coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

स्वदेशमा सीप लगाउने रहर

सोल (दक्षिण कोरिया)- झापाका रोशन ढकालले दक्षिण कोरियाको इछनस्थित गाई फार्ममा काम गर्न थालेको तीन वर्ष पुग्नै लाग्यो। चार वर्ष १० महिनाका लागि रोजगार अनुमति प्रणाली (इपिएस) उत्तीर्ण गरेर आएका ढकालसँग आम्दानीका लागि अरु पनि विकल्प थिए। 'यहाँ आएपछि हामीलाई कम्पनी र काम रोज्ने अवसर दिइएको थियो,' ढकालले भने, 'केही साथीबाहेक अधिकांशले कृषि पेसालाई रोज्यौं।' ढकालले कृषि रोज्नुको एउटै कारण हो, नेपालमा गएर पनि यही पेसालाई निरन्तरता दिने।

यहाँका अन्य उद्योगमा काम गरेर नेेपाल जाँदा पैसा भए पनि सीपको प्रयोग नहुने उनले बुझेका छन्। 'नेपालको विकासका लागि कृषि र पर्यटन महŒवपूर्ण पाटाहरु हुन्, युवालाई कृषिमा आकर्षित गर्नका लागि सरकारले पनि नयाँनयाँ योजना ल्याइरहेको छ,' उनले भने, 'यहाँ जम्मा भएको पुँजी र सिकेको सीप स्वदेशमा गएर प्रयोग गर्ने मेरो लक्ष्य छ।'

रामेछापका सागर न्यौपाने दक्षिण कोरिया आएको चार वर्ष पुग्यो। जडीबुटी कम्पनीमा काम गर्न आएका उनले एक वर्ष मुस्किलले कटाए। अहिले उनी छन्जुस्थित एक कोरियन रेस्टुरेन्टमा काम गर्छन्। न्यौपानेले काठमाडौंमा कोरियन र नेपाली फ्युजनको रेस्टुरेन्ट खोल्ने योजना बनाएका छन्।

'विदेशमा पैसा मात्रै होइन, स्वदेशमा प्रयोग गर्न मिल्ने सीप पनि सिक्नुपर्छ भन्ने मेरो लक्ष्य थियो,' उनले भने, 'त्यसैले जडीबुटी कम्पनीको काम छोडेर रेस्टुरेन्टतर्फ लागेको हुँ।' अबको केही महिनामै उनी नेपाल फर्कने तयारीमा छन्। 'हातमा सीप छ, लगानी गर्ने पैसा पनि जम्मा गरिसकेको छु,' न्यौपानेले उत्साहित हुँदै भने, 'आउने वर्षभित्रै काठमाडौंमा कोरियन र नेपाली फ्युजनको स्तरीय रेस्टुरेन्ट सञ्चालनमा ल्याउँछु।'

रामेछापका सागर प्रसाई आफ्नै गाउँमा आधुनिक गाई फार्म र अर्गानिक तरकारी उत्पादन केन्द्र सञ्चालन गर्ने सोचमा छन्। 'कृषिलाई कसरी आधुनिकीकरण गर्न सकिन्छ भन्ने सीप मैले यहाँ सिकेको छु,' उनले भने, 'अब आफ्नै गाउँमा गएर यसलाई व्यवहारिक प्रयोगमा ल्याउने मेरो लक्ष्य छ।' यसका लागि उनले गाउँमा पूर्वाधार निर्माणको सुरुवात गरिसकेको बताए। 'कृषि फार्मका लागि आवश्यक पर्ने भौतिक संरचना निर्माणका लागि घरमा खबर गरिसकेको छु,' उनले भने, 'पैसा मात्रै होइन, विदेशमा सिकेको सीपलाई पनि स्वदेशमा गएर राम्रोसँग उपयोगमा ल्याउँछु।'

सुर्खेतका केशव तिवारी आल्मुनियम कम्पनीमा काम गर्छन्। तीन वर्षदेखि आल्मुनियमका आकर्षक ‰याल–ढोका बनाउन सिकेका उनी स्वदेश फर्केपछि यसैलाई निरन्तरता दिने तयारीमा छन्। 'यहाँको सीपलाई आफ्नो ठाउँमा प्रयोग गर्न सकेको खण्डमा आफूसहित ५–१० जनालाई रोजगारी दिन सकिन्छ,' उनले भने, 'व्यवसायका साथै अरुका लागि रोजगारी पनि हुने भएकाले सुर्खेतमा गएर आल्मुनियम उद्योग सञ्चालन गर्ने सोच बनाएको छु।'

कोरियामा हाल ४० हजार हाराहारी नेपाली कामदार छन्। तीमध्ये अधिकांश कृषि र होटल व्यवसायमा कार्यरत छन्। 'पछिल्लो समय अधिकांश नेपाली युवा पैसा कमाउने मात्रै होइन, सीप सिकेर त्यसलाई स्वदेशमा प्रयोग गर्ने हिसाबले काम गरिरहेका छन्,' कोरियामा पहिलो मानार्थ नागरिकता प्राप्त गरेका व्यवसायी केपी सिटौलाले भने, 'हामीले पनि यसतर्फ युवालाई प्रोत्साहित गर्ने काम गरिरहेका छौं।'

सोलस्थित खोङ् ही विश्वविद्यालयमा पर्यटन र होटल म्यानेजमेन्टमा पिएचडी गरिरहेका सालिकग्राम बसेल नेपालमा श्रमको सम्मान नहुँदा विदेशमा सिकेको सीप र पुँजी प्रयोग हुन नसकेको बताउँछन्। 'यहाँ रोजगारीका लागि आएका युवामा स्वदेशमै गएर केही नयाँ गरौं भन्ने जाँगर हुन्छ, उनीहरुसँग पुँजी पनि हुन्छ,' बसेलले भने, 'तर स्वदेशमा व्यवसाय गर्ने वातावरण र श्रमको सम्मान नहुँदा विदेशबाट युवाहरुले सिकेको सीप र आर्जन गरेको सम्पत्तिको प्रयोग हुन सकेको छैन।' उनले उत्पादनमूलक क्षेत्रमा काम गरेर स्वदेश फर्केका नेपालीबाट सरकारले राम्रो फाइदा लिन सक्ने बताए।

'विदेशमा काम गरेर गएका युवालाई राज्यले लगानी गर्नु पर्दैन, मात्रै उनीहरुका लागि काम गर्ने वातावरण बनाइदिनुपर्छ,' उनले भने, 'यसो हुन सकेको खण्डमा नेपालको उत्पादनमूलक क्षेत्रमा लगानी बढ्नुका साथै देशले आर्थिक समृद्धिको बाटो समात्न सक्छ।' उनले स्वदेशमा काम गर्ने वातावरण नहुँदा अहिले घर–जग्गा र अनुत्पादक क्षेत्रमा मात्रै लगानी भइरहेको बताए।

प्रकाशित: १६ श्रावण २०७३ ०५:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App