५ वैशाख २०८१ बुधबार
विचार

एक घन्टाको बाटो पार गर्न आठ घन्टा

काठमाडौं- बिहान ७ बजे धादिङबेसीबाट गाडी चढेका दिनेश सापकोटा बेलुका ५ बजे काठमाडांै भित्रिए । दिउँसै काम सकेर साँझ धादिङबेसी नै पुग्ने योजनासहित हिँडेका सापकोटा साँझ मात्रै काठमाडांै आइपुगे । ‘९ बजेतिर धार्केबाट जाम सुरु भयो, काठमाडांै आइपुग्दा ५ बज्यो’, सापकोटाले भने, ‘अरुबेला धादिङबाट काठमाडांै बढीमा ३ घन्टामा आइन्थ्यो आज १० घन्टा लाग्यो ।’ सामान्य अवस्थामा एक घन्टामा पार गर्न सकिने नौबिसे नागढुंगा पार केही दिनदेखि आठ घन्टासम्म लाग्ने गरेको छ ।
मोटरसाइकलमा मुस्ताङ घुमेर फर्किएका सुरेन्द्र श्रेष्ठलाई नौबिसे नागढुंगाको करिब २५ किलोमिटर दूरी पार गर्न झण्डै चार घण्टा लाग्यो । ‘सानोतिनो जाममा त भित्रभित्र छिरेर नी डेढदुई घन्टामा कलंकी निस्किन्थ्यो, आज (बुधबार) ठ्याक्कै चार घन्टा लाग्यो, नौबिसे नागढुंगाको जामले हैरान बनायो,’ कलंकीमा भेटिएका श्रेष्ठले दुःख सुनाए ।
त्रिभुवन राजपथमा पर्ने नौबिसे नागढुंगा क्षेत्रमा दैनिक सवारी जामले यात्रुलाई आजित पारेको छ । साघुँरा सडक, उकालो बाटो, घुमाउरो मोडमा सवारी बिग्रेर जाम हुने गरेको छ । अकस्मात आइपर्ने जामले यात्रु समस्यामा पर्ने गरेका छन् । धादिङबेसी–काठमाडांै सरदर तीन घन्टाको यात्रा हो । जामले गर्दा दश घण्टासम्म लाग्ने गरेको चालक बताउँछन् ।
    राजधानी भित्रिने र राजधानीबाट पूर्वपश्चिमका जिल्ला जाने यात्रु जामको सास्ती खेप्न बाध्य छन् । खासगरी त्रिभुवन राजपथ पर्ने पीपलामोड, झ्याप्लेखोला, टायलघरलगायतका मोडमा बढी जाम हुने गरेको छ । घुम्ती र साँघुरो बाटोमा चाडपर्वको आसपासमा सवारी चाप बढी हुने भएकाले पनि जाम हुने गरेको ट्राफिक प्रहरी कार्यालय खानीखोलाका सई जयराम पुडासैनीले बताए । ‘चाडपर्वको समयमा एक त सवारीको चाप बढी छ, अर्कोतिर उकालो घुम्ती बाटोमा ठूल्ठूला गाडीले जाम गरिदिन्छ,’ उनले सुनाए ।
लोड बोकेको ट्रक (टे«लर) राजधानी प्रवेश गर्दा बाटोमै बिग्रिनाले बढी जाम हुने गरेको छ । साँधुरो बाटो भएकाले एम्बुलेन्ससमेत जाममा पर्ने गरेको छ । साइरन बजाए पनि साइड दिने बाटो नहुदाँ बिरामी भएकाहरू झनै बिरामी हुन्छन् ।  
देशका ६७ जिल्लालाई राजधानीसँग जोड्ने एकमात्र स्थलमागका पमा चिनिने त्रिभुवन राजपथको नौविसे–नागढुङ्गा खण्डको यात्रा अहिले कहाली लाग्दो छ । उकालो भएर जांदै गरेका मालवाहक सवारीसाधन कति बेला सडकमै बिग्रन्छ पत्तै हुँदैन । ठाउँठाउँमा परेका खाल्डोले दुर्घटना पनि बढाएको छ ।
    यात्रुहरू अहिले बेलैमा गन्तव्यमा पुग्न त सक्दैनन् नै अर्कातिर यात्राका बेला चाहेको खानेकुरा किनेर खानसमेत नपाउने काठमाडौँ जाँदै गरेका यात्रु सानुमाया पौडेलले बताइन् । उनले भनिन्, ‘सडकको ठाउँ ठाउँमा खाल्डाखुल्डीले राजमार्गमा यात्रा गर्ने यात्रुहरू गन्तव्यसम्म पुग्दा हिलाम्मे र धुलाम्मे हुनु परेको छ भने अर्कातिर घन्टौँ जाममा पर्दा समयमा गन्तव्यमा पुग्न सकिएको छैन ।’
दिनभरको यात्रा गरेर गन्तव्यमा पुग्न १० किलोमिटरको यात्रा बाँकी रहँदा घन्टौंसम्म पर्खनु पर्ने जामले पूर्वपश्चिमबाट राजधानी आउने यात्रुको दिनहँु विचल्ली हुने गरेको छ । नौबिसे र नागढुंगाबीचमा यात्रुलाई खाना खुवाउने होटलसमेत नहुँदा जाम लाग्न थालेपछि बजार मुल्य भन्दा चार गुणा बढी तिरेर भए पनि पानी र चाउचाउ किन्न यात्रुहरू बाध्य हुने गरेका छन् । सीमित खर्च लिएर हिडेकालाई त झनै समस्या हुने गरेको छ । बाटोमा जाममा परेको बेलामा त २० रुपैयाँको पानीलाई ५० रुपैयाँ तिर्नुपरेको यात्रुले बताएका छन् ।
जामको पीडा यात्रुले त बेहोरेकै छन् प्रहरीले पनि सधैं सास्ती खेप्नुपरेको छ । बाटोमै बिग्रिएका सवारीसाधन तत्काल सडकबाट हटाउने उपकरण नहुँदा ट्राफिक प्रहरीले आलोपालो गरेर सवारी पास गराउने गरेका छन् । अरु प्राविधिक उपकरण त परको कुरा बजारमा जताततै पाइने एउटा गाडीले अर्को गाडीलाई तान्ने फलामे डोरी (टुचेन) समेत ट्राफिक प्रहरीसँग छैन ।
नागढुंगा नाका हुँदै दैनिक १० हजारको हाराहारीमा सवारीसाधन आवतजावत हुन्छ । नाकढुंगादेखि कलंकीसम्म निर्माण गरिँदै गरेको सडकले पनि अर्को दुःख दिएको छ । सडक निर्माणका लागि दैनिक जाम हुने गरेको छ । खाल्डाखुल्डीले गर्दा सवारी रोकिनाले पनि हैरानी बेहोर्नु परेको छ । एक त धुवाँधुलो अर्कोतिर जामले यात्रुलाई मात्र होइन सडक छेउछाउ बसेका स्थानीयलाई पनि दुःख दिएको छ ।  
नागढुंगा आसपासमा हुने सवारी जामको असर राजधानी भित्रिने यात्रुलाई भन्दा बाहिरिनेलाई बढी परेको छ । त्रिभुवन राजपथ अन्तर्गत नागढुंगा–नौबिसे सडकखण्डमा विभिन्न कारणले गर्दा यात्रुले घन्टौं जाममा बसेर बल्लबल्ल उक्त खण्ड पार गर्ने गरेका छन् । उनीहरूले फेरि केही घण्टाकै यात्रामा मुग्लिन–नारायणघाट सडकखण्डमा बाटो निर्माणका कारण अवरोध खेपिरहनु परेको छ ।  
मुग्लिन–नारायणघाट  सडक खण्डमा निर्माणको काम भइरहेका कारण ठाउँ ठाउँमा सवारी आवागमनमा अवरोध हुन्छ । चीनलाई भारतसँग जोड्ने छोटो र सबैभन्दा नजिकको मुख्य व्यापारिक सडक मानिने सो सडकखण्ड फराकिलो बनाउन अहिले निर्माणको काम भइरहेको छ । तर, निर्माण कार्य निकै सुस्त र अव्यवस्थित हुँदा त्यसको प्रत्यक्ष मार राजधानी भित्रिने र बाहीरिने यात्रुले खेप्नुपरिरहेको छ । यस्ता सडकले गर्दा दुर्घटनाको खतरा निम्तिएको छ । जाम खुल्नी साथ गन्तव्यमा पुग्न हतार गरिदाँ धेरै दुर्घटनाका  घटेका छन् ।

प्रकाशित: २७ आश्विन २०७४ ०३:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App