coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

१३ औं सागको तयारी सुरु

काठमाडौं–जिम्मेवारी लिएको ६ महिनापछि नेपालले १३ औं दक्षिण एसियाली खेलकुद (साग) आयोजनाको तयारी औपचारिक रूपमा सुरु गरेको छ । नीतिगत तयारी सुरु भए पनि भौतिक पूर्वाधार मर्मत र निर्माणका लागि भने अझै केही समय लाग्ने देखिन्छ । गतवर्ष फागुनमा भारतमा १२ औं सागको समापनका क्रममा सन् २०१८ मा आयोजना गर्ने गरी नेपालले जिम्मा पाएको थियो ।

युवा तथा खेलकुदमन्त्री सत्यनारायण मण्डलको अध्यक्षतामा रहेको साग तयारी तथा व्यवस्थापन समितिको शनिबार बसेको पहिलो बैठकले राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्यसचिव केशवकुमार विष्टको संयोजकत्वमा कार्य सम्पादन तथा सहजीकरण उपसमिति गठन गरेको छ।


बैठकले सागका लागि सातदोबाटोमा सचिवालय स्थापना गर्ने निर्णयसमेत गरेको राखेपका प्रेस सल्लाहकार रोहित दाहालले जानकारी दिए । त्यस्तै नेपाल गल्फ संघका महासचिव टासी घलेको संयोजकत्वमा पूर्वाधार तयारी उपसमिति गठन गरेको छ ।

साग तयारीको औपचारिक सुरुआत भएकोमा नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठले खुसी व्यक्त गरे । ‘आजबाट १३ औं सागको तयारी औपचारिक रूपमा सुरु भएको छ,’ एनओसीमा आयोजित कार्यक्रममा उनले भने, ‘साग आयोजना नेपाली खेलकुदको विकासका लागि ऐतिहासिक अवसर हो ।’

नेपालले सन् १९९९ मा आठौं साफ खेलकुद आयोजना गरेको थियो । मन्त्री मण्डलको अध्यक्षतामा सातदोबाटोमा बसेको बैठकमा राखेपका उपाध्यक्ष लामा टेन्डी शेर्पा, एनओसी अध्यक्ष श्रेष्ठ, विभिन्न मन्त्रालयका सचिव, स्काउटका प्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधि लगायतको उपस्थिति थियो ।
चुनौती र अवसर दुवै ः घले
आठौं साफ हुँदा दशरथ रंगशाला मर्मतको संयोजक रहिसकेका टासी घलेले यसपटक समग्रमा भौतिक पूर्वाधार निर्माण र नयाँ निर्माण उपसमितिको जिम्मेवारी पाएका छन् । उनले यसलाई विगतको अनुभवका आधारमा दिएको जिम्मेवारीका रूपमा लिएको बताएका छन् ।

‘आठौं साफमा राम्रो काम गरेकाले गोरखा दक्षिणबाहुबाट सम्मानित भएको थिएँ । अहिले पनि त्यसको चर्चा हुने गर्छ,’ उनले भने, ‘अहिले फेरि जिम्मा दिइएको छ । यो मेरा लागि खेलकुदमा एउटा चुनौतीसँगै अवसर पनि हो । म आफ्नो तर्फबाट शतप्रतिशत दिनेछु ।’
उपसमितिलाई नयाँ पूर्वाधार र मर्मत गर्नुपर्ने पूर्वाधारको अध्ययन गरी १५ दिनभित्र प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिएको छ । ‘अहिले पनि नेपाली खेलकुदको मुख्य आयोजनास्थल भनेको दशरथ रंगशाला नै हो ।

हामीले त्यसको पुनःनिर्माणमा विशेष जोड दिनुपर्छ,’ घलेले भने, ‘अन्तर्राष्ट्रिय रंगशाला नभएकाले राजधानी बाहिर सागका खेल गराउन कठिनाई हुनसक्छ । तर हामीले डोमेस्टिक उड्ने ठाउँ विराटनगर, पोखरा, भैरहवामा रहेका भौतिक पूर्वाधार र नयाँ निर्माणको सम्भावनाबारेमा अध्ययन गर्नेछौं । सोमबारबाट दिइएको जिम्मेवारीअनुसार काम सुरु गर्नु छ ।’ उनको मुख्य जोड दशरथ रंगशालाको स्तरोन्नतिमै छ । ‘हाम्रो खेलकुदको विकास नाप्ने भनेकै रंगशाला हो,’ अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व उपाध्यक्ष रहेका घलेले थपे, ‘यसलाई हामीले सुविधाका हिसाबले अन्तर्राष्ट्रियस्तरको बनाउन आवश्यक छ ।’

 

प्रकाशित: १६ श्रावण २०७३ ०५:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App