coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

नेपाल प्रहरीको टोपीमा भारतको झण्डा

टीकापुर- नेपाल प्रहरीले लगाउने पोशाकमा छिमेकी मुलुक भारतलाई झल्काउने संकेत छन भन्दा कतिपयलाई पत्यार नलाग्न सक्छ । सुरक्षाकर्मीले लगाएको टोपीमा यस्ता संकेत भेटिएपछि पत्याउनै पर्ने हुन्छ। कतिपय प्रहरीले लगाएका टोपीमा भारतको राष्ट्रिय झण्डा (तिरंगा), ‘मेरा भारत महान, सारे जहाँ से अच्छा हिन्दुस्तान हमारा’ लेखिएका थुप्रै संकेत भेटिन्छन् । ती संकेत टोपीको भित्रपट्टी राखिएका छन्। अझ कतिपय टोपीमा भेडाको चित्रसमेत उल्लेख गरेको पाइएको छ।

आफ्नो स्वाभिमानमाथि नै आँच आउने खालका यस्ता टोपी सुरक्षाकर्मीले वर्षौदेखि प्रयोग गर्दै आएका छन्। उनीहरूलाई यस बारेमा जानकारी नभएर हो वा संगठनकै लापरवाहीले सुरक्षाकर्मीको स्वाभिमान गिराउने काम भएको छ।

संगठनको तल्लो तहका जवान मात्रै हैन प्रहरी अधिकृतले लगाएको टोपीमा समेत यस्ता संकेत भेटिएका छन्। एकजना प्रहरी अधिकृतले लगाएको टोपीमा भारतीय झण्डा र ‘सारे जहाँ से अच्छा हिन्दुस्तान हमारा’ लेखिएको पाइएको छ । पूरानो भएकाले भारतीय झण्डा भने स्पष्ट चिनिदँन। उनले लामो समयदेखि सोही टोपी प्रयोग गर्दै आइरहेको बताए ।
केही समयअघि अर्का एक प्रहरी निरीक्षकको टोपीमा समेत यस्तौ संकेत भेटिएको थियो। उनको टोपीको एकातर्फ ‘मेरा भारत महान’ लेखिएको र अर्कोतर्फ भारतको राष्ट्रिय झण्डा उल्लेख भएको ‘स्टिकर’ भेटिएको थियो । यस्तो ‘स्टिकर’ भेटिएपछि उनले तत्काल च्यातेर फालेका थिए।

प्रहरी संगठनले मातहतका सुरक्षाकर्मीका लागि टेण्डरमार्फत टोपीलगायतका पोशाक खरिद गर्दै आएको छ । प्रहरीको पोशाक भारतीय कम्पनीले उत्पादन गरेको मध्येबाट भित्रिने गरेको स्रोतले बताएको छ । भारतीय कम्पनीले जानाजान यस्तो बदमासी गरेको स्रोतको दाबी छ। प्रहरी प्रवक्ता डिआइजी मनोज न्यौपानेले टेण्डरमार्फत खरिद गरेको टोपीमा यस्ता खालको कुरा हुन नसक्ने दाबी गरे । उनले कसैले व्यक्तिगत रूपमा खरिद गरेर लगाएको टोपीमा यस्ता संकेत भेटिन सक्ने बताए।

‘व्यक्तिगत रूपमा खरिद गरेको टोपीमा यस्तो संकेत भेटिन सक्छ,’ उनले भने, ‘त्यस्तो कुरा लगाउने व्यक्तिले ख्याल गर्नुपर्ने हो ।’

उनले पोशाक हराए वा च्यातिए संगठनले तत्काल उपलब्ध गराउने सुविधा नभएका कारण सुरक्षाकर्मीले अर्को व्यवस्था नभएसम्म बजारबाट किन्न सक्ने बताए । हरेक वर्ष पोशाक उपलब्ध गराउने प्रावधान नभएका कारण सुरक्षाकर्मीले आवश्यक परेको बेला बजारमा किन्नुपर्ने वाध्यता रहेको संगठनको भनाइ छ ।

‘भारतीय प्रहरी र हाम्रो टोपी धेरैजसो मिल्छ’ उनले भने, ‘कहिलेकाँही व्यापारीसँग किन्दा त्यस्तो टोपी पर्न सक्छ ।’

कतिपय सुरक्षाकर्मीले संगठन भित्रैबाट उपलब्ध गराएका टोपीमा समेत यस्ता संकेत भेटिएको बताएका छन् । उनीहरूले नाम उल्लेख नगर्न आग्रह गर्दै संगठनले दिएको पोशाक चुपचाप लगाउनु बाहेक अन्य कुनै विकल्प नभएको बताए। ‘सबै कुरा माथिल्लो तहले नै व्यवस्थापन गर्ने हो,’ एक सुरक्षाकर्मीले भने, ‘हामीले लगाउँदैनौं भनेर केही हुँदैन ।’ कतिपयले त्यस्ता संकेत फालेर टोपी प्रयोग गर्दै आएको सुनाए।

प्रकाशित: २७ आश्विन २०७४ ०३:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App