७ वैशाख २०८१ शुक्रबार
समाज

गौचनलाई गोली हान्नेको अझै पहिचान हुन सकेन

काठमाडौँ—गोली प्रहारबाट सोमबार मृत्यु भएका नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्नको अझै पहिचान खुल्न सकेको छैन।

घटनापछि प्रहरीले एक सयभन्दा बढी व्यक्तिलाई नियन्त्रणमा लिएर सोधपुछ गरेपनि अझै हत्याराको पहिचान गर्न नसकेको हो । सोमबार दिउँसो ३ बजेतिर काठमाडौँ, नयाँबानेश्वरको खरिबोट प्रयागमार्गमा एक व्यक्तिले चलाएको गोलीबाट घाइते हुनुभएका गौचनलाई उपचारका लागि मीनभवनस्थित सिभिल अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको थियो।

महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख आयुक्त अतिरिक्त प्रहरी महानिरीक्षक जयबहादुर चन्दले अनुसन्धान जारी रहेको र घटनाको नजिक प्रहरी पुगेको बताए। 'शंकास्पद स्थान र व्यक्तिमाथि निगरानी गरीरहेका छौँ, केही दिनमै घटनामा संलग्न पक्राउ पर्छन्', उनले भने।

घटनालगत्तै सोमबार दिउँसो हतियारसहित काभ्रेका छिरिङ तामाङ, सञ्जय तामाङ र दिलीप तामाङलाई गोँगबु क्षेत्रबाट प्रहरीले अपराह्न पक्राउ गरेको थियो। तर उनीहरुको गौचन हत्यामा संलग्नताबारे निकटता नखुलेको प्रमुख आयुक्त चन्दले जानकारी दिए। उनले अनुसन्धानका क्रममा दर्जनौँ व्यक्तिलाई नियन्त्रणमा लिएर सोधपुछपछि छाडिएको जानकारी दिए।

प्रहरीले घटनाको सम्बन्धमा प्रहरी नायब महानिरीक्षकको नेतृत्वमा सात सदस्यीय छानबिन समिति गठन गरेको छ। रासस

प्रकाशित: २४ आश्विन २०७४ १४:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App