७ वैशाख २०८१ शुक्रबार
अर्थ

बिबी एयरवेजले किन्यो १५ करोडमा निगमको बोइङ

काठमाडौं- सञ्चालनमा नरहेको निजी क्षेत्रको अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी बिबी एयरवेजले नेपाल वायुसेवा निगमको डेढ वर्षदेखि ‘ग्राउन्डेड’ एउटा ठूलो बोइङ जहाज खरिद गरेको छ ।

बिबी एयरवेज गैरआवासीय नेपाली व्यवसायी भवन भट्टको टिबिआई ग्रुपअन्तर्गतको कम्पनी हो । भट्ट गैरआवासीय नेपाली (एनआरएन) संघका उपाध्यक्ष हुन् भने आसन्न चुनावमा उनी अध्यक्षको प्रत्यासीका रूपमा उभिएका छन् ।
बिबीले कम्बोडियाको टोन्ले साप एयरलाइन्ससँग एकथान ‘बोइङ ७५७–२००’ सिरिजको जहाज भाडामा लिई २०६९ भदौ २८ गतेबाट अन्तर्राष्ट्रिय उडान सुरु गरेको थियो तर, सञ्चालनको तीन महिनामै सबै उडान बन्द गरेको थियो । पाँच वर्षपछि फेरि अन्तर्राष्ट्रिय उडान गर्ने उद्देश्य लिएर बिबीले वायुसेवा निगमको जहाज तीन दशक पुरानो भए पनि खरिद गरेको हो ।
‘हाम्रो बि७५७–२०० सिरिजको एकथान जहाज बिबी एयरवेजले खरिद गरेको छ,’ निगमका कर्पोरेट डाइरेक्टर तथा प्रवक्ता रविन्द्र श्रेष्ठले बिहीबार नागरिकसँग भने, ‘बिबीले जहाजको कूल मूल्यको १० प्रतिशत रकम हाम्रो खातामा जम्मा समेत गरिसकेको छ ।’
श्रेष्ठका अनुसार बिबीले १४ लाख ६० हजार अमेरिकी डलर (१५ करोड १८ लाख ४० हजार रुपैयाँ) मा जहाज खरिद गरेको हो । यसको १० प्रतिशतवापत हुन आउने १ करोड ५१ लाख ८४ हजार रुपैयाँ बिबीले निगमको खातामा जम्मा गरिदिएको छ ।
‘अबको सात दिनभित्र बाँकी रकम चुक्ता गर्न बिबीलाई म्याद दिइएको छ,’ प्रवक्ता श्रेष्ठले भने, ‘बिहीबार बिबीलाई पत्र पठाइएको छ । एक साताभित्र ऊसँग जहाज खरिद–बिक्री सम्झौता हुनेछ ।’
निगमले बेच्न खोजेको ‘बि७५७–२००’ सिरिजको उक्त जहाज करिब डेढ वर्षदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्डेड छ । ‘९एन–एसिए’ कलसाइन भएको १ सय ९० सिट क्षमतायुक्त यो जहाज निगमले सन् १९८७ मा अमेरिकी जहाज निर्माता कम्पनी बोइङसँग खरिद गरेको थियो । यसको नाम ‘कर्णाली’ हो । यो जहाज बेच्न निगमले दुईपल्ट ‘ग्लोबल टेन्डर’ आह्वान गरेको थियो ।
निगमका अनुसार उक्त जहाज जे जस्तो अवस्थामा छ त्यहीअनुसार बिक्री गरिएको हो । जहाजमा ‘आरबी२११–५३५इ४’ मोडेलका दुईथान इन्जिन छन् । तीमध्ये एउटा इन्जिनको आयु शून्य छ भने अर्कोको आयु जम्मा १ सय घन्टामात्र छ । जहाज खरिद गर्ने कम्पनीले उडाएर लैजान त्यति अवधि राखिएको हो ।
निगमले बोइङ एसिए जहाज पुरानो भएको र मर्मत खर्च अत्यधिक लाग्ने भएपछि बिक्री गर्ने निर्णय गरेको थियो । यसको दुईथान इन्जिन मर्मत गर्नमात्र करिब २ अर्ब रुपैयाँ लाग्ने भएपछि ‘बनाउनभन्दा बेच्न फाइदा’ भन्दै निगम जहाज बिक्री गर्ने निर्णयमा पुगेको थियो ।
निगमसँग रहेको यस्तै अर्को एउटा जहाज भने उडानमा प्रयोग भइरहेको छ । निगमका दुईथान बोइङले उडान गरिरहँदा वार्षिक २ अर्ब रुपैयाँ आम्दानी गर्थे । तर, ती जहाजले जति आम्दानी गर्थे, त्यसको अधिकांश हिस्सा मर्मतमै खर्च हुने गरेको थियो ।
त्यसबाहेक बि७५७ जहाज उडाउँदा प्रतिउडान जति आम्दानी हुने गर्छ, त्यसको करिब ४५ प्रतिशत हिस्सा इन्धनमा खर्च हुने गरेको थियो । अहिले निगमसँग रहेका एयरबस कम्पनीमा निर्मित नयाँ जहाजले भने यसको आधामात्र इन्धन खपत गर्ने गर्छन् । पुरानो हुँदै जानु र मर्मत खर्च उच्च हुँदै गएपछि निगमसँग बिक्रीको विकल्प थिएन ।  
तीन दशक पुरानो उक्त जहाज ६ महिनादेखि लिलाम बढाबढमा बेच्न गरेको प्रयास असफल भएपछि निगम सञ्चालक समितिले जहाजको भाउ १७ लाख १० हजार डलरबाट २ लाख १० हजार घटाएर १५ लाख डलरमा बिक्री गर्न व्यवस्थापनलाई अनुमति दिएको थियो ।  
पहिलो पटक टेन्डर आह्वान गर्दा एउटा पनि आवेदन परेको थिएन । दोस्रो पटक भने अमेरिकाको एभियन सिस्टम्स इन्कर्पोरेटेड र इजरायलको एपिएस एयरपार्ट्स, सर्भिसेस एन्ड सप्लाइज लिमिटेड तथा नेपालका हिमालया एभिएसन कन्सल्ट्यान्ट तीलगंगा, टिबिआई ग्रुप नेपाल गैरीधारा, जनार्दनमान डंगोल सानेपा, बिबी एयरवेज नागपोखरी र अनु मानन्धर नयाँबानेश्वरले बि७५७ जहाज खरिद गर्न आवेदन हालेका थिए ।
तीमध्ये एभियनले १० लाख डलर, टिबिआई ग्रुपले १२ लाख ५० हजार डलर र हिमालया एभिएसनले १३ लाख डलरमा जहाज किन्ने प्रस्ताव गरेका थिए । बाँकी चारजनाले भने मूल्य प्रस्ताव गरेका थिएनन् ।
‘हो, हामीले निगमको पुरानो बोइङ जहाज खरिद गरेका हौं,’ बिबी एयरवेजका प्रबन्ध निर्देशक शीशीर भट्टले नागरिकसँग भने, ‘यही जहाजबाट हामी पुनः अन्तर्राष्ट्रिय उडान गर्ने योजनामा छौं, थप मर्मतपछि भारतको नयाँदिल्ली उडाउने तयारी छ ।’
टिबिआईले जापानमा साढे २ सयभन्दा बढी रेस्टुरेन्ट सञ्चालन गरिरहेको छ । त्यसबाहेक नेपालमा वायुसेवा कम्पनी, मदिरा उद्योग, होटल, ट्राभल कम्पनी, ट्रेड, खाद्य तथा पेय कम्पनी, घरजग्गा, निर्माण कम्पनी, सञ्चारलगायत गरी करिब दुई दर्जन कम्पनीमा टिबिआईको लगानी रहेको भट्टले जानकारी दिए ।
‘डुबेको कम्पनी खरिद गरेर सफल सञ्चालन गर्ने रणनीति नै हो, जापानमा पनि हामीले यसरी नै सफल व्यापार गर्दै आएका छौं,’ भट्टले भने, ‘नेपालमा भने मोमेन्टो अपेरल्स डुबेको कम्पनी लिए पनि राम्रै चलाइरहेका छौं । डुबेको कम्पनीमा लगानी गरेर घाटा भएको छैन । राम्रै प्रतिफल आइरहेको छ ।’
एनआरएन संघको अध्यक्षका प्रत्यासी भट्ट गोरखा तान्द्राङका हुन् । उनी पञ्चायतकालका पूर्वसहायक मन्त्री यदु भट्टका छोरा हुन् । सन् १९९७ मा अध्ययनका लागि जापान गएका उनी २०११ मा आइपुग्दा २ सय रेस्टुरेन्टका मालिक भएका थिए भने लगत्तै बिबी एयरवेज सञ्चालनमा ल्याएका थिए ।

प्रकाशित: २७ आश्विन २०७४ ०४:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App