८ वैशाख २०८१ शनिबार
अन्य

फ्लाइओभर : बाँडिन्छन् सपना, बन्दैनन् योजना

करिब एक दशकदेखि हरेकजसो सरकारले उपत्यकामा फ्लाइओभर बनाउने घोषणा गर्दै आएका छन् ।
प्रत्येक वर्षका बजेट भाषणमा फ्लाइओभर निर्माणको घोषणा हुन्छ । दशकदेखि चर्चामा रहे पनि हालसम्म न फ्लाइओभरको निर्माण सुरु भएको छ, न त त्यसका लागि विस्तृत र एकीकृत योजना नै बन्न सकेका छन् ।
उपत्यकावासीका लागि फ्लाइओभर हरेक सरकारले बाँड्ने सपना बनेको छ । केन्द्रीय मात्र होइन, हालै निर्वाचित स्थानीय सरकारले समेत उपत्यकावासीलाई फ्लाइओभर सपना देखाइरहेका छन् । त्यसका लागि हालसम्म ठोस योजना भने अघि बढेका छैनन् ।

माइतीघर–त्रिपुरेश्वर सडकखण्डमा निर्माण गर्ने भनिएको चार लेनको  फ्लाइओभर पनि अन्योलमा छ । जाइकाले दुई वर्षअघि त्रिपुरेश्वर, थापाथली र माइतीघरलाई समेटेर फ्लाइओभरको सम्भाव्यता अध्ययन गरेको थियो । सम्भाव्यता अध्ययन सम्पन्न गरिए पनि अझैसम्म विस्तृत परियोजना प्रतिवेदन भने अझैसम्म बनेको छैन ।

बानेश्वर  
०६७ सालमा बानेश्वरचोकमा फ्लाइओभरको सम्भाव्यता अध्ययनका लागि चार करोड रुपैयाँ विनियोजन गरिएको थियो । तर, त्यसको ६ वर्ष बितिसक्दा समेत फ्लाइओभरको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) समेत बन्न सकेको छैन ।
सरकारी निकायको उदासिनताकै कारण फ्लाइओभर अनिश्चित भएको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका पूर्वसचिव तुलसी सिटौला विभिन्न क्षेत्रको विरोधका कारण बानेश्वरमा फ्लाइओभर बन्न नसकेको बताउँछन् । ‘सांसदले सुरक्षा संवेदनशीलता देखाउँदै फ्लाइओभर बनाउन असहयोग गरे,’ उनले भने, ‘सडक विस्तार अभियान, स्थानीयको विरोध र ठेकेदारका कारण थप समस्या आए ।’ उनका अनुसार चालू आर्थिक वर्षमा भने फ्लाइओभर सरकारी प्राथमिकतामा परेको छैन ।
२०६८ सालमै फ्लाइओभरका लागि बंगलादेशी र नेपाली  टोलीले गरेको सम्भाव्यता अध्ययन प्रतिवेदनको उपादेयता समेत सकिएको सडक विभागका कर्मचारी बताउँछन् । माइतीघर–बानेश्वर–तीनकुने सडक विस्तारअघि गरिएको अध्ययन भएकाले त्यसको उपादेयता सकिएको सडक विभाग उपमहानिर्देशक तथा पुल महाशाखा प्रमुख अर्जुनजंग थापा बताउँछन् ।
‘सडक विस्तारअगाबै फ्लाइओभर डिजाइन गरिएको थियो, अहिले संरचनामा धेरै फेरबदल आएको छ,’ उनले भने, ‘त्यसैले त्यो डिजाइन अहिले कामै नलाग्ने भइसक्यो, पहिलाको डिजाइनलाई संशोधन गरेर मात्रै फ्लाइओभर सुरु गर्नुपर्ने देखिन्छ ।’
दैनिक लाखौँ सवारीसाधन गुड्ने र हजारौँ पैदलयात्रुको उपस्थिति हुने बानेश्वरचोकमा सरकारकै उदासिनताका कारण फ्लाइओभर बन्न नसकेको हो । काठमाडौं महानगरपालिका– ३१ का वडाध्यक्ष नारायण भण्डारी राजनीतिक खिचातानीका कारण फ्लाइओभर बन्न नसकेको बताउँछन् । ‘फ्लाइओभरको सम्भाव्यता अध्ययन गरे पनि निर्माणले गति लिन सकेन,’ उनले भने, ‘सरकारले विनियोजन गरेको बजेट फ्रिज भएसँगै फ्लाइओभर योजना सेलायो ।’  
ट्राफिक प्रहरीले दुवैतर्फका सवारीसाधन नरोकेसम्म बानेश्वर चोकमा बाटो काट्न नसकिने भइसकेको छ । ट्राफिक प्रहरीले पाँचदेखि १० मिनेट अन्तरालमा दुवैतर्फका सवारीसाधन रोकेर पैदलयात्रुलाई बाटो कटाउँदै आएका छन् ।
‘यहाँ कहिल्यै भनेको बेला बाटो काट्न सकिँदैन,’ बानेश्वर चोकमा भेटिएका राजन सिग्देलले भने, ‘फ्लाइओभर बने त अहिलेजस्तो सास्ती हुँदैनथ्यो होला ।’ पैदलयात्रुले बानेश्वर चोकमा बाटो काट्नकै लागि १० मिनेटसम्म पनि उभिनुपर्ने बाध्यता छ ।
बानेश्वर, माइतीघर, थापाथली र त्रिपुरेश्वर चोकमा फ्लाइओभरको विकल्प नभएको महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रवक्ता उमेश रञ्जितकार बताउँछन् । ‘सवारीसाधनको अत्यधिक चाप हुने स्थानमा फ्लाइओभर नहुँदा व्यवस्थापनमा जटिलता थपिएको छ,’ उनले भने, ‘फ्लाइओभरसँगै ट्राफिक लाइट राखेर सडकलाई व्यवस्थित गर्नुपर्ने बेला भइसक्यो ।’
कामनपा– १० का वडाध्यक्ष रामकुमार केसी बानेश्वर चोकमा फ्लाइओभर अत्यावश्यक भइसकेको बताउँछन् । ‘अब फ्लाइओभर  बनाउनुको विकल्प छैन,’ उनले भने, ‘अब सबैसँग समन्वयन गरेर फ्लाइओभर निर्माण अघि बढाउनेछौँ ।’ आफ्नो कार्यकालभित्रै बानेश्वरमा फ्लाइओभर निर्माण गर्ने लक्ष्य राखेको उनले बताए । सडक विभाग उपमहानिर्देशक थापाका अनुसार जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले पुरानो सम्भाव्यता अध्ययनलाई आधार बनाएर फेरि फ्लाइओभर निर्माणका लागि सम्भाव्यता अध्ययन गरिरहेको बताए ।  
माइतीघर–त्रिपुरेश्वर
माइतीघर–त्रिपुरेश्वर सडकखण्डमा निर्माण गर्ने भनिएको चार लेनको  फ्लाइओभर पनि अन्योलमा छ । जाइकाले दुई वर्षअघि त्रिपुरेश्वर, थापाथली र माइतीघरलाई समेटेर फ्लाइओभरको सम्भाव्यता अध्ययन गरेको थियो । अध्ययन सम्पन्न गरिए पनि विस्तृत परियोजना प्रतिवेदन भने अझैसम्म बनेको छैन ।
सडक विभाग वैदेशिक महाशाखा प्रमुख सञ्जयकुमार श्रेष्ठले जाइकाले त्रिपुरेश्वर–माइतीघर सडकखण्डमा एक किलोमिटर फ्लाइओभर निर्माणको सम्भाव्यता अध्ययन गरेर प्रतिवेदन सरकारलाई बुझाइसकेको बताए ।
‘जाइकाले रिपोर्ट तयार पारेर सरकारलाई बुझाइसकेको छ,’ उनले भने, ‘फ्लाइओभर निर्माण अनुदानमा गर्ने कि ऋणमा भन्ने टुंगो लागेको छैन, हामी जाइकासँग छलफल गरिरहेका छौँ ।’ उनले आगामी एक वर्षभित्र सम्झौता भएर काम अघि बढ्ने दाबी गरे ।
यस क्षेत्रमा फ्लाइओभर निर्माणका लागि नेपाली सेना र थापाथली क्याम्पसको स्वामित्वमा रहेको जग्गा सरकार मातहत ल्याउनुपर्ने चुनौती देखिएको छ ।
‘अहिलेकै तुलनामा सवारी संख्या बढ्दा उपत्यकामा २०३० सम्म गाडीमा चढ्दाभन्दा पैदल हिँड्दा छिटो हुने देखिएकाले पनि फ्लाइओभर नबनाई हुँदैन,’ उनले भने, ‘जतिसक्दो चाँडो फ्लाइओभर बनाइहाल्नुपर्छ ।’
फ्लाइओभर बने त्रिपुरेश्वर चोकबाट सीधै माइतीघर पुग्न सकिन्छ । थापाथलीतर्फ घुम्नुपर्दैन । तर, अन्यत्रका फ्लाइओभर नबन्दै यस क्षेत्रमा पनि बन्न नसक्ने उनी बताउँछन् । ‘तत्काल  एक ठाउँको  ट्राफिक जाम कम गर्न त्यही मात्र फ्लाइओभर बनाएर हुँदैन,’ उनले भने, ‘एउटा फ्लाइओभरले अर्काे स्थानमा समस्या ल्याउने भएकाले एकीकृत रूपमा बनाउनुपर्छ ।’
 

कहाँ–कहाँ आवश्यक ?
उपत्यकामा सवारीसाधनको अत्यधिक चाप भएसँगै धेरै स्थानमा फ्लाइओभर आवश्यक भइसकेको छ । त्रिपुरेश्वर, थापाथली, माइतीघर, बानेश्वर, कोटेश्वर, चाबहिल, सहिदगेट, भद्रकाली, रत्नपार्क, कालीमाटी, गौशाला, पुरानो बसपार्क, गोंगबुलगायत स्थानमा फ्लाइओभर अत्यावश्यक भइसकेको यातायात विज्ञ बताउँछन् ।

प्रकाशित: २७ आश्विन २०७४ ०५:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App