सिन्धुपाल्चोक - नेकपा एमाले सिन्धुपाल्चोकले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस गरेको छ । १४ बुँदे निर्वाचन कार्ययोजनासमेत तयार गरेको एमालेले दुवै तहका निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिकतर्फका उम्मेदवारको सूची प्रदेश समितिलाई पठाएको हो । पार्टीको सर्कुलरअनुसार जिल्लाले पठाएको सूचीबाट प्रदेश समितिले केन्द्रलाई सिफारिस गर्ने एमाले प्रचार विभाग प्रमुख यज्ञराज सापकोटाले बताए ।
सापकोटाका अनुसार प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ का लागि प्रत्यक्षतर्फ अरुण नेपाल र २ मा शेरबहादुर तामाङको नाम पठाइएको छ । समानुपातिकतर्फ ११ जनाको सूची पठाइएको छ ।
क्षेत्र नं. १ को प्रदेशसभा ‘क’मा प्रत्यक्षतर्फ अमृत खड्का, शमशेर शाक्य र धर्मराज भण्डारी, ‘ख’मा सशेर नेपाल, यज्ञराज सापकोटा, तेजबहादुर थापा, टपेन्द्र अधिकारी र नवराज श्रेष्ठलाई सिफारिस गरिएको छ । त्यस्तै क्षेत्र नं. २ को प्रदेशसभा ‘क’ तर्फ सुवास कर्माचार्य, इन्द्र लामा, राधिका तिमिल्सिना तथा ‘ख’ का लागि मित्रलाल चौलागाईं, बालकृष्ण देउजा, धर्मकृष्ण श्रेष्ठ, माधव पाण्डे, उपेन्द्र तामाङ र डोल्मा तामाङको नाम पठाइएको छ । प्रदेशसभा समानुपातिकतर्फ ३५ जनाको सूची पठाइएको एमालेले जनाएको छ । कांग्रेस र माओवादी केन्द्रले यसअघि नै उम्मेदवारका आकांक्षीको नाम सिफारिस गरिसकेका छन् ।
प्रकाशित: २५ आश्विन २०७४ ००:३२ बुधबार