७ वैशाख २०८१ शुक्रबार
विचार

धर्म निरपेक्षतामा दलित

केही दिनअघि यसै नागरिक दैनिकमा नेपालका वरिष्ठ पत्रकार आदित्यमान श्रेष्ठ तथा पूर्वप्रशासक द्वारिकानाथ ढुंगेलले संघीयता, धर्मनिरपेक्षता तथा गणतन्त्र नेपाललाई अफाप सिद्ध भएको र यी तीनै कुरा खारेज गर्दै शाहवंशीय बेबी किङ स्थापित गर्दै नेपाललाई हिन्दू राष्ट्र बनाउने कुराको वकालत गरेको पढियो । हुनत यी दुई विद्वान्हरूले भन्दैमा त्यस्तो परिवर्तन तत्काल नहोला, तर नेपाली कांगे्रसले पनि बेला बेलामा बेबी किङको कुरा गर्ने र त्यसमा एमाले र माओवादी पनि मौन बस्दा कतै राजतन्त्र त फर्किने होइन भन्ने शंका जाग्नु अन्यथा होइन ।
यी सबै बहस चलिरहँदा नेपालमा रहेका विभिन्न जाति, समुदाय तथा दलितहरूले खास गरी हिन्दू र राजतन्त्रात्मक व्यवस्थामा कस्तो महसुस गरेका थिए र अहिले उनीहरूले के चाहन्छन् भन्ने छलफल कतै भएको देखिएन । सम्भवतः दलितहरू त्यसै पनि हिन्दू समुदाय हुन् । यिनीहरूले भोग्नुपरेको दासत्व, उत्पीडन र अपमानलाई वास्तै नगर्दा पनि हुन्छ भन्ने मानसिकताले काम गरेको देखिन्छ ।
मेरो जन्म पञ्चायत काल सुरु हुनेबित्तिकै भएको हुँदा सक्रिय राजतन्त्रसहितको हिन्दू राज्यले कस्तो नीति अपनाएको थियो र त्यसमा हामीले के कस्ता अन्याय र अत्याचार भोग्यौँ भन्ने केही चर्चा गर्नु सान्दर्भिक हुनेछ । अहिलेको गणतान्त्रिक नेपालमा हामीले हामीमाथि भएको अन्याय, उत्पीडनको कुरा देशभित्र मात्र होइन, बाहिर पनि निर्धक्क राख्न सक्छौँ, यसलाई मानवअधिकार र लोकतन्त्रप्रति समर्पित संविधानको प्रावधानले लेख्न, बोल्न र संगठित हुन पाउने अधिकारसहित सुनिश्चित गरेको छ । तर पञ्चायतकालमा हामीलाई २०२० सालको मुलुकी ऐनले पुरानो १९१० को मानवता विरोधी मुलुकी ऐनलाई खारेज गरेर कानुनी समानता त प्रदान गरेको थियो तर छुवाछूतको व्यवहार गर्नेलाई कानुनको कठघराभित्र ल्याउनुपर्छ भनेर कहीँकतै चुँसम्म बोलेको थिएन । युवा अवस्थाको जोससहित हामीले तानसेनको भगवती मन्दिर प्रवेशको आन्दोलन २०३८ सालमा गरेका थियौँ । हामी सो मन्दिरमा प्रवेश गरेपछि तानसेन बजार जहाँ नेवार समुदायको वर्चस्व छ, त्यहाँ होहल्ला भयो र हामीलाई झन्डै झन्डै अराष्ट्रिय तत्व भनी जेलमा हालेनन् । त्यहाँको नेवार समुदायले सीधै प्रतिकार गरेनन्, तर तत्कालीन सिडियो जो नेवार समुदायबाट नै थिए, उनले हामीलाई आफ्नो कार्यकक्षमा बोलाएर बेस्सरी हकारे र वर्षौंदेखि रहेको सामाजिक सद्भाव बिथोल्न खोज्नेलाई जेल पठाइदिऊँ भनी धम्की पनि दिए । पहिले पहिले सो भगवतीको मन्दिरभित्र गैरदलितहरू मूर्तिमै छोएर पूजा गर्थे, हामी ढोकाबाहिर बस्थ्यौँ, हामी दलित युवाहरू सो मन्दिरमा छिरेपछि ढोकाभित्र सबैले छिर्न पाउने तर मूर्तिलाई कसैले पनि छुन नपाउने व्यवस्था गरियो । जे भए पनि हाम्रो नाउँमा अन्यलाई पनि मूर्तिको अगाडि अछूत बनाइयो । सो घटनापश्चात् मैले सो मन्दिरको प्रांगण पनि टेकेको छैन ।
विष्णु भगवान्का अवतार मानिने राजालाई हामीमाथि गरिएको उत्पीडन सबै थाहा थियो तर हामीलाई धार्मिक समानता दिने कुनै प्रयास गरिएन । राजाका परमभक्त स्वर्गीय हिरालाल विश्वकर्मालाई बिपी कोइरालालाई फाँसी दिनुपर्छ भनी संसद्मा बोल्न लगाई उपयोग ग¥यो तर उनलाई क्याबिनेट मन्त्री कहिल्यै बनाइएन, केवल सहायक मन्त्री मात्रै बनाइयो । त्यसको एउटै मतलब के थियो भने बडागुरुज्यूसमेत रहने राजसभा स्थायी समिति थियो, जसका सबै सदस्यहरूलाई सम्माननीय भनिन्थ्यो, प्रधानमन्त्री र अन्य सबै क्याबिनेट मन्त्री त्यसको पदेन सदस्य हुन्थे, त्यहाँ एउटा दलितलाई प्रतिनिधित्व गराउँदा सबै सभा अपवित्र हुन्छ भन्ने कारणले गर्दा उनलाई कहिल्यै पनि क्याबिनेट मन्त्री बनाइएन । उनी परमराज भक्त र पञ्चायतका लागि उपयोगी व्यक्ति भएको हुँदा धेरै पटक राजाको सवारी मन्त्री पनि भए तर पनि राज्यको धेरै सभा समारोहमा उनलाई या त उपस्थित नै गराइँदैन थियो या गराए पनि विभिन्न बहानामा अपमान गरिन्थ्यो । जब एउटा मन्त्रीको हैसियत त व्यवस्थाभित्र त्यस्तो थियो भने आम दलितलाई पञ्चायत कालरात्रिभरि कसरी व्यवहार हुन्थ्यो, हामी जस्ता भुक्तभोगीलाई मात्र थाहा छ । अनि बेबी किङसहितको हिन्दूराज्य बनाउने बहसलाई आम दलित समुदायले के सहजै लिन सक्छन् ?
धर्मनिरपेक्षता र गणतन्त्रमा आम दलितले सुरक्षित र विकल्पसहित सम्मानित महसुस गर्ने अवसर पाउँछ । अतः हिन्दूराज्य र राजतन्त्रको पुनःस्थापना चाहने व्यक्ति वा संगठनहरूले यो देशमा भएका १३ प्रतिशत दलितहरूलाई आश्वस्त नपार्दासम्म यसको समर्थन गर्ने अवस्था रहँदैन ।

प्रकाशित: २७ आश्विन २०७४ ०३:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App