८ वैशाख २०८१ शनिबार
समाज

गौचन हत्या अनुसन्धानका चार कोण

काठमाडौं- नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्या अनुसन्धानका लागि गठित समितिले हत्यामा संलग्न सुटर उनीहरूले घटनामा प्रयोग गरेको मोटरसाइकलको नम्बर खुलेको दाबी गरेको छ ।
घटनाको चौथो दिन समितिले गोली हान्न संलग्न सुटरको स्केच बनाएको र मोटरसाइकल नम्बरसमेत खुलेको दाबी गरेको हो । तर समितिले दुवै गोप्य राखेको छ ।
रातो रङको मोटरसाइकलमा आएका सुटरले गौचनलाई सोमबार मध्यबानेश्वर खरीबोटमा गोली हानेका थिए । उनलाई गोली हान्ने व्यक्ति घटनाको करिब २ सय मिटरमा रहेको मोटरसाइकल चढेर भागेका थिए ।
घटनाका प्रत्यक्षदर्शीको भनाइका आधारमा प्रहरीले सुटरको स्केच बनाएको अनुसन्धान सम्बद्ध स्रोतले बतायो । सुटरले प्रयोग गरेको मोटरसाइकल नम्बर भने समितिले गोप्य राखेको छ ।
घटनामा कति जना संलग्न थिए भन्ने पनि खुल्न सकेको छैन । केही प्रत्यक्षदर्शीले एक जनाले गौचन चढेको गाडीको अगाडिपट्टिको सिसामा इँट्टाले हानेर भागेको, लगत्तै दोस्रो व्यक्ति आएर गोली हानेको र अर्का व्यक्ति मोटरसाइकलमा कुरेर बसेको बताएका छन् ।
केहीले भने इँट्टाले हान्ने र गोली हान्ने एकै व्यक्ति रहेको दाबी गरेका छन् । घरबाट निस्किएको केही समयमै गौचनमाथि गोली प्रहार भएकाले उनको घरको निगरानीमा समेत हत्यामा संलग्न समूहको सदस्य बसेको समितिको निष्कर्ष छ ।
‘अहिले घटनास्थलमा यति नै संख्यामा खटिएका थिए भन्न सक्ने अवस्थामा छानबिन पुगेको छैन,’ अनुसन्धान सम्बद्ध स्रोतले भन्यो, ‘घटनाको प्रकृतिका आधारमा तीन जनाभन्दा बढी खटिएको देखिन्छ ।’
अनुसन्धान सम्बद्ध स्रोतका अनुसार रकम असुलीमा संलग्न समूह, गौचनको हत्यापछि निर्माण व्यवसायमा फाइदा पुग्ने प्रतिस्पर्धी, लेनदेन र महासंघको नेतृत्वका सम्भावित आकांक्षी र उनीहरूको गौचनसँगको सम्बन्धलाई अनुसन्धानको दायरामा ल्याइएको छ ।
घटना हुनुअघि गौचनलाई कसैले धम्क्याएको या पैसा मागेकोबारे गौचनले परिवारलाई केही नबताएको र उनको मानसिक अवस्थासमेत सामान्य रहेको जानकारी प्रहरीले पाएको छ । घटना भएको दिनसमेत उनी सामान्य अवस्थामै रहेको उनको परिवारका सदस्यले प्रहरीलाई जानकारी दिएका छन् ।
घटनाको प्रकृति र हत्यापछि विकसित घटनाक्रमका आधारमा आतंक मच्चाएर रकम असुलीमा संलग्न समूहले उनको हत्या गराएको देखिए पनि अन्य तीन कोणलाई समेत प्रहरीले अनुसन्धानको दायरामा राखेको छ ।
‘कतिपय घटनामा अनुसन्धानलाई दिग्भ्रमित गर्न एक क्षेत्रतिर केन्द्रित गराउने प्रयास पनि हुन्छन्,’ जानकार अधिकारीले भने, ‘अर्को उद्देश्यले हत्या भएको अवस्थामा प्रहरीको ध्यान अन्यत्र मोड्न फोन गरेर धम्क्याउने, पैसाको माग गर्ने जस्ता गतिविधि भएका हुन सक्छन् । यो पाटोलाई पनि अनुसन्धानको दायरामा राख्नुपर्छ ।’
प्रहरीले गौचन हत्यामा संलग्न हुन सक्ने भन्दै रमेश बाहुन, मनोज पुन र समीरमान बस्नेत केन्द्रित गरेर अनुसन्धान अगाडि बढाएको छ । घैंटे इन्काउन्टरमा मारिए पनि उनको समूहका सदस्यले इन्काउन्टरमा संलग्न प्रहरी अधिकारीको हत्याको योजनासमेत बनाएका थिए ।
प्रहरी र सम्पत्ति शुद्धीकरण विभागले काठमाडौंमा कहलिएका ६ ‘गुन्डा’ को सम्पत्तिको स्रोतको अनुसन्धान गरेर अकुत सम्पत्तिको मुद्दा चलाएपछि घैंटेलगायतका अन्य ‘गुन्डा’ हरूले आफ्नो नाममा रहेको सम्पत्ति अरूको नाममा सारेका थिए । घंैटेको मृत्युपछि उनको समूहका व्यक्तिले घैंटेको सम्पत्तिको खोजी गरिरहेका छन् ।
अनुसन्धान स्रोतका अनुसार गौचन र घैंटेबीच समेत सम्बन्ध रहेको खुलेको छ । तर यी दुवैबीच आर्थिक लेनदेन थियो या थिएन सो भने खुलेको छैन ।
अनुसन्धान समितिका संयोजक डिआइजी गणेश केसीले हत्या हुनुको सबै सम्भावित कारण विश्लेषण गरी अनुसन्धान भइरहेको बताए ।  उनले स्केच बनेको, मोटरसाइकलको नम्बर खुलेको र घटनास्थलमा खटिएको सुटर टोलीको संख्याबारे जानकारी दिन मानेनन् ।
‘अनुसन्धान सही ट्र्याकमा अघि बढिरहेको छ, तर अहिले नै सार्वजनिक गर्ने गरी कुनै निष्कर्ष निस्किएको छैन,’ उनले भने ।

प्रकाशित: २७ आश्विन २०७४ ०३:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App