८ वैशाख २०८१ शनिबार
अर्थ

अमेरिकी ग्रिनकार्डधारी पाइलटले दिए राजीनामा

काठमाडौं- नेपाल वायुसेवा निगममा महिनाको १० लाख रुपैयाँ तलब खाइरहेका अमेरिकी ग्रिनकार्डधारी पाइलट आङनुरी शेर्पाले राजीनामा दिएका छन् । सानो आकारका चिनियाँ जहाजका प्रशिक्षक पाइलट उनले केही दिनअघि राजीनामा दिएका हुन्।
निगम व्यवस्थापनका उच्च अधिकारीहरूको ‘मिलेमतो’ मा कर्मचारी विनियमावली विपरीत अमेरिकी ग्रिनकार्ड होल्डर शेर्पालाई विज्ञताको नाम दिएर प्रतिमहिना १० लाख रुपैयाँ तलब दिँदै चार वर्षका लागि नियुक्त गरिएको नागरिक दैनिकले गत साउन पहिलो साता खुलासा गरेको थियो ।
त्यसपछि शेर्पाको नियुक्तिबारे निगमभित्रै व्यापक आलोचना भएको थियो । निगम सञ्चालक समितिले पनि उनको नियुक्ति र उनलाई दिइएको तलब सुबिधाको औचित्य पुष्टि गर्न व्यवस्थापनलाई निर्देशन दिएको थियो ।
‘सानो चिनियाँ जहाजका प्रशिक्षक पाइलट आङनुरी शेर्पाले राजीनामा दिएका छन्,’ निगम उच्च स्रोतले मंगलबार नागरिकसँग भन्यो, ‘उनले अपरेसन विभागमा राजीनामा बुझाएका छन् तर, विभागले उनको राजीनामालाई महाप्रबन्धक सुगतरत्न कंसाकारकोमा पुर्याएको छैन । शेर्पाको राजीनामा महाप्रबन्धक कंसाकारले स्वीकृत गर्नुपर्छ ।’
विज्ञ भन्दै नवौं तहको वरिष्ठ क्याप्टेन/प्रशिक्षक पाइलटमा नियुक्त गरिएका शेर्पाले आन्तरिक सेवामा रहेको १७ सिटे चिनियाँ जहाज ‘वाई१२–ई’ उडाउँदै आएका थिए । उनीजस्तै यही जहाज उडाउने अन्य पाइलटलाई भने निगमले महिनाको १ लाख ८० हजार रुपैयाँसम्म तलब दिएको छ ।
तर, गत भदौ १२ गते काठमाडौंमा अवतरण गर्ने अन्तिम तयारीमा रहेको भारतीय जेट एयरवेजको जहाजको अवतरणमार्गमा ‘जबर्जस्ती’ आफ्नो जहाज घुसाएपछि निगमका पाइलट शेर्पा जहाज उडाउन नपाउने गरी ‘ग्राउन्डेड’ भएका थिए । त्यसयता उनले जहाज उडाउन पाएका छैनन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको उक्त घटनालाई वायुसेवा निगम व्यवस्थापनले गुपचुप राखे पनि नागरिकले असोज ३ गते खुलासा गरेको थियो ।  विमानस्थलस्थित ‘एयर ट्राफिक कन्ट्रोल’ (एटिसी) टावरले अवतरण अनुमति नदिए पनि निगमका पाइलट शेर्पाले आफूले ‘कमान्ड’ गरी ल्याएको जहाजलाई जबर्जस्ती अर्को विदेशी जहाजको अवतरणमार्गमा प्रवेश गराएका थिए । ग्राउन्डेड भएपछि शेर्पा अमेरिका भ्रमण गरेर फर्केका थिए ।
निगम व्यवस्थापनले शेर्पालाई मासिक ६ लाख रुपैयाँ तलब तथा प्रतिमहिना ७० घन्टा जहाज उडाए प्रतिघन्टा ६ हजार रुपैयाँ भत्ता दिने गरी नियुक्तिपत्र दिएको छ । करार सम्झौता अवधि रहुन्जेल तलबभत्ता बाहेक शेर्पा, उनकी श्रीमती, छोराछोरी र अभिभावकलाई निगमका चिकित्सकले प्रमाणित गरे स्वास्थ्य उपचार खर्चवापत ५ हजार रुपैयाँ पनि उपलब्ध गराइने छ । त्यसबाहेक उनलाई दुर्घटना बिमा, निगम जाने जुनसुकै अन्तर्राष्ट्रिय गन्तव्यमा उनी र उनको परिवारलाई वर्षको दुईथान निःशुल्क हवाई टिकटलगायत सुविधा पनि दिइएको छ ।
क्याप्टेन शेर्पाले अमेरिकाको ‘ग्रिनकार्ड’ समेत लिएका छन् । उनको छोरा अमेरिकी जलसेनाका अधिकृत छन् । पूर्वसामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले विदेशको ग्रिनकार्ड वा स्थायी बसोबास अनुमति लिएका कर्मचारीका लागि ‘कि ग्रिनकार्ड कि जागीर’ मध्ये एक रोज्नुपर्ने नीति ल्याएपछि निगमले आफ्नो कर्मचारी विनियमावली संशोधन गरी यही नीति अवलम्बन गरेको थियो ।
उनै शेर्पाले निगमको खर्चमा अमेरिका गई वाई१२–ई जहाजको प्रशिक्षक पाइलटको तालिम लिएर आएपछि २०७३ साउन तेस्रो साता राजीनामा दिएका थिए । शेर्पाले त्यसबेला बुझाएको राजीनामा पत्रमा ‘अमेरिकाको ग्रिनकार्ड पाएकाले निगममा सेवा गर्न असमर्थ रहेको’ उल्लेख छ । निगमको नियमअनुसार पाइलटलाई विदेशमा तालिम दिलाएर ल्याएपछि ती पाइलटले न्यूनतम पाँच वर्षसम्म निगमकै जहाज उडाउनुपर्छ । यदि बीचैमा छाडेर गए तालिमबराबरको रकम जरिवाना स्वरूप बुझाउनुपर्छ ।
त्यसरी छाडेर गएका शेर्पालाई जरिवाना पनि तिर्नुनपर्ने सुविधा दिएको निगम व्यवस्थापनले एक वर्षपछि फेरि महिनाको १० लाख रुपैयाँ तलब दिने गरी उनैलाई नियुक्त गरेको थियो । उनको यो नियुक्ति निगममा चौथो पटकको हो । निगमबाटै जहाज उडान सुरु गरेका उनले केही समयपछि राजीनामा दिएर निजी वायुसेवा कम्पनी एयर काष्ठमण्डपको ‘सिंगल इन्जिन’ जहाज उडाउन गएका थिए । केही अवधि उडाएर त्यहाँबाट छाडेर पुनः निगम प्रवेश गरेका थिए । फेरि छाडेर गए । त्यसपछि फेरि निगम छिरेर उनले प्रशिक्षक पाइलटको तालिम लिएपछि राजीनामा दिएका थिए र हाल चौथो पटक नियुक्ति लिएका थिए ।
 

प्रकाशित: २५ आश्विन २०७४ ०३:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App