८ वैशाख २०८१ शनिबार
समाज

झाडीमा भेटिएका शिशुको उपचारमा रकम अभाव

सिन्धुपाल्चोक—  बेबारिसे अवस्थामा सालनालसहित झाडीबाट जीवित उद्दार गरिएका नवजात शिशुको उपचारमा आर्थिक कठिनाइ भएको छ। उनको तीन सातादेखि भक्तपुरस्थित सिद्धिस्मृति अस्पतालमा उपचार भइरहेको छ। 

जिल्लाको बाह्रविसे नगरपालिका, घुमथाङ गाउँको श्यामसातुस्थित झाडीबाट असोज ३ गते स्थानीयले उनको जीवित उद्दार गरेका थिए। स्थानीयकै पहलमा उनको उपचार भइरहेको जिल्ला बालकल्याण समितिले जनाएको छ। ‘शिशुको उपचारमा रकम अभाव भइरहेको छ,’ समितिका सूचना व्यवस्थापन अधिकृत रेवतिरमण नेपालले नागरिकन्युजसँग भने। उनको बाबुआमा पत्ता नलागेकाले तत्काललाई उपचार र रेखदेख गर्न समितिले एक स्थानीयलाई संरक्षक तोकेको उनले बताए। 

तीन दिनदेखि शिशुको स्वास्थ्य अवस्था जटिल बन्दै गएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । त्यसअघि उनको स्वास्थ्य अवस्था सुधारोन्मुख थियो। चिकित्सकलाई उद्धृत गर्दै संरक्षकले दिएको जानकारी अनुसार शिशुमा म्यानेन्जाइटीस देखा परेको छ। ‘टाउको लगायत शिशुको शरीरका अंग राम्ररी विकास भइनसकेको चिकित्सकले बताएका छन्,’ संरक्षकले भने, ‘टाउको समेत सुनिँदै गएकाले अप्रेशन गर्न सुझाइएको छ ।’ 

चिकित्सकका अनुसार शिशु २८–३० हप्ताका छन् । प्राकृतिक रुपमा जन्मनु १० हप्ताअघि नै गर्भपतन प्रयास गर्दा शिशु जीवित जन्मन पुगेको हुन सक्ने अनुमान गरिएको छ । प्रहरीले भने अवैध गर्भ लुकाउन गर्भपतन गराउन खोजेको आशंका गरेको छ । ‘गर्भ र गर्भपतन दुबै अवैध भएको प्रहरी आशंका छ,’ जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर हरिकृष्ण केसीले भने । 

साँझ बाटो हिँड्ने क्रममा स्थानीय बालबालिकाले झाडीमा शिशु देखेर उनीहरुको परिवारलाई खबर गरेपछि गाउँलेले जानकारी पाएका थिए । स्थानीयका अनुसार रगतमा लत्पतिएका शिशु सालनालसहित झाडीमा खेलिरहेका थिए । जन्मिएकै दिन झाडीमा फालिएको हुन सक्ने गाउँलेको अनुमान छ । तत्कालै उनीहरुले इलाका प्रहरी कार्यालयलाई खबर गरे । रात परिसकेकाले प्रहरीले शिशुलाई तत्काल बाह्रविसे ल्याउन अनुरोध गरे पनि डरले कोही अघि सरेन । 

शिशु भेटिएको झण्डै दुई घण्टापछि स्थानीय मुना श्रेष्ठ अघि सरिन् । उनैले काखमा च्यापेर शिशुलाई बाह्रविसे ल्याएकी थिइन् । ‘बालकको शरीमा कमिला लाग्न सुरु गरेका थिए । टाउको निकै गिलो थियो,’ बालकका उपचारमा अहिले सहयोग अभियान चलाइरहेकी उनले भनिन् । प्राथमिक स्वास्थ्य केन्द्र बाह्रविसेमा प्राथमिक उपचारपछि शिशुलाई त्यसै रात धुलिखेल अस्पताल पु¥याएको थियो । त्यहाँ उपचार हुन नसकेपछि भोलिपल्टै उनलाई स्थानीयले नै सिद्धिस्मृति पुर्‍याएका थिए।

त्यहाँ पुर्‍याएपछि रकम अभाव हुँदा बालकल्याण समितिलाई घटनाबारे थाहा दिइएको सूचना व्यवस्थापन अधिकृत नेपालले बताए । उनका अनुसार शिशुको सुरुवाती उपचार प्रहरी र स्थानीयले आ–आफू रकम उठाएर गरेका थिए। घुम्थाङकै मुना, रेशम प्रधान लगायत स्थानीय शिशुको उपचारमा सक्रिय छन् । सामाजिक सञ्जालमार्फत उनीहरुले शिशुको उपचारको लागि रकम जुटाउन अभियान नै चलाइरहेका छन् । ‘अभियानबाट उठेको थोरै–थोरै रकमले उपचार गरिराखेका छौँ,’ उनले भनिन्, ‘उपचारमा धेरै रकम लाग्ला जस्तो छ !’

संधिग्न महिला पक्राउ
प्रहरीले संधिग्न स्थानीय एक महिलालाई पक्राउ गरेको छ । इलाका प्रहरी बाह्रविसेले तीन दिन अघि ती महिलालाई नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया सुरु गरेको जनाएको छ । बाह्रविसे प्राथमिक स्वास्थ्य केन्द्रमा उनको स्वास्थ्य जाँच गरिएको र प्रतिवेदन भने आउन बाँकी रहेको इन्स्पेक्टर केसीले बताए । उनकाअनुसार महिला आफैँ बिरामी रहेकाले प्रहरीले बयान लिन पाएको छैन । ‘उपचारसँगै औषधी सेवन गरेर उनी आराम गरिरहेकी छन्,’ उनले भने । 

प्रकाशित: २६ आश्विन २०७४ ०९:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App