७ वैशाख २०८१ शुक्रबार
राजनीति

निर्वाचनलाई अप्रिय हुने निर्णय नलिन यादवको आग्रह

बनेपा- प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको व्यवस्थापन जोडतोडका साथ अघि बढिसकेको हुँदा निर्वाचनलाई अप्रिय हुने निर्णय नलिन सरकारसँग आग्रह गरेका छन् ।
निर्वाचनमा खटिने मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतका लागि निर्वाचन सञ्चालन र व्यवस्थापन तालिमको मंगलबार धुलिखेलमा उद्घाटन गर्दै उनले भने, ‘कानुन, नियम र निर्देशिकालाई अन्तिम रूप दिइसकिएकाले कहीँकतैबाट पनि निर्वाचनमा कुनै किसिमको व्यवधान गरिदने काम हुनु भएन । निर्वाचनको मुखमा आएर अप्रिय किसिमको निर्णय भएमा आयोगलाई अप्ठेरो हुन्छ ।’
निर्वाचनको मिति नजिकिँदै जाँदा कतिखेर राजनीतिमा के हुन्छ भन्ने घटनाक्रमले अप्ठेरो महसुस भइरहेको यादवको भनाइ छ, ‘प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन एकैपटक र दुई चरणमा गर्ने काम कठिन र चुनौतीपूर्ण रहे पनि त्यसलाई स्वीकारेर आयोग अघि बढिरहेको छ । यसमा सबैको सहयोग जरुरी हुन्छ’, उनले भने ।
निर्वाचन खटिने मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतलाई निर्देशन दिँदै उनले भने, ‘निर्वाचनमा खटिने कर्मचारीले राजनीतिक आस्थाका आधारमा कसैप्रति आग्रह वा पूर्वाग्रह नराखेर निर्भिक, स्वच्छ र स्वतन्त्र भएर काम गर्नुहोला । साथै कार्यसम्पादन गर्दा निर्वाचनको मूल्य र मान्यतालाई जुनसुकै अवस्थामा आँच आउन नदिनेतर्फ हेक्का राख्नुहोला ।’
बुधबारसम्म चल्ने तालिममा ७७ वटै जिल्लाका जिल्ला न्यायाधीश र नौ न्यायाधीशका साथै न्यायसेवाका द्वितीय श्रेणीका अधिकृतको सहभागिता छ ।

प्रकाशित: २५ आश्विन २०७४ ००:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App