४ वैशाख २०८१ मंगलबार
राजनीति

चुनावी चर्चाको केन्द्रमा चितवन

चितवन- स्थानीय तह निर्वाचनमा चितवन चर्चाको केन्द्रमै रह्यो । आउँदो प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पनि चितवनको नतिजातर्फ धेरैको चासो रहनेछ । चितवनमा दोस्रो चरणमा मंसिर २१ गते मतदान हुँदैछ । माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले गएको भदौ २३ मै चितवनबाट उम्मेदवार हुने घोषणा गरेका छन् । उनको उम्मेदवारी घोषणासँगै चितवनमा मात्रै होइन, देशभर नै चुनावी चर्चा ह्वात्तै बढ्यो ।   

स्थानीय तह निर्वाचनमा माओवादीले अकस्मात् कांग्रेससँग तालमेल गरेर भरतपुर महानगरपालिकामा मेयर पद नै हात पारेको थियो । भरतपुरका मेयरमा माओवादीबाट दाहालकी छोरी रेणु उम्मेदवार थिइन् । एक्लैले मेयर तथा उपमेयर जित्ने प्रबल सम्भावना रहेको भरतपुरमा कांग्रेसले तालमेल मात्रै गरेन मेयर पद नै माओवादीलाई छाडेको थियो ।
केन्द्रले एक्कासि गरेको यो निर्णयले जिल्लामा कांग्रेसका कार्यकर्ता आक्रोशित भएका थिए । मतगणना भइरहँदा माओवादीका गणना प्रतिनिधिले मतपत्र नै च्यातेका थिए । कांग्रेस र माओवादीबीच अप्रत्याशित तालमेल भएपछि भरतपुरको नतिजालाई देशविदेशमा रहेका नेपालीले उत्सुकतापूर्वक हेरिरहेका थिए । मतपत्र च्यातिएपछि दुई महिनासम्म भरतपुरकै मात्र चर्चा–परिचर्चा भयो ।

चितवनमा उम्मेदवार हुने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले चुनाव जित्लान् वा नजित्लान् भनेर देशभित्र तथा बाहिरका नेपालीमाझ कौतुहल रहनेछ ।

यो ठाउँमा आउँदो चुनावमा माओवादी अध्यक्ष दाहाल नै उठ्ने भएका कारण फेरि पनि चितवनको नतिजालाई धेरैले कान ठाडो पारेर सुन्नेछन् । असोज १० गते भरतपुर आउँदा दाहालले पत्रकारसँग आफू चितवन क्षेत्र नं. ३ बाट उम्मेदवारी दिने जानकारी दिए । चितवनको क्षेत्र नं. ३ मा स्थानीय तह निर्वाचनको मतगणना भइरहँदा मतपत्र च्यातिएको भरतपुरको वडा नं. १९ पनि पर्छ ।
दाहालले स्थानीय निर्वाचनको सहयात्री कांग्रेससँगको गठबन्धन तोडेका छन् । भरतपुरमा गणनाका बेलामा माओवादीले मतपत्र च्यात्दा एमालेले मेयरमा जित्ने सम्भावना रोकिएको थियो । अहिले दाहालको नयाँ सहयात्री त्यही एमाले भएको छ । राजनीतिमा देखिएको यो अनौठो सहकार्यको परिणाम के हुन्छ भन्ने जान्ने उत्सकुता पनि धेरैलाई रहनेछ ।
चितवनमा अहिले मुख्य दलहरूले संघीय संसद् तथा प्रदेशसभाका लागि उम्मेदवारको नाम सिफारिस गर्ने काम लगभग सकेका छन् । संघीय संसद् अर्थात् प्रतिनिधिसभा सदस्यका लागि तीनवटा संसदीय क्षेत्र रहेको चितवनमा क्षेत्र नं. १ मा एमाले बलियो मानिन्छ । एमालेले यहाँ सांसद तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेलाई उम्मेदवार बनाउन प्रदेश कमिटीमा नाम सिफारिस गरेको छ ।
क्षेत्र नं. २ मा कांग्रेस र एमालेबीच प्रतिस्पर्धा हुने देखिन्छ । यो क्षेत्रमा एमालेले सांसद तथा एमाले जिल्ला अध्यक्ष कृष्णभक्त पोखरेलको नाम उम्मेदवारका रूपमा सिफारिस गरेको छ । कांग्रेसले पनि सांसद शेषनाथ अधिकारी र त्रिविका उपकुलपति तीर्थ खनियाको नाम सिफारिस गरेको कांग्रेसका जिल्ला अध्यक्ष जितनारायण श्रेष्ठले जानकारी दिए ।
क्षेत्र नं. ३ कांग्रेसको राम्रो आधार भएको ठाउँ हो । यहाँ कांग्रेसले सासंद रामकृष्ण घिमिरे र  सांसद तथा विद्यालय सञ्चालक उमेश श्रेष्ठलगायतको नाम सिफारिस गरेको छ । केन्द्रीय गठबन्धन नै कायम भएको र माओवादी केन्द्रका अध्यक्ष दाहाल नै उठ्ने भनेका कारण एमालेले भने यो क्षेत्रमा प्रभावशाली आकांक्षीको नाम सिफारिस गरेको छैन ।
 केन्द्रीय तहमा वाम तालमेल भए पनि चितवनमा एमाले र माओवादीले कुन–कुन क्षेत्र पाउने हो भन्ने निधो भइसकेको छैन । एमाले नेताले तीन नम्बर क्षेत्र दाहालका लागि छाडेर बाँकी दुई क्षेत्र आफूहरूले लिने मनसाय बनाएको छ । तर, केही दिनयता चितवन क्षेत्र नं. २ बाट माओवादीका अर्का प्रभावशाली नेता रामबहादुर थापा ‘बादल’ पनि उठ्ने चर्चा सुरु भएको छ ।
माओावदी केन्द्रका चितवन जिल्ला इन्चार्ज ईश्वरी भट्टराई पार्टी अध्यक्ष दाहाल उठ्ने पक्कापक्की भए पनि अरू विषयमा ठोस निर्णय नभएको बताउँछन् । ‘हामीले ४० प्रतिशत र एमालेले ६० प्रतिशत सिट लिने सहमति चितवनमा पनि लागू हुन्छ । पार्टी अध्यक्ष पक्का उठ्नुहुन्छ । रामबहादुरजीको पनि कुरा आएको छ । यो विषय हामी चाँडै टुंग्याउँछौं,’ उनले भने ।


चितवनमा एमाले बलियो
 स्थानीय तह निर्वाचनको नतिजालाई आधार मान्दा चितवनमा एमाले बलियो देखिएको छ । जिल्लाका सात स्थानीय तहमध्ये चारवटा नगरपालिकामा एमालेले मेयर तथा उपमेयरका साथै बहुसंख्यक वडा जितेको छ । त्यस्तै एउटा नगरपालिकामा उपमेयर र धेरै वडा जितेको छ । कांग्रेसले इच्छाकामना गाउँपालिकामा मात्रै प्रमुख र उपप्रमुख जितेको छ ।
 माओवादीले कांग्रेसको सहयोगमा भरतपुर महानगरमा मेयर जित्दा माडी नगरपालिकामा पनि मेयरमात्रै जितेको छ । कांग्रेसले भरतपुरमा पनि उपमेयर जितेको छ । यसअघि सम्पन्न दोस्रो संविधानसभा सदस्य निर्वाचनमा चितवनमा पाँच निर्वाचन क्षेत्र थिए । जसमध्ये दुईवटामा एमाले, दुईवटामा कांग्रेस र एउटामा राष्ट्रिय प्रजातन्त्र पार्टीले जितेको छ । स्थानीय चुनावका साथै दोस्रो संविधानसभामा पनि चितवनमा माओवादी कमजोर देखिएको थियो ।
यस्तोमा जिल्लामा उम्मेदवार हुने माओवादी केन्द्रका अध्यक्ष दाहालले चुनाव जित्लान् वा नजित्लान् भनेर देशभित्र तथा बाहिरका नेपालीमाझ कौतुहलता रहनेछ । दाहालले एमालेको साथ पाए पनि सो क्षेत्रमा बलियो मानिएको कांग्रेसका उम्मेदवारसँग मात्रै नभएर दोस्रो संविधानसभा चुनावमा सोही क्षेत्रबाट विजयी भएका राप्रपाका लोकप्रिय नेता विक्रम पाण्डेको चुनौती पनि सामना गर्नुपर्ने हुन्छ ।
जिल्लाका अन्य क्षेत्रको तुलनामा क्षेत्र नं. ३ मा माओवादीको अवस्था राम्रो रहेको र जिल्लाको बलियो दल एमालेको साथ रहेकाले अध्यक्ष दाहाल जित्न सक्ने सम्भावित उम्मेदवारका रूपमा हेरिएको छ । तर, अन्य पार्टीको तयारी र एमालेकै सामान्य कार्यकर्ता तथा मतदाताको भूमिकाले पनि दाहालको जितहारमा महत्वपूर्ण मानिनेछ ।
एमालेले अहिले गठबन्धनका विषयमा नकारात्मक टिप्पणी नगर्न पार्टीका नेताहरूलाई कडाइ गरेको छ । ‘तर दाहाल उठ्ने क्षेत्रमै बाँदरमुढे घटना भएको माडी छ । अस्ति भर्खर मतपत्र च्यातेर पार्टीका उम्मेदवारलाई हराएको रिस पनि छ । नेताहरुले चुनावी माहोल कसरी तयार गर्छन् त्यसैले जितहारको अवस्था निर्धारण गर्नेछ,’ एमालेका एकजना नेताले टिप्पणी गरे ।
चितवनमा योपटक तीन लाख ५४ हजार ३५ मतदाता छन् । जिल्लामा ४०८ को हाराहारीमा मतदान केन्द्र तय हुने जिल्ला निर्वाचन कार्यालयका प्रमुख हरि ढकालले जानकारी दिए । तिहारलगत्तै निर्वाचनसम्बन्धी कार्यक्रम सुरु हुनेछ । उम्मेदवारी दर्ता कात्तिक १६ लाई तय भएको छ । कात्तिक ९ मा निर्वाचन अधिकृतको कार्यालय खुल्नेछ ।

 

प्रकाशित: २५ आश्विन २०७४ ००:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App