८ वैशाख २०८१ शनिबार
समाज

‘ह्याप्पी बर्थ डे डा. केसी’

काठमाडौं- नेपाल शिक्षण अस्पतल चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) अन्तर्गत गणेशमान सिंह भवनको दोस्रो तलाको एउटा कोठाको एक छेउ मान्छेको भीडले भरिभराउ छ । त्यही कोठाको अर्को छेउमा डा. गोविन्द केसी सुतिरहेका छन् । मुखमा अक्सिजन माक्स लगाएको छ । दायाँ हातको नाडीमा ब्यान्डेज कसिएको छ । बायाँ हातको नाडीमा स्लाइन चढाइएको छ । अनि माथितिर लेखिएको छ, ‘१३औं अनशन, नवौं दिन ।’

यसअघि डा. गोविन्द केसीले जन्मदिन कहिल्यै मनाएका थिएनन् । उनले भने, ‘जन्मदिन मनाएको यो पहिलो हो ।’

यो दृश्य देशमा भएका विकृति विसंगतिविरुद्ध अनशनरत डा. केसीको अनशन कक्षको हो । शुक्रबारसाँझ ६ बजेतिर डा. केसीका शुभेच्छुक उनलाई जन्मदिनको शुभकामना दिन त्यहाँ भेला भएका थिए । असोज २७ गते डा. केसीको जन्मदिन हो । उनी शुक्रबार  ६२ वर्षमा प्रवेश गरे ।
‘जन्मदिन खुसी भएर मनाउनुपर्ने भए पनि हामी भावविह्वल छौं,’ डा. केसीका शुभेच्छुक जगन्नाथ लामिछानेले भने, ‘हामीलाई त त्यो दिन खुसीको हुनेछ, जुन दिन डा. केसीले राखेका माग पूरा हुनेछन् ।’ देशका लागि लडिरहँदा खुसी साट्न नभएर डा. केसीलाई समर्थन गर्न जन्मदिनको शुभकामना कार्यक्रम अनशन कक्षमै आयोजना गरिएको लामिछानेले बताए ।
यसअघि डा. केसीले जन्मदिन कहिल्यै मनाएका थिएनन् । ‘असोज २७ मा जन्मदिन हो भनेर थाहा भए पनि यसअघि कहिल्यै  मनाएको थिइन,’ डा. केसीले भने, ‘जन्मदिन मनाएको यो पहिलो हो ।’ जन्मदिन मनाउन शुभेच्छुक भेला भएकोमा उनी खुसी थिए तर उनको आत्मा भने खुसी हुन सकेको थिएन । ‘मेरा शुभेच्छुकले जन्मदिन मनाएकोमा धेरै खुसी छु,’ उनले भने, ‘यसरी अन्यायको विरुद्ध निरहार बसेको बेलामा भित्रैबाट त कसरी रमाउन सक्छु र ? म त त्यसदिन मात्रै रमाउनेछु जुन दिन हामीले राखेका माग पूरा हुनेछन् ।’
शुक्रबार संसद् बैठकमा चिकित्सा शिक्षा विधेयक पेस नहुँदा नेपाली जनतामाथि ठूलो धोका भएको डा. केसीले बताए । ‘देश माफिया र गुन्डाले चलाएको पुष्टि भएको छ,’ उनले भने, ‘नेपाली जनतालाई ठूलो धोका भएको छ, मेरो सत्याग्रह जारी रहन्छ ।’

प्रकाशित: २८ आश्विन २०७४ ०२:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App