८ वैशाख २०८१ शनिबार
राजनीति

सरकारले बाँड्यो एकै दिन करोड

काठमाडौं- केपी शर्मा ओली नेतृत्वको सरकारले नेकपा एमाले, नेकपा माओवादी केन्द्रलगायत पार्टीनजिकका व्यक्तिलाई आर्थिक सहायताको नाममा राज्यकोषबाट एकै दिन १ करोड ३० लाख ५० हजार रुपैयाँ बाँडेको छ।

गत असार २६ मा बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न पार्टीका नेता नजिकका व्यक्ति र पहुँचवालालाई राज्यको ढुकुटी बाँड्ने निर्णय गरेको थियो। गृह मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद् बैठकले विभिन्न जिल्लाका ७८ जनालाई रकम बाँडेको हो।

सरकारले नेकपा एमाले निर्वाचन आयोगका अध्यक्ष कास्कीका सोमनाथ अधिकारीलाई ५ लाख, पाल्पाका एमाले नेता नारायणबहादुर कार्कीलाई ४ लाख, नेपालगञ्ज–१, बाँकेका एमाले नेता बद्रीप्रसाद कोइरालालाई ५ लाख, कलाकार तथा काठमाडौं क्षेत्र ६ का पूर्व एमाले वडा सदस्य विष्णुभक्त फुयाँललाई २ लाख रुपैयाँ दिएको छ। त्यसैगरी रोल्पा ५ का पूर्वसांसद तथा माओवादी केन्द्रका नेता बर्मन बुढालाई २ लाख, कालिकोट– ८ का नेकपा माओवादी केन्द्रका सांसद् महेन्द्रबहादुर शाहीलाई ५ लाख, अर्घाखाँचीका एमाले नेता चेतनारायण आचार्यलाई ५ लाख, नेपाली कांग्रेस धनुषाका सांसद् प्रेमकिशोर साहलाई ५ लाख र एमाले नेता गोविन्द भट्टराईलाई ५ लाख रुपैयाँ दिइएको छ।

त्यसैगरी काभ्रे, भुलुटारका गोविन्दनाथ उप्रेतीलाई ५ लाख, कुपन्डोल ललितपुरकी इला शर्मालाई ३ लाख, काठमाडौं चन्द्रागिरिका मुरलीगोपाल रन्जितकारलाई २ लाख, काठमाडौं किलागलका श्यामलाल श्रेष्ठलाई २ लाख, ताप्लेजुङ १ की टिकादेवी पालुंगालाई २ लाख, रामेछाप गुप्तेश्वरका शरद रसाइलीलाई ३ लाख, कालीकोट पाखाका मानबहादुर मल्ललाई २ लाख, गोरखा पालिचोकका लक्ष्मी पन्तलाई ३ लाख, विराटनगरका बद्री बस्नेतलाई ३ लाख, सिराहा कजवाका प्रकाश शाहलाई २ लाख, काठमाडौं हाँडीगाउँका कृष्णनिधि तिवारीलाई ३ लाख, इलामका सानुशिवा पहाडीलाई २ लाख, इलामकै गंगा प्रधानलाई २ लाख, सुर्खेतका नरेन्द्रराज शर्मालाई ३ लाखलगायत ७८ जनालाई रकम बाँडिएको छ। ५० जनालाई १ लाखका दरले दिइएको छ भने  सबैभन्दा कम जाजरकोटका बिर्मी शाहीलाई ५० हजार रुपैयाँ दिइएको छ। 

किन, के कारणले रकम दिइएको भन्नेबारे निर्णयमा केही खुलाइएको छैन। आर्थिक सहायताका नाममा यसअघि जेठ १३ मन्त्रिपरिषद् बैठकको निर्णयबाट गृह मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले एकै दिन ३१ जनालाई ८५ लाख रुपैयाँ बाँडेको थियो।

गृह मन्त्रालयको तथ्यांकअनुसार गत वर्ष साउनदेखि वैशाखसम्म १५ करोड २७ लाख ४२ हजार ५ सय ३९ रुपैयाँ बाँडिएको छ। मन्त्रिपरिषद्को निर्णय, नागरिक राहत, क्षतिपूर्ति तथा आर्थिक सहायतासम्बन्धी कार्यविधि २०६६ अनुसार उपलब्ध गराइएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ। धेरैलाई आर्थिक सहायताको नाममा रकम दिइएको छ भने केहीलाई औषधि उपचारको नाममा बाँडिएको छ।

सांस्कृतिक कार्यक्रमलाई पनि रकम

सोही बैठकले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत चेपाङ सांस्कृतिक कार्यक्रम आयोजना गर्न चेपाङ संघ, मित्रनगरलाई ३ लाख रुपैयाँ आर्थिक सहायता दिने निर्णय गरेको छ। त्यसैगरी तमु ल्होसार आयोजक गुरुङ राष्ट्रिय परिषद्लाई ६ लाख रुपैयाँ दिएको छ।

यसअघि गत चैत १९ को मन्त्रिपरिषद् बैठकले मन्त्रालयको प्रस्तावमा विश्व हिन्दु महासंघ बाँसबारीलाई २० लाख, राजधोव उपत्यका सम्पर्क परिवार शान्तिनगरलाई २ लाख, नेपाल तामाङ घेदुङ राष्ट्रिय कार्यकारिणी समितिलाई ४ लाख, किराँत राई यायोख्या कोटेश्वरलाई ४ लाख दिएको थियो।

प्रकाशित: १६ श्रावण २०७३ ०३:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App