८ वैशाख २०८१ शनिबार
समाज

राष्ट्रपति आउने भएपछि खलंगामा टालटुल

जुम्ला- कर्णालीकै पहिलो विद्यालय चन्ददनाथ माध्यमिक विद्यालयको विज्ञान ल्याब उद्घाटन गर्न राष्ट्रपति विद्यादेवी भण्डारी आज (बुधवार) आउने भएपछि कर्णालीको सदरमुकाम जुम्ला खलंगाका सडक टाल्ने कामले तीव्रता पाएको छ । विकासका लागि आएको वजेट सदुपयोग नहुँदा सदरमुकामको सडकमा खाल्डैखाल्डा परेका थिए । सवारी आवागमनमा समस्या हुँदै आएकोमा राष्ट्रपति आउने भनेपछि यहाँका सरोकारवाला निकाय सडकका खाल्डाखुल्डी र फोहोर लुकाउनमा व्यस्त छन् ।
सदरमुकामको बालमन्दिर नजिक, कालेखोलीको खाल्डा पुरिएका हुन् । राष्ट्रपतिलाई जुम्ला सुन्दर भएको देखाउन रातारात खाल्डाखुल्डी पुर्ने काम भईरहेको छ । प्राकृतिक रूपमा सुन्दर जुम्लालाई देशको नेता, राष्ट्रपति, प्रधानमन्त्री आएका बेला मात्रै रातारात विकास गर्नु आवश्यक नरहेको भन्दै नियमित रूपमा सदरमुकाम खलंगाको सुन्दरता झल्कने खालको दीर्घकालीन काम गर्न स्थानीयले सरोकारवालालाई सुझाएका छन् । ‘सदरमुकाम खलंगा आसपासको सडक कालोपत्रे गर्नका लागि आएको वजेट बर्सेनि वर्षेनी फ्रिज जान्छ,’ स्थानीय शक्तिबहादुर रोकायाले भने, ‘राष्ट्रपतिलाई देखाउन दुई दिन गरिएको विकासले जुम्लालाई कुनै टेवा पुर्याउन सक्दैन ।’
निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तर्गतको ४० लाख रुपैयाँमा बनेको विज्ञान ल्याब उद्घाटन गर्न दुई घन्टे कार्यतालिकासहित जुम्ला आउने भएकी राष्ट्रपति भण्डारीले चन्दननाथ मन्दिरमा पूजा आजा गर्ने भएकी हुन् । ‘असार मसान्तमा कामै नभएर करोडौंको बजेट फिर्ता गर्नु परेको छ,’ स्थानीय रोकायाले भने, त्यही बजेटको सदुपयोग र प्रभावकारी कार्यन्वयन भएको भए जुम्लामा रातारात खाल्डाखुल्डी पुर्नु पर्ने अवस्था आउने थिएन ।
हेलिकोप्टरमार्फत जुम्ला आउने राष्ट्रपति भण्डारीका लागि भगवती दल गण हुमँदै चन्दननाथ मन्दिर र चन्दननाथ माध्यमिक विद्यालय आउजाउ गर्ने बाटोका खाल्डाखुल्डी पुरिएका हुन् । नेपाली कांग्रेसका गौरीनन्द आचार्यले राष्ट्रपति आउने वहानामा रकम सिध्याउने खेल भएको टिप्पणी गरे ।
जुम्लामा निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको बजेटले खासै प्रभावकारी काम भएको छैन । सदरमुकाम खलंगामा भएको एउटा विकास हेराएर आफू इमान्दार भएको देखाउन चाहने खेल भएको स्थानीयको भनाइ छ ।

प्रकाशित: २५ आश्विन २०७४ ०२:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App