७ वैशाख २०८१ शुक्रबार
खेल

हङकङलाई जित्नैपर्ने दबाबमा नेपाल

काठमाडौं- इङ्ल्यान्ड र वेल्समा हुने आइसिसी विश्वकपको क्रिकेट छनोट प्रतियोगितामा सिधै छनोट हुन नेपालले विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत शुक्रबार हङकङलाई जित्नुको विकल्प  छैन । प्रतियोगिता डेढ वर्ष वर्षपछि हुँदैछ ।

दुबै टोलीका खेलाडी एक आपसमा परिचित छन् । जुन टोलीले दबाब चिर्न सक्यो त्यही टोलीको हातमा नतिजा जानेछ ।

जित्नै पर्ने खेलमा नेपाललाई महत्वपूर्ण दुई अनुभवी खेलाडीको साथ हुनेछैन । पाका स्पिनर शक्ति गौचन बिरामी भएका कारण टोलीमै छैनन् भने हङकङ पुगेपछि अर्का भरपर्दा ब्याट्सम्यान शरद भेषवाकर पनि ज्वरोले थलिएका छन् । अब टोलीमा कप्तान पारस खड्का, ज्ञानेन्द्र मल्ल, र बसन्त रेग्मी मात्र सिनियर खेलाडी छन् । त्यसो त विनोद भन्डारी, सागर पुन र सोमपाल कामीसँग पनि अनुभवको कमी छैन ।
‘शरद एक अनुभवी खेलाडी छन् । पक्कै पनि उनी नहुँदा टिम कम्बिनेसनमा असर त परिहाल्छ,’ नेपाली टोलीका कप्तान पारसले भने, ‘उनी नहुनु ठूलो घाटा हो । तर, हामी एक खेलाडीभन्दा टोलीमा विश्वास गछौं ।’
नेपालले शरदको स्थानमा वैकल्पिक खेलाडी नरेश वुढायरलाई टोलीमा बोलाएको छ । तथापि, उनी शुक्रबार विहानमात्र हङकङ पुग्छन् । त्यसैले शरदको ठाँउमा आरिफ शेखले टोलीमा स्थान पाउने छन् । हङकङविरुद्ध नेपालको ओपनिङ जोडीमा पनि परिवर्तन हुनेछ । पछिल्लो पटक केन्याविरुद्ध ज्ञानेन्द्र र सुनिल धमलाले नेपालको इनिङ थालेका थिए । तर, हङकङमा ज्ञानेन्द्रलाई सागर पुनले साथ दिनेछन् ।
नेपाल हङकङविरुद्ध मेङकङस्थित मिसन रोड मैदानमा खेल्नेछ । मैदानमा घाँस धेरै देखिएको छ । जसले मध्यम गतिका बलरलाई फाइदा पुग्छ । त्यसैले नेपालले तिब्र गतिका बलर थपेर खेल्ने सम्भावना छ । त्यसो भएमा सोमपाल कामी र करण केसीले नेपालको बलिङ आक्रमण सम्हाल्नेछन् । दुबैलाई कप्तान पारसले साथ दिनेछन् । आरिफ र दिपेन्द्रसिंह ऐरी अलराउन्डरका रुपमा टोलीमा हुनेछन् । बसन्त रेग्मीले स्पिनरको नेतृत्व सम्हाल्नेछन् । शक्तिको स्थानमा सुशन भारी टोलीमा अटाउने सम्भावना बढी छ ।
प्रतियोगितामा १० खेलबाट ८ अंक जोडेको नेपाल छैटौं स्थानमा छ । समान खेलबाट ११ अंक जोडेको हङकङ नेपालभन्दा एक स्थान माथि छ । समान १२ खेल खेलेका नेदरल्यान्ड(१८), पपुवा न्युगिनी (पिएनजी) (१६), स्कटल्यान्ड (१५), केन्या (१२) क्रमशः पहिलो, दोस्रो, तेस्रो र चौथो स्थानमा छन् ।
आइतबार केन्याले शीर्ष टोली नेदरल्यान्ड्सलाई २ विकेटले हराइदिएपछि नेपालको सम्भावना थप कठिन बनेको छ । नेपालले अब हङकङ र युनाइटेड अरब इमिरेट्स (युएई)सँग खेल्न बाँकी छ । दुवै खेल नेपाललाई जित्नै पर्छ । तर, दुवै टोली विरुद्धको जित मात्र पनि नेपाललाई पर्याप्त हुनेछैन ।  हकङकङ र केन्याको नतिजाले  नेपालको भविष्य निर्धारण गर्नेछ । हङकङले नेपालबाहेक अब दोस्रो स्थानको पिएनजीसँग खेल्न बाँकी छ भने केन्याले तेस्रो स्थानको स्कटल्यान्डसँग खेल्न बाँकी छ ।
हङकङ नेपालका लागि नौलो प्रतिद्वन्द्वी होइन । पछिल्लो पटक इर्मिजिङ टिम्स एसिया कपमा नेपालले हङकङलाई ७ विकेटले पराजित गरेको थियो । कप्तान पारस खड्काले दुबै टोलीका खेलाडी एक आपसमा परिचित भएकाले जुन टोलीले दबाब चिर्न सक्यो त्यही टोलीले जित्ने बताएका छन् ।
‘हामी खेल्नका लागि तयार छौं । जित नै हाम्रो लक्ष्य हो,’ कप्तान पारसले भने, ‘दबाब प्रतियोगिताका सबै टोलीलाई उत्तिकै छ । पछिल्लो नतिजाले अंकतालिकामा सबैको सम्भावना खुला राखेको छ ।’

प्रकाशित: २७ आश्विन २०७४ ०३:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App