भन्दै आजीवन प्रतिबन्ध लगाएको थियो ।
यस घटनामा एएफसी , नेपाल प्रहरी र एएफसीको साझेदार स्पोर्टट्रेडर तथा युनियन अफ युरोपियन फुटबल एसोसिएसनले एक वर्ष लगाएर अनुसन्धान गरेका थिए ।
उत्त अनुसन्धानमा तत्कालीन एएसएसपी खनाल र प्रहरी निरीक्षक पाठकले नेतृत्वदायी भूमिका खेलेका थिए ।
‘म डिआईजी खनाल र डिएसपी पाठकलाई एएफसीको मुख्यालयमा स्वगत गर्न पाउदा अत्यन्तै खुसी छु,’ महासचिव डोडोले भने, ‘नेपाल प्रहरीसँगको सहकार्य र प्राप्त नतिजाले एसियाली फुटबल जगतलाई अनुशासित राख्न महत्वपूर्ण सहयोग पुगेको छ । हामी नेपाल प्रहरी र सरकारसँगको सहयोग तथा सहकार्यले निरन्तरता पाओस् भन्ने चाहान्छौ ।’
‘म्याच फिक्सिङलाई नेपाल सरकारले कानुनी दायरामा ल्याएको कुरा थहा पाउदा म हर्षित छु,’डोडोले थपे , ‘यो खेलकुदलाई अनुशासनमा बाँध्ने महत्वपूर्ण कदम हो । आशा छ अन्य देशका लागि यो उदाहरण बन्ने छ र उनीहरूले यसलाई प्रेरणाका रुपमा लिनेछन् ।’
म्याच फिक्सिङमा संलग्न खेलाडीले खेलेको खेलको नतिजा, उनीहरूको सम्पर्कमा रहेका विदेशी नागरिक र उनीहरूको पृष्ठभूमि, खेलाडीको आर्थिक गतिविधि र आम्दानीको स्रोत तथा उनीहरूको नाममा विदेशबाट आएको रकमको विवरण लगातायका आधारमा गरेको अनुसन्धानपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो ।

प्रकाशित: २८ आश्विन २०७४ ०३:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App