७ वैशाख २०८१ शुक्रबार
राजनीति

कांग्रेससँग एकीकरण गर्न फोरम लोकतान्त्रिक तयार, गच्छदारले मागे उपसभापति

काठमाडौं- फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारले नेपाली कांग्रेससँग पार्टी एकीकरण गर्न पार्टीभित्र छलफल थालेका छन् । फोरम लोकतान्त्रिकका अधिकांश केन्द्रीय नेताहरूले चुनावअघि नै कांग्रेससँग एकीकरण गर्न अध्यक्ष गच्छदारलाई सल्लाह दिएका छन् । केही नेताले भने चुनावमा तालमेल मात्र गर्न सल्लाह दिएको स्रोतको भनाइ छ ।

सोहीअनुसार गच्छदारले कांग्रेससँग पार्टी एकीकरण गर्ने कि चुनावी तालमेल गर्ने भन्ने दुई विकल्पमा मंगलबार र बुधबार पार्टीका नेताहरू आन्तरिक छलफल गरेका हुन् । यसैगरी उनले कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि वार्ता गरेका छन् । यसबारे गच्छदारले बुधबार देउवासँग टेलिफोनमा कुरा गरेका थिए भने मंगलबार प्रधानमन्त्री निवासमै गएर देउवासँग छलफल गरेका थिए ।

फोरम लोकतान्त्रिकका प्रमुख सचेतक योगेन्द्र चौधरीले चुनावअघि कांग्रेससँग एकीकरण गर्न आफूले अध्यक्षलाई सल्लाह दिएको बताए । ‘अध्यक्षज्यूले कांग्रेससँग पार्टी एकीकरण गर्ने कि चुनावी गठबन्धन गर्ने भन्नेबारे हामीसँग सल्लाह माग्नुभएको थियो,’ चौधरीले भने, ‘मैले चुनावअघि नै पार्टी एकीकरण गर्न गरौं, त्यो सम्भव नभए एउटै चिह्नमा चुनाव लडौं भनी सुझाव दिएँ ।’
पार्टी एकीकरण वा तालमेल के गर्ने भन्नेबारे पार्टीले शुक्रबारसम्म एउटा निर्णय गर्ने उनले बताए ।
चौधरीका अनुसार  गच्छदारले देउवासँग पार्टी उपसभापति मागेका छन् ।  यसमा देउवा तयार रहेको कांग्रेस स्रोतको भनाइ छ । फोरम लोकतान्त्रिकभित्रकै केही नेता भने चुनावअघि कांग्रेससँग एकीकरण गर्ने भए आफूहरू गच्छदारसँगै कांग्रेसमा नजाने पक्षमा छन् । शिवराम थापा, जितेन्द्र देव, यशोदा लामालगायतका नेता एकीकरणकोे विपक्षमा छन् । रामजनम चौधरी, गीता राना, बाबुराम पोखरेल, सुबोध पोखरेललगायतका नेताहरू भने चुनावअघि नै कांग्रेससँग एकीकरण गर्नुपर्ने पक्षमा छन् । चुनावअघि पार्टी एकीकरण गरेमा पार्टीको बार्गेनिङ पावर बढ्ने उनीहरूको तर्क छ ।
कांग्रेस नेताहरूमा भने चुनावअघि फोरम लोकतान्त्रिकसँग एकीकरण गरेमा कार्यकर्तामा  उत्साह आउने बुझाइ छ । स्रोतका अनुसार गच्छदारलाई पार्टीमा ल्याउन सभापति देउवा र नेता रामचन्द्र पौडेल सक्रिय छन् । गच्छदारले देउवा र पौडेलसँग मात्र कुराकानी गरेका छन् । देउवाले चुनावअघि नै पार्टी एकीकरण गर्न गच्छदारलाई प्रस्ताव राखेका छन् ।
‘कांग्रेसबाटै राजनीति सुरु गरेका गच्छदारलाई कांग्रेसमा फर्कन त्यति गाहो छैन । तर पार्टीभित्रका नेताहरूलाई कसरी व्यवस्थापन गर्ने भन्नेबारे अहिले गृहकार्य भएको छ,’ फोरम लोकतान्त्रिकका एक नेताले भने । फोरम लोकतान्त्रिकका केही नेताहरू वामपन्थी पृष्ठभूमिका छन् । ती नेताहरूलाई कांग्रेसमा जान कठिन भएको स्रोतको भनाइ छ ।
फोरम लोकतान्त्रिकका उपाध्यक्ष रामजनम चौधरीले चुनावअघि नेपाली कांग्रेससँग  एकीकरण या चुनावी तालमेलमध्ये कुनै एक हुने बताए । ‘छलफल भइरहेको छ । दुई विकल्पमध्ये एक विकल्पमा जान्छांै,’ उनले भने ।

प्रकाशित: २६ आश्विन २०७४ ०३:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App