४ वैशाख २०८१ मंगलबार
अन्य

क्षमताअनुसार चाड मनाउनुपर्छ

नेपालको प्रख्यात पाँचतारे होटल अन्नपूर्ण हाँकिरहेकी सृजनाले होटल बिजनेसमै अध्ययन गरेकी छन् । भन्छिन्, ‘म सानैदेखि बोल्नुपर्ने, धेरै जनासँग कुराकानी गर्नुपर्ने स्वभावकी भएकाले होटल व्यवसाय मेरो रोजाइ बन्यो ।’ अन्नपूर्ण होटलको कार्यकारी निर्देशक तथा होटल एसोसिएसन नेपालको वरिष्ठ उपाध्यक्ष राणाले होटल व्यवसाय, महिला उद्यमी, चाडबाड तथा फेसन लगायतका विषयमा विश्वमणि पोखरेलसँग हाकाहाकी बोलिन् ।

सृजना राणालाई लाग्छ, ‘म लोग्ने मानिसको भन्दा केमा कम ?’
यसका पछाडि कारणहरू छन् । उनी भन्छिन्, ‘म डेढ वर्षको हुँदा बुबा स्वर्गे हुनुभएकाले म आमासँगै हुर्किएँ, बढेँ । मेरो व्यक्तित्व बन्नुमा आमाको भूमिका र संलग्नता ज्यादा छ । त्यसबेला भाइ सानै थियो । हुनसक्छ, मेरो ‘एटिट्युड’ पनि त्यसरी नै बनेको हो ।’
तपाईंले अन्नपूर्णको समग्र म्यानेजमेन्ट हेर्नुहुन्छ हो ?
म यहाँको एक्जुकेटिभ डाइरेक्टर हो । एक्जुकेटिभ डाइरेक्टर भनेपछि मुख्य काम तीनवटा काम छन् । एउटा अन्नपूर्ण, अर्को फिस्टेल लज पोखरा र अर्को चितवनमा नयाँ खोलेको जगतपुर लज । तीन वटा जिम्मेवारी रहे पनि म तीनवटैमा पुग्न सक्तिनँ । मैलै तीनवटै अफिसमा प्रमुख राखेकी छु । तीन वटै ठाउँमा मेरो कर्पोरेट अफिस छ । तीन वटा प्रमुखसँग मेरो समन्वय हुन्छ । मेरो श्रीमान् कपिल सम्सेर जबरा अध्यक्ष हुनुहुन्छ र एक्जुकेटिभ डाइरेक्टर भनेपछि मैले तीनवटै कम्पनीको दिनदिनैको रिपोर्ट तयार गर्छु ।
अन्नपूर्ण र फिस्टेल त निकै पुराना हुन्, जगतपुर नयाँ भेन्चर हो ? कस्तो छ यो ?
यी दुवै पचासौँ वर्ष पुराना हुन् । जगतपुर नयाँ हो । जगतपुर रिसोर्ट हो । यसको लोकेसन एकदमै राम्रो छ । कुनै नयाँ स्थानमा नयाँ कुरा गरेजस्तै हो जगतपुर लज । चितवनलाई जङ्गल, रिसोर्टमै विकसित गर्नपर्छजस्तो लाग्छ मलाई त । त्यसैले हामीले त्यहाँ नयाँ ठाउँमा नयाँ  भेन्चर गर्न लागेको हो । त्यहाँ अफ्रिकी मोडलका टेन्टहरू राखिएका छन् । हामीकहाँ टेन्टमा पो सुत्ने भनिन्छ तर त्यस्तो होइन । यी टेन्टभित्र पसेपछि होटलको स्विटजस्तै अनुभव हुन्छ । त्यहाँ एसी, सावर सबै थोक हुन्छ । रिसोर्टमा ७ वटा यस्ता टेन्ट छन् र अरु २० वटा रूम छन् । टेन्ट भनेका नेपालका लागि नमूना नै हुन् ।
होटल व्यवसाय प्रतिस्पर्धी छ भनिन्छ, नयाँ भेन्चर ल्याउनु भएको छ, कस्तो विश्लेषण गर्नुभएको छ ?
प्रतिस्पर्धा छ नि ! सरकारको कुनै लगामै छैन, जति पनि लाइसेन्स दिन्छ । जति मन लाग्यो, त्यति नै लाइसेन्स दिइन्छ । नेपालका कति टुरिस्ट आउँछन्, यो व्यवसायको अवस्था कस्तो छ ? केही हेरिँदैन ।

लाइसेन्स दिने काम मात्र गर्छ सरकारले । सरकारले अनुगमन गरेर लाइसेन्सको व्यवस्था गरे हामीलाई अलिक सहज हुन्थ्यो ।


सरकारले लाइसेन्समै कन्ट्रोल गर्न थाल्यो भने त फेरि यो क्षेत्रमा सिन्डिकेटेड अवस्था सुरू हुँदैन र ?
सरकारले जति पनि लाइसेन्स दिन मिल्छ भन्ने एउटा पक्ष हो । योसँगै पर्यटन क्षेत्रमा सरकारले कति गरेको छ, हामी उद्यमीले कति गरेका छौँ, त्यसको लेखाजोखा हुनुप¥यो । हामीले कति राजस्व दिएका छौँ, अर्थतन्त्रमा कति ठूलो योगदान गरेका छौँ ? त्यो पनि हेर्नुप¥यो । सरकारले सडक, यातायात, बिजुली, पानीजस्ता पूर्वाधारमा ध्यान दिनुप¥यो कि परेन ? चितवनमा एउटै मात्र एयरपोर्ट छ, त्यो पनि सानो भइसक्यो । केही महिना अघिसम्म बिजुली थिएन । डिजेलबाट जेनरेटर चलाउँदा धेरै खर्च थियो । एउटा बिजुली मात्र प्राप्त भएको अवस्थामा ठूलो खर्च कटौती भएको अनुभव गर्दैछौँ । बाटोको कुरै नगरौँ । मुगलिङ–नारायणगढ रोडको अवस्था हेरौँ त कस्तो छ ! कति वर्ष भयो त्यो भत्काएको ? भूकम्प आयो, एयरपोर्टहरू धन्नले भत्किएनन् । भूकम्पको बेला एयरपोर्टहरू भत्किएका भए हाम्रो हालत के हुन्थ्यो ? हामीसँग खै विकल्प ? मुगलिङ–नारायणगढ रोड भताभुंग छ, त्यसको विकल्प खै ? काठमाडौँ, पोखरा र चितवनलाई पर्यटनको  त्रिकोण भनिन्छ । यी तीन बीचको सोझो सम्पर्कको अवस्था छ त ? छैन । बाटोमा सरकारको जोड छैन । मानिसहरू जनावर हुन् ? जति मरे पनि हुने ? दिनदिनै पहिरो आएर यति मरे, उति मरे भन्ने समाचारमा आउँछन् । कुनै पनि विदेशी जान मान्दैनन् रोडबाट । प्लेनहरू पर्याप्त थिएनन् । हामीले पहल गरेपछि काठमाडौँ–चितवन प्लाइट अलिक थप भएको छ र पोखरा–चितवन प्लाइट पनि सुरु भएको छ । यसले गर्दा काठमाडौँ, पोखरा, चितवनमा पर्यटकलाई पु¥याउन केही सहज भएको छ । हामीसँग अर्को विकल्प छैन ।
सडक बिग्रिएको कारण यस्तो विकल्प खोजिएको हो ?
हो, सडक नभएकोले नै यस्तो विकल्पबारे सोचिएको हो । सडक भएको भए टुरिस्ट त्यसैबाट जान्थे । हामी नेपालीलाई त मनपर्छ हरियाली, डाँडाकाँडा हेर्दै यात्रा गर्नलाई । हामीलाई जे कुरा भगवानले दिएका छन्, प्रकृतिले दिएको छ त्यसको उपभोग त गर्न सकेको छैन । अरु के कुरा !  
कत्तिको चुनौतीपूर्ण छ ? होटल व्यवसाय ?
मलाई के लाग्छ भने, हामीले यो उमेरसम्म नेपाल भनेर त्याग गर्यौँ, यहीँ लगानी ग¥यौँ । हामी यो सबै छोडेर कतै जान सक्छौं त ? सक्तैनौँ । तर प्रश्न गरौँ, नेपालका युवाहरू आफ्नो मुलुकमा किन बसिरहेका छैनन् ? हामीले के गर्ने भन्ने उनीहरूले देखेकै छैनन् । हाम्रो सोचाइ नयाँ पुस्ता पनि यहीँ रमाएर काम गर्न सकोस् भन्ने हो, त्यस्तो वातावरण बनोस् भन्ने हो । चुनौतीको कुरा गर्र्दा, जस्तो आम्दानी हामीलाई हुनुपर्ने हो त्यस्तो छैन । सबै पक्षको सहयोग भएको भए हामी हाम्रो आम्दानी दोब्बर, तेब्बर पार्न सक्दथ्यौँ । अहिले त हाम्रो लगानीको अनुपातका फाइदा निकै कम छन् । नेपालीहरूको बानी छ, हामी महङ्खवाकांक्षी छैनौँ । महङ्खवाकांक्षा भएको भए अहिलेको अवस्थाले कसैलाई सन्तुष्टि हुँदैनथ्यो । तर हामी नेपालीको ठीकै छ नि, भएकै छ, चलेकै छ भन्ने बानी छ । यस्तो बानीले गर्दा हामीले आउन सक्ने पनि लिन सकेका छैनौँ । मानिसहरू सोच्दा हुन् होटल बिजनेसमा त मालामाल भनेर तर मलाई लाग्छ, यहाँजस्तो चुनौती सायद अन्त छैन । हाम्रो आफ्नै खाले चुनौती छन् । एउटा हाम्रो पुरानो होटल, सबैभन्दा पुरानो होटल हो यो । त्यसले गर्दा हामीसँग आवश्यकताभन्दा धेरै कर्मचारी छन् । हामीसँग भएका कर्मचारीमा पाका धेरै छन् । त्यसले गर्दा प्रतिव्यक्ति उत्पादकत्व कम हुन्छ, युवाहरूको जस्तो उत्पादकत्व पाकाहरूको हुँदैन । कर्मचारीमा जति हुनुपर्ने त्योभन्दा धेरै जान्छ हाम्रो । फेरि हाम्रो आफ्नै विशेषता पनि छ । हामी पुरानो भएकोले आफ्नै खालको रिपुटेसन पनि छ, बजार पनि छ ।
तपाईं आफैँ होटल एसोसिएसन अफ नेपाल (हान)को वरिष्ठ उपाध्यक्ष हुनुहुन्छ । कस्तो छ हानको भूमिका ?
हानमा हामी सबै होटलहरूको सदस्यता छ । हामी व्यवसायी मिलेर कतिपय कुरा गर्नुपर्ने हुन्छ, सरकारसँग लबिङका कुरा हुन्छन् । हान हाम्रो साझा थलो हो । हामी हाम्रा सबै समस्या हानमा लगेर राख्छौँ र त्यहाँ छलफलपछि सामूहिक आवाजको रुपमा अगाडि बढाउँछौँ । हानले सरकारसँग लबिङ गर्ने एउटा कुरा भयो, समस्याहरूमा पनि हामी एउटै आवाज बनाउँछौँ । हामी पर्यटन व्यवसायको स्तर वृद्धि गर्ने तालिम लगायतका क्षेत्रमा पनि काम गर्छाैं ।  
नेपालमा पर्यटक आगमनको अवस्थालाई कसरी हेर्नुहुन्छ ?
म भन्दिनँ, यो नराम्रो छ भनेर । हुनुपर्ने जति छैन, औसत अवस्था हो अहिले । योभन्दा धेरै अगाडि जान सकिन्छ ।
चिनियाँहरू धेरै आइरहेको अवस्था हो ?
हो, भारतीय पर्यटकको संख्या ह्वात्त घटेको छ । नाकाबन्दी, भूकम्पजस्ता कुराले हुनसक्छ भारतीय पर्यटक घट्दै छन् । यो चिन्ताको विषय हो । मलाई थाहा छ, सन् १९९० को नाकाबन्दीको बेलामा पनि भारतीय पर्यटकको राम्रो आगमन थियो । भारतीय घटेका छन्, चिनियाँ बढेका छन् । चिनियाँहरूको तुलनामा कम मात्र होइन, निकै नै कम छ ।
किन होला यस्तो अवस्था ?
अरु धेरै कारणहरू हुन सक्छन् । हामीकहाँ आउने हवाई भाडा पनि महँगो छ । भारतीयहरूको मार्केटिङ थाइल्यान्ड लगायतमा छ । हामी मार्केटिङमा अलिक पछि परेका छौँ । यसबाहेक भारतीय पर्यटकहरूलाई नाकाहरूमा राम्रो व्यवहार गरिँदैन भन्ने पनि सुनिन्छ । आतिथेय व्यवहार अपेक्षा हुन्छ पर्यटकको, जुन नपाएको हुनसक्छ । एकातिर स्थल मार्गमा सहजता छैन, अर्कोतर्फ हवाई भाडा महँगो छ । दिल्लीबाट काठमाडौं आउनभन्दा बैंकक जान सस्तो छ । सुखद् कुरा छ, केही समययता नेपाल एयर लाइन्स उड्न थालेको छ । जुन मुलुकको आफ्नो नेसनल क्यारियर हुन्छ, त्यस्तो अवस्थामा पर्यटनलाई ठूलो भरथेग हुन्छ ।
यहाँको व्यवस्थापन हेर्न थाल्नुभएको कति भयो ?
करिब नौ वर्ष भयो । पहिले होटल व्यवस्थापन अध्ययन गरेँ । वेलकम ग्रुप भन्ने चेन होटलमा अध्ययन गरेँ । नेपाल, भारत लगायतका स्थानमा अध्ययन गरेँ । मेरो विवाह पनि होटल चलाउँदै आएको परिवारमा भयो र श्रीमान्ले पनि सपोर्ट गर्नुभयो, गरिरहनु भएको छ । एक अर्काको साथ र समर्थनमा चलिरहेको छ ।
नेपालको सन्दर्भमा महिला उद्यमी, व्यवसायीको अवस्था कस्तो छ ? तपाईको आँकलन ?
मलाई अहिले पनि कता–कता महिलाहरूका लागि अझै पनि अप्ठ्यारो छ भन्ने अनुभव हुन्छ । हानमा पनि म एक्लो महिला हो । एक्लै हुँदाको अवस्थामा आत्मविश्वास हुनुपर्छ, त्यसले काम गर्छ । कहाँकहाँ कहिलेकाहीँ महिलालाई अलिक पन्छाउन खोजेको हो कि, अलिकति बाइपास गरेको हो कि, कता–कता अन्डरएस्टिमेट गरेको हो कि जस्तो धेरै पटक अनुभव गरेकी छु । यहाँ हानको मात्र कुरा गरेको होइन, समग्र अवस्था बताउन खोजेको हो ।
अब हानको अध्यक्ष हुँदै हुनुहुन्छ हो ? जिम्मेवारी पाएपछि कसरी हाक्नुहुन्छ यसलाई ?
नेतृत्वमा पुगेको अवस्थामा पनि मेरो जीवनको एउटा दर्शन अनुसार नै चल्नेछु । त्यो भनेको जे–जसको नेतृत्व गरे पनि त्यहाँ सबैभन्दा पहिले एउटा सिस्टम हुनुपर्छ । सिस्टम नभएको ठाउँमा चलाउछु मात्र भनेर हुँदैन । सिस्टम भन्नेबित्तिकै अध्यक्ष, उपाध्यक्ष, महासचिव, सम्पूर्ण कार्यसमिति हुन्छ । सबैलाई इज्जत दिएर काम गर्नुपर्छ, म अध्यक्ष भएँ, म हाँक्छु भनेर मात्र हुँदैन, त्यसरी हाँकिदैन । सिस्टम भयो भने त्यहाँ सबैको जिम्मेवारी तोकिएको हुन्छ । नेतृत्वमा बस्नेले त सबैलाई जिम्मेवार बनाउने हो । सबै सूचनाहरू,  रिपोर्टहरू  तोकिएका पदहरू पुग्नुपर्छ, वितरण हुनुपर्छ । उपाध्यक्ष, अध्यक्ष भए भन्दैमा जे पनि गर्न पाइने हो र ? होइन नि । योजना बनाएर काम गर्नुपर्छ । हानको जिम्मेवारी मेरालागि एउटा चुनौती पनि हो ।
नेतृत्वमा आएपछि संस्थालाई नयाँ किसिमले लग्ने सोचमा हुनुहुन्छ ?
केही परिवर्तन आवश्यक छ । मेरो काम भनेको समेट्नु हो । मेरो फेलोसिप भनेको समेट्ने हो । नेतृत्वले जब सबैलाई समेटेर अगाडि बढ्छ भने राम्रो परिणाम आउँछ । नेपालमा अलिकति ‘वन म्यान सो’को प्रथा देख्दैछु । जस्तो मेरो अन्नपूर्णको भूमिका भनेको यो मेरो निजी कम्पनी हो । यहाँ पनि सिस्टम छ । संस्थाका सिइओ छन्, उनीअन्तर्गत अरु विभिन्न निकायहरू छन् । सबैलाई एउटा सिस्टममा बाँधेर अगाडि बढ्नुपर्छ भन्ने मान्यता मेरो हो । अब हानको भूमिका भनेको यहाँको भन्दा फरक हो । हान भनेको त्यस्तो अर्गनाइजेसन हो जसले यसमा आबद्ध सबैको हितमा काम गर्छ । त्यसले सरकारसँग लबिङ गर्छ । यस्ता संस्थाहरू पनि अब व्यावसायिक हिसाबले अगाडि जान सक्नुपर्छ । सिस्टममा चल्नुपर्दछ, त्यस्तो सिस्टमको मूल्याङ्कन हरेक वर्ष हुनुपर्छ । उत्पादकत्व कस्तो छ, त्यो हेर्नुप¥र्यो । योजनाअनुसार भएन भने त्यसमा केही परिवर्तन पनि गर्नुपर्यो ।
हानमा राजनीतिक कलर लागेको छ कि छैन ?
छैन, यो प्राइभेट संस्था हो ।
नेपालमा महिलाहरू उद्यम, धन्दामा आउने वातावरण कत्तिको बनेको जस्तो लाग्छ तपाईंलाई ?
म फेडरेसन अफ ओमन इन्टप्रेनरसिपको संस्थापक सदस्य हो । म मेरो निजी व्यवसायबाहेक महिला सशक्तीकरणमा २५ वर्षदेखि लाग्दैआएकी छु । जहिलेदेखि म यस क्षेत्रमा आएँ, मूल्याङकन गर्दा सरकारले महिलाहरूलाई महङ्खव दिएको छ । महिलाहरूले महङ्खव पाएका छन्, अधिकार दिने कानुन पनि बनेका छन्, बनिरहेको अवस्था छ । ३३ प्रतिशत महिला रहेको हाम्रो संसद् भनेर अरु देशमा कुरा गर्दा मलाई गर्व लाग्छ । अझै पनि महिलाका बारेमा गर्न धेरै बाँकी छ । २६ वर्षअघि र अहिलेको अवस्थामा तुलना गर्दा यो धेरै हो । यस आधारमा उनीहरूको उत्पादकत्व बढी छ । उनीहरू समय व्यवस्थापन गर्न बढी सिपालु छन् । महिलाहरूलाई जिम्मा दिएको कुरा उनीहरूले धेरै राम्रोसँग गर्छन् जस्तो मलाई लाग्छ ।

बैंकको ऋणको दरबारे के भन्नुहुन्छ ?
उच्च छ । अन्य मुलुकभन्दा हामीकहाँ ब्याजदर उच्च छ । सरकारले प्राथमिकता क्षेत्र भन्छ तर गर्नुपर्ने गर्दैन । पर्यटन, हाइड्रो, कृिषलाई प्राथमिकता क्षेत्र भनिए पनि त्यस अनुसार काम हुँदैन, भएको देखिदैन ।
अहिले फेस्टिभ मौसम छ, कसरी लिनुुहुन्छ चाडपर्वलाई ?
बच्चामा हुने उत्साह र अहिलोम फरक भैहाल्छ । दसैँतिहार भनेको परिवारिक भेटघाट गर्ने अवसर हो । पहिला अभिभावकहरू फूर्सदमा हुन्थे, अहिले त्यस्तो छैन । सबै व्यस्त छन् । यस्तो अवस्थामा कहिलेकाहीँ परिवार भन्ने कुरा नै बिर्सिइन्छ । दसैँतिहार भनेपछि भेटघाट हुन्छ । कोही पाको आफन्त हुनुहुन्छ भने यसपालि उहाँकोमा टीका थाप्न जाऔँ भन्ने हुन्छ । चाडपर्वले परिवारमा एक किसिमको अनुभूति ल्याउँछ, भेटघाटको मूड बनाउँछ । सबै काम छोडेर यो बेला रमाइलै गर्ने मुड हुन्छ । तिहारमा दिदीभाइ, दाजुबहिनीबीच बोन्डिङ बढ्छ । अहिलेको प्रतिस्पर्धी दुनियाँमा कतिपय समय एक कप चिया खाने फुर्सद पनि हुँदैन । त्यस्तो अवस्थामा दसैँ, तिहार लगायत सबै चाडपर्वको ठूलो महङ्खव हुन्छ ।
चाडपर्व मनाउन तपाईंका केही टिप्स छन् ?
चाडपर्व मनाउने कुरामा प्रतिस्पर्धामा नजाऔँ । तेरो र मेरो भन्ने प्रतिस्पर्र्धामा नजाऔँ । म अरुभन्दा धेरै गर्छु भन्ने भावनमा नराखौँ । आफ्नो क्षमताअनुसार काम, कुरा गरौँ । छैन भने छैन, के गर्ने  त ? चार वटा मासुको परिकार भन्दा दुई वटाको मात्र गरौँ तर आफूले सक्नेभन्दा बढ्ता नगरौँ । धेरै माछामासु स्वास्थ्यका लागि राम्रो होइन, हामी सचेत पनि हुँदै गएका छौँ । सबैभन्दा पहिला मनलाई शान्ति दिने र मनलाई खुसी पार्नका लागि चाडपर्व मनाउने हो, अरुलाई देखाउन होइन । महिला प्रतिस्पर्धामा जानुहुन्न । उसको भन्दा मेरै धेरै हुनुपर्छ भन्ने भावना राख्नुहुँदैन । सबैभन्दा पहिला आफ्नो आत्मालाई खुसी बनाऔँ ।
चाडपर्व भन्नेबित्तिकै फेसन र लुगाका कुरा आउँछन् । तपाईंको विचारमा कस्तो फेसन गर्ने ?
फेसन भनेको उमेरअनुसार हुनुपर्छ । मेरी छोरीले लगाउने लुगा मैले लगाउन हुँदैन । फेस्टिभल अनुसारको फेसन हुनुपर्छ । डिस्को जाने लुगा चाडबाडमा लगाउन मिल्दैन । दसैँ–तिहार भनेका महङ्खवपूर्ण चाडबाड हुन् । दसैँमा आफूभन्दा ठूलाबडाकोमा जाने हुन्छ । त्यस्तो अवस्थामा त्यही किसिमको पहिरन गर्नुपर्छ । चाडबाडमा मोडर्न हुने होइन, हाम्रो परम्परागत लुगालाई प्रोत्साहित गर्नुपर्छ । परम्परागत चाड भएकाले त्यसै अनुसारका लुगा लगाउनुृ राम्रो ठान्छु म । म त भन्छु, उमेर हेरेर लुगा लाउनु, चाडबाड हेरेर लुगा लाउनु, आफूलाई शरीरलाई सजिलो हुने खाले लुगा लगाउनु पर्छ ।
बिजनेसमा नआएको भए के गर्नुहुन्थ्यो ?
मैले होटल नै पढेको हो । यसै पनि होटल नै गर्ने थिएँ ।

(नागरिक परिवारबाट साभार)

प्रकाशित: २५ आश्विन २०७४ ०४:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App