coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

केकीलाई डिग्री

तस्बिर सौजन्यः विनोद पोखरेल

काठमाडौं- अभिनेत्री केकी अधिकारीले औपचारिक रुपमा मास्टर्स्को डिग्री हासिल गरेकी छिन्। अभिनय र पढाइलाई समानान्तर रुपमा लिएर गएकी केकीलाई उपराष्ट्रपति नन्दकिशोर पुनले एमबिएको सर्टिफिकेट प्रदान गरेका थिए।

केकीले बिजुलीबजारस्थित प्रेसिडेन्सियल कलेजबाट 'ह्युमन रिसोर्स म्यानेजमेन्ट' मा एमबिए पूरा गरेकी हुन्। अमेरिकाको युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कलेजमा केकीले दुई वर्ष अध्ययन गरेकी थिइन्। केकीले एमबिएको थेसिस फिल्मकै विषयमा गरेकी थिइन्। उनले 'रोल अफ स्किल्ड फिल्म टेक्निसियन इन मेकिङ अ फिल्मस्' शीर्षकमा थेसिस तयार गरेकी थिइन्।

नेपाली फिल्म क्षेत्रमा काम गर्ने कलाकार तथा प्राविधिक अनपढ रहने गरेको आम मान्यता छ। तर केकीले आफ्नो डिग्रीले आम मानिसमा फिल्मकर्मीको त्यो धारणामा परिवर्तन ल्याउन भन्दा पनि जीवनमा पढाईको महŒव कत्ति छ भन्ने कुराको सन्देश दिनसक्यो भने खुसी लाग्ने बताइन्।

'तेस्रो विश्वका हामी जस्ता मानिसको हतियार भनेको नै पढाइ हो। मेरो ग्रयाजुएसनले यो सन्देश छर्नसक्यो भने मलाई खुसी लाग्नेछ। त्यसबाहेक हामीले चाह्यौं भने जे पनि गर्न सक्छौं भन्ने कुराको प्रमाण पनि हो मेरो डिग्री। किनकि मैले पूर्णकालीन अभिनेत्री भएर फिल्ममा काम पनि गरेँ र पूर्णकालीन विद्यार्थीझैं पढाई पनि पूरा गरेँ,' केकीले याक एन्ड यतिको हलमा दीक्षान्त मन्तव्या दिँदै भनिन्।

पोडिएयमा नर्भस छु भन्दै माइक समातेकी केकीले करिब सात मिनेट बोलेर फर्कंदामात्र आत्मविश्वास फर्काएकी थिइनन्, आफूसँगै हजारौंमा आत्मविश्वास फर्काउने मन्तव्य दिएकी थिइन्। दीक्षान्त समारोहमा उपस्थित विद्यार्थी हुन् वा शिक्षक सबैका हात केकीका हरेक वाक्यसँगै ठोक्किएका थिए।

'कोसिस करने वालेकी कभी हार नही होती' उनले अमिताभ बच्चनका पिता हरिवंशराय बच्चनको माथिका पंक्ति वाचन गर्दै आफूले पनि सधैं कोसिस गरिरहेको र जीवनका अप्ठ्यारा दिनहरु सामना गरेर अगाडि बढेको स्मरण गरेकी थिइन्।

'नेपाली फिल्मकी अभिनेत्री भएको नाताले मैले जीवनमा धेरै कुरा पाएको छु र गुमाएको पनि छु। तर मैले शून्यबाट सुरु गरेर अनन्तसम्म पुग्ने साहस गुमाएकी छैन,' केकीले भनिन्।

उनले गत साल गएको भूकम्पमा आफू र आफूजस्ता युवाहरुले गरेको योगदानको स्मरण गर्दै कोसिसप्रतिको विश्वासका कारण नै भूकम्पसँग लड्न सकेको बताइन्।  उनले आफू र आफ्नो पुस्ताले गरिरहेको संघर्ष भोलिका दिनमा आउँदा पुस्ताका लागि प्रेरणादायी कथा बन्ने भन्दै कोशिस गरिरहन आग्रह गरिन्। 

म्युजिक भिडियो हुँदै 'स्वर'बाट फिल्ममा डेब्यु गरेकी अभिनेत्री केकी अधिकारीले हालसम्म लगभग दुई दर्जन फिल्ममा अभिनय गरेकी छिन्। 'लभ सासा' केकीको रिलिज हुन बाँकी रहेको फिल्म हो।
 

प्रकाशित: १६ श्रावण २०७३ ०५:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App