८ वैशाख २०८१ शनिबार
अर्थ

महिला उद्यमी महासंघमा नयाँ नेतृत्वको शपथग्रहण

काठमाडौं- बुधबार महिला उद्यमी महासंघ, नेपालको नयाँ कार्यसमितिले शपथग्रहण गरेको छ । महासंघको १४औं वार्षिक साधारण सभाबाट शारदा रिजालको नेतृत्वमा चयन भएको नयाँ कार्यसमितिले शपथग्रहण गरेको हो ।
झन्डै दस महिनाअघि महासंघकी अध्यक्ष भवानी राणा नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष भएपछि नयाँ नेतृत्व चयन भएको हो । मंगलबार र बुधबार राजधानीमा भएको १४ औं साधारणसभाले रिजालको नेतृत्वमा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । द्वितीय उपाध्यक्ष बाहेक अन्य सबै पदाधिकारी निर्विरोध चयन भएका थिए ।
नयाँ पदाधिकारीहरू प्रथम उपाध्यक्षमा रिता सिंह, द्वितीय उपाध्यक्षमा निरु रायमाझी, तृतीय उपाध्यक्षमा शोभा ज्ञवाली, महासचिवमा दर्शना श्रेष्ठ, सचिवमा सुनिता वैद्य श्रेष्ठ र कोषाध्यक्षमा हजुरी विष्ट छन् । महासंघको नयाँ कार्यसमिति सदस्यमध्ये थप दुईजनाबाहेक अरु सबै पुरानै सदस्यले निरन्तरता पाएका छन् ।
कार्यसमिति सदस्यहरूमा महालक्ष्मी श्रेष्ठ, सुनिता पलाञ्चोके, बसन्ती प्रधान, मनिषा घिमिरे, आनन्दशोभा ताम्राकार, कुन्नम पोखरेल, तारा तितुङ, लक्ष्मी खनाल, सरस्वती भण्डारी, सरस्वती पराजुली, शिला नेपाली, रम्भा श्रेष्ठ र मलिका श्रेष्ठ रहेको महासंघले जनाएको छ ।
शपथग्रहण कार्यक्रममा बोल्दै वाणिज्यमन्त्री मीनबहादुर विश्वकर्माले मुलुकमा ७० वर्षदेखि व्यवस्था परिवर्तनको मात्र आन्दोलन भएकाले आर्थिक समृद्धि हुन नसकेको बताउँदै यसमा महिला अझ पछि परेको बताए । ‘हामीले व्यवस्था सँगसँगै व्यवहार पनि परिवर्तन गर्न आवश्यक छ,’ मन्त्री विश्वकर्माले भने, ‘अब आर्थिक समृद्धितर्फ लाग्न जरुरी छ ।’ उनले महिलालाई उद्यमशील नबनाउँदासम्म मुलुकको आर्थिक उन्नति असम्भव रहेको बताए ।
मन्त्री विश्वकर्माले नेपालको आर्थिक स्थिति कमजोर हुनुमा मुलुकमा रहेको स्रोत–साधनको उपयोग र पुँजीको सदुपयोग नहुनु रहेको बताए । सरकार व्यवसायीको पक्षमा नहुँदासम्म व्यवसायीले हात फिँजाएर काम गर्न नसक्ने भएको भन्दै आफू सधैं व्यवसायीको पक्षमा रहेको उनले बताए ।
कार्यक्रममा बोल्दै निवर्तमान अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष राणाले मुलुकको आर्थिक विकास गर्न समावेशी अर्थतन्त्रलाई बढावा दिनुपर्ने बताइन् । यसको लागि महिला उद्यमशीलता विकास गर्न सरकारले सहयोग गर्नुपर्नेमा उनले जोड दिइन् । ‘जबसम्म महिला उद्यमशीलता अगाडि बढ्दैन तबसम्म महिलाको आत्मविश्वास बढ्न सक्दैन ।’
राणाले महिला उद्यमी महासंघको शाखा २९ जिल्लामा पुगिसकेको र छिट्टै १० जिल्लामा विस्तार गर्न लागिएको जानकारी गराइन् । उनले महासंघलाई ७५ जिल्लामै पु¥याउने लक्ष्य रहेको भन्दै यसले महिलाको उद्यमशीलता मात्र नभएर मुलुकभरका महिलामा एकअर्काबीचको चिनजान र आत्मीयता समेत बढ्ने बताइन् ।
नवनिर्वाचित अध्यक्ष रिजालले हरेक घरघरमा महिला उद्यमशीलता हुनुपर्ने र यसो भएमात्र मुलुकको आर्थिम समृद्धि सम्भव रहेको बताइन् । उनले सरकारले महिला उद्यमशीलता विकासमा विशेष जोड दिएर लगानी गर्नुपर्ने बताइन् ।
कार्यक्रममा उत्कृष्ट काम गर्ने जिल्ला शाखाहरूलाई सम्मान तथा पुरस्कार दिइयो । यस वर्षको उत्कृष्ट जिल्ला शाखामा काभ्रे, दोस्रो कास्की, तेस्रो पर्वत र सान्त्वना पुरस्कार प्युठानले पाएको छ । त्यसैगरी, महासंघ र मुलुककै महिला उद्यमशीलता विकासमा उल्लेख्य योगदान पुर्याएको भन्दै शान्ति चड्डालाई ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’बाट सम्मान गरिएको छ ।
वार्षिक साधारण सभा तथा यसै अन्तर्गत आयोजित कार्यशालामा १७ जिल्लाका लगभग सयजना महिला व्यवसायीको सहभागिता थियो । कार्यशाला गोष्ठीमा महिला उद्यमीसम्बन्धी समस्या र समाधानका विषयमा छलफल भएको थियो । त्यसैगरी, महिला उद्यमी व्यवसायीका विषयलाई कसरी नीतिगत रुपमा लान सकिन्छ भन्ने विषयमा पनि छलफल भएको थियो ।
 

प्रकाशित: २६ आश्विन २०७४ ०२:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App