१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

मेडिकल शोध प्रबन्ध ‘कपी पेस्ट’

विष्णु अर्याल
काठमाडौं- ६ जना डाक्टरको एउटा समूहले प्रतिलिपि अधिकारको उल्लंघन गर्दै डाक्टरको अर्का समूहले तयार पारेको शोध प्रबन्ध हुबहु चोरी गरेर प्रकाशित गरेको पाइएको छ ।

प्रतिलिपि चोरी गर्दै आफ्नो नाममा शोध रिपोर्ट प्रकाशित गरेमध्येका एक डा. श्रीवास्तवले आफूहरुको गल्ती भएको स्वीकार गरेका छन् ।

डा. भोला रिजाल, डा. आर. श्रेष्ठ र डा. भरत झाले तयार पारेको ‘एसोसिएसन अफ थाइराइड डाइसफंसन अमंग इन्फर्टाइल ओमन भिजिटिङ इन्फर्टिलिटी सेन्टर अफ ओम हस्पिटल काठमाडौं नेपाल’ नाम गरेको शोधलाई अर्काे ६ जना डाक्टरको समुहले कपी पेस्ट गरेर प्रकाशित गरेको छ ।  उक्त शोधलाई डा. मुकेशकुमार श्रीवास्तव, डा. सी. थानपरी, डा. आरके गोइत, डा. एनके यादव, डा. आरके मित्तल र डा. भी. रोहिलले हुबहु कपी गरी ‘एसोसिएसन अफ थाइराइड डाइसफंसन अमंग इन्फर्टाइल ओमन भिजिटिङ नेपालगन्ज मेडिकल कलेज हस्पिटल, कोहलपुर, नेपाल’ राखेर प्रकाशित गरेका थिए ।  
६ जना शोधकर्तामध्ये श्रीवास्तव, थानपरी, गोइत र मित्तल काठमाडौं विश्वविद्यालय र नेपालगन्ज मेडिकल कलेजसँग आबद्ध छन् भने यादव काठमाडौं विश्वविद्यालय र मणिपाल कलेज मेडिकल साइन्स पोखरा तथा डा. रोहिल बल्लभभाइ पटेल चेस्ट इन्स्टिच्युट दिल्लीको क्लिनिकल बायोकेमेस्ट्री डिपार्टमेन्टको असिस्टेन्स प्रोफेसरका रुपमा कार्यरत थिए ।  डा. रिजालको संयोजकत्वमा नेपाल मेडिकल जर्नलमा सन् २०११ मा प्रकाशित उक्त शोध कपी पेस्ट गरी ६ जना डाक्टरको समूहले सन् २०१३ मा इन्डोनेसियाबाट प्रकाशित बाली मेडिकल जर्नलमा प्रकाशित गरेका थिए । दोस्रो जर्नलमा पहिलो जर्नलका सबैकुरा हुबहु सारिएको छ ।
नागरिकलाई प्राप्त शोधपत्रमा प्रत्येक लाइनदेखि तथ्यांक र भाषाशैलीसमेत हुबहु पाइएको छ । यस विषयमा डा. रिजालसँज सोध्दा उनले निराशा व्यक्त गरे । ‘म शोधपत्रबारे अन्जान छु,’ उनले भने, ‘हामीले हाम्रो शोधपत्र प्रकाशनको अनुमति दिएका थियौं, त्यसबाहेक धेरै कुरा थाहा छैन ।’ उनले यसबारेमा आफ्नो टोलीका सदस्य डा. झालाई बढी जानकारी हुने बताए । आफ्नो शोधपत्र कपी पेस्ट गरेर अर्कैले प्रकाशित गरेको सुनेर डा. झा आश्चर्यमा परे । ‘यो प्रतिलिपि अधिकारको उल्लंघन हो’, उनले भने, ‘दुई फरक शोधमा एउटै डाटा कसरी हुन सक्छ ?’
प्रतिलिपि अधिकार ऐन २००६ को धारा २६ (१) मा अर्काको सामग्री अनुमति नलिई प्रकाशित गरेमा १० हजारदेखि एक लाखसम्म जरिवाना वा ६ महिनासम्म कैद वा दुवै हुने व्यवस्था छ ।  
प्रतिलिपि चोरी गर्दै आफ्नो नाममा शोध रिपोर्ट प्रकाशित गरेमध्येका एक डा. श्रीवास्तवले आफूहरुको गल्ती भएको स्वीकार गरेका छन् । ‘हामीले जानीजानी गल्ती गरेका होइनौं । यो रिसर्च नेपाल जर्नलमा पहिले नै प्रकाशित भएको विषयमा हामीलाई जानकारी थिएन, यसप्रति हामी क्षमा माग्न चाहन्छौं,’ उनले भने । उनले आजै बालीको जर्नलका सम्पादकलाई इमलेमार्फत उक्त शोधपत्र फिर्ता गर्न अनुरोध गरिसकेको दाबी गरे ।
नेपाल मेडिकल काउन्सिलका रजिस्ट्रार डा. दिलीप शर्माले यस्तो विषयमा शोध गर्दा नेपाल हेल्थ रिसर्च परिषद् (एनएचआरसी) बाट अनुमति लिनुपर्ने भन्दै यस विषयमा एनएचआरसी थप चिन्तित बनेको बताए । एनएचआरसीका अध्यक्ष डा. अञ्जनीकुमार झाले यो विषय प्रतिलिपि चोरीअन्तर्गत सम्बन्धित जर्नलमा रिपोर्ट गर्ने बताए । ‘एउटा मुलुकभित्र र अर्काे मुलुकबाहिर प्रकाशित भएकाले हामीले कारबाही गर्न सक्दैनौं तर बाली जर्नलमा उजुरी गर्छौं,’ उनले भने, ‘सम्बन्धित जर्नलका सम्पादकले अवैध ढंगले शोधपत्र प्रकाशित गरेको भन्दै कारबाही गर्न सक्छन् ।’ उनले यस्ता विषयमा अध्ययन गर्दा काउन्सिलबाट अनुमति लिनुपर्ने बताए । उनीहरुले अनुमति लिएनलिएको बारे अहिले नै आफूले बोल्न नसक्ने भन्दै उनले यस विषयमा पछि बताउने जानकारी दिए । 

प्रकाशित: २६ आश्विन २०७४ ०३:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App