७ वैशाख २०८१ शुक्रबार
राजनीति

निर्वाचनका बारेमा अब आशंका नगरौं – प्रमुख आयुक्त यादव

धुलिखेल-  प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले निर्वाचनको सम्पूर्ण वातावरण बनिसकेकाले उच्चस्तरको सहमति कायम गरेर अघि बढ्न सरकार र राजनीतिक दलसँग आग्रह गरेका छन्।

आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा खटिने मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृत सम्मिलित निर्वाचन सञ्चालन र व्यवस्थापन तालीम समापन समारोहमा उनले निर्वाचन हुनुपर्छ भन्ने सन्दर्भमा कतैबाट पनि विचलनको अवस्था नदेखिएकाले निर्वाचनका बारेमा आशंका नगर्न सबैसँग अनुरोध गरे।

स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचनका लागि आचारसंहिताको पूर्ण पालना गर्न/गराउन राजनीतिक दल र सरकारलाई सुझाव दिँदै प्रमुख निर्वाचन आयुक्त डा यादवले आचारसंहिता उल्लंघन गर्ने जो कोहीलाई पनि निर्वाचन आयोगले कारबाहीको दायरामा ल्याउने दृढता व्यक्त गरे।

निर्वाचनमा खटिने मुख्य निर्वाचन अधिकृत र प्रहरी प्रशासनलाई सहयोग र समन्वय गरेर काम गर्न सुझाव दिँदै उहाँले निर्वाचनका विषयमा भरसक आयोगबाट आदेश दिन नपर्नेगरी जिम्मेवारी बहन गर्न निर्देशन दिए।

आयुक्त सुधीरकुमार शाहले विगतका निर्वाचनको जस्तो कमीकमजोरी र त्रुटि दोहोरिन नदिन समन्वय र सहयोगी भावनाले मिलेर काम गर्न निर्देशन दिए।

मुख्य निर्वाचन अधिकृतकोतर्फबाट जिल्ला न्यायाधीश हेमन्त रावलले नेपालको संविधान र संघीयता कार्यान्वयन गर्ने सन्दर्भमा हुन लागेको निर्वाचनमा कसैसँग सम्झौता, दबाब र प्रभावमा नपरी इमान्दारीपूर्वक जिम्मेवारी बहन गर्ने प्रतिबद्धता व्यक्त गरे।

निर्वाचन अधिकृत हरिशंकर ज्ञावलीले निर्वाचनको महायज्ञको जिम्मेवारीलाई हरतरहले सफल तुल्याउन कुनै कसर बाँकी नराख्ने दृढता व्यक्त गरे।

प्रशिक्षणमा उनीहरुलाई निर्वाचनमा आउनसक्ने समस्या र समाधानको उपायका बारेमा प्रशिक्षण दिइएको थियो। प्रशिक्षणमा निर्वाचनमा खटिने ७७ जिल्लाका जिल्ला न्यायाधीश, जगेडामा राखिएका नौ जना न्यायाधीश र न्याय सेवाका उपसचिवको सहभागिता थियो। रासस

 

प्रकाशित: २५ आश्विन २०७४ १४:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App