coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

रोहिन्जाको सहयोगका लागि दीर्घकालीन योजना आवश्यक

जेनेभा – म्यानमारका रोहिन्जा मुसलमान शरणार्थी रहेको बंगलादशेमा उनीहरुको सहयोगका लागि दीर्घकालीन योजना आवश्यक रहेकोमा संयुक्त राष्ट्रसंघले जोड दिएको छ । संयुक्त राष्ट्रसंघका अनुसार हाल बंगलादेशमा करिब पाँच लाख म्यान्माली रोहिन्जाले शरण लिएर बसेका छन् । उनीहरुको अवस्था दिन प्रति दिन कष्टकर हुँदैछ ।

उनीहरु तत्कालै घर फर्किने अवस्था नरहेको संयुक्त राष्ट्रसंघले जनाएको छ । ‘रोहिन्जा अहिले नै घर फर्किन सक्ने अवस्था देखिँदैन । त्यसैले उनीहरुको समस्या समाधानका लागि दीर्घकालीन योजना आवश्यक रहेको छ,’ राष्ट्रसंघले बताएको छ ।
बंगलादेशमा शरणार्थी जीवन बिताइरहेका रोहिन्जाको व्यवस्थापनका लागि छुट्टै नीति तथा योजनाको खाँचो रहेको संयुक्त राष्ट्रसंघीय शरणार्थीसम्बन्धी निकायका प्रमुख फिलिपो ग्रान्डीले बताएका छन् ।

उनका अनुसार शरणार्थीको अवस्था अहिले अत्यन्तै नाजुक रहेको छ । उनीहरुलाई खानपिनको राम्रो प्रबन्ध छैन र उनीहरु बसिरहेको शिविरमा सरसफाईको पनि राम्रो व्यवस्था छैन । त्यसैले उनीहरुको व्यवस्थापनमा सबैको चासो आवश्यक रहेको राष्ट्रसंघीय शरणार्थीसम्बन्धी निकायका प्रमुख फिलिपो ग्रान्डीले बताएका छन् ।

रोहिन्जा मुसलमान बसिरहेको शिविरमा हैजा तथा अरु पानीजन्य रोगले सताउन सक्ने खतरा रहेको पनि ग्रान्डीको भनाइ थियो । खानेकुरा र पानीकै कारण ज्यान गुमाउनसक्ने लाजमर्दाे अवस्था आउनसक्ने पनि उनले बताए ।  

म्यानमारको रखाइन राज्यमा रहेका २० वटा प्रहरी चौकीमा रोहिन्जा विद्रोहीले आक्रमण गरेपछि सरकारी सेनाले कारबाही गर्दा उक्त क्षेत्रमा हिंसा फैलिएको थियो । रोहिन्जा समुदायमाथि सरकारी सेनाले नै हिंसा गरेको आरोप उनीहरुले लगाउने गरेका छन् । तर म्यानमार सरकारले भने विद्रोही  माथि मात्रै कारबाही गरिएको तर सर्वसाधारणमाथि हिंसा नभएको बताउँदै आएको छ । अगष्ट २५ देखि सुरु भएको हिंसाका कारण हालसम्म लाखौं रोहिन्जा मुसलमान देशभित्र र बाहिर शरणार्थी जीवन बिताउन बाध्य भएका छन् ।

प्रकाशित: २५ आश्विन २०७४ ०१:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App