७ वैशाख २०८१ शुक्रबार
अर्थ

सोलारको बिजुलीले झिलिमिली बन्दै सिंहदरबार

काठमाडौं— बारम्बार बिजुली जाने सिंहदरबारमा अब भने कहिल्यै नजाने भएको छ । सरकारले सिंहदरबारभित्र बिजुली आपूर्ति नियमित बनाउन भवनका छतछतमा सोलार प्यानल जडान गर्दैछ।

आगामी तीन महिनाभित्रै सिंहदबारमा १ मेगावाट क्षमताको सोलार प्यानल जडान भइसक्ने ऊर्जा मन्त्रालयका प्रवक्ता दिनेश घिमिरेले बिहीबार नागरिकलाई बताए । ‘सिंहदरबारभित्रका १७–१८ वटा भवनको छतमा सोलार प्यानल जडान गर्न लागिएको छ,’ उनले भने, ‘सिंहदरबारभित्रका भवनको छतले नपुगेर बाहिर रहेका राष्ट्रिय वाणिज्य बैंक, बिमा संथानको भवनको छतमा पनि सोलार प्यानल राखिने छ।’ 

‘सिंहदरबारभित्रका १७–१८ वटा भवनको छतमा सोलार प्यानल जडान गर्न लागिएको छ,’ उनले भने, ‘सिंहदरबारभित्रका भवनको छतले नपुगेर बाहिर रहेका राष्ट्रिय वाणिज्य बैंक, बिमा संथानको भवनको छतमा पनि सोलार प्यानल राखिने छ।’ 

चिनियाँ सरकारको अनुदानमा जडान गर्न लागिएको सोलार प्यानलबाट पुस १६ गतेभित्र विद्युत् उत्पादन हुने पनि घिमिरेले जानकारी दिए । ‘सोलार प्यानलबाट उत्पादन हुने एक मेगावाटको बिजुलीले सिंहदरबारलाई नपुगे पनि बिजुली गएको बेला ब्याकअपको रुपमा काम गर्नेछ,’ उनले भने, ‘सोलार प्यानल जडानपछि सिंहदरबारमा बारम्बार बिजुली जाँदा हुने सास्तीको अन्त्य हुनेछ।’

चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पाेरेसनले सिंहदरबार परिसरमा धमाधम सोलार प्यानल जडान गरिरहेको छ। घिमिरेका अनुसार शतप्रतिशत चिनियाँ अनुदानमा जडान हुने सोलार प्यानलले सिंहदरबारभित्रको विद्युत् आपूर्ति नियमित गर्न सहयोग पुग्नेछ।

हालसम्म सिंहदरबारभित्र नेपाल विद्युत् प्राधिकरणको डेडिकेटेड फिडरबाट पाँच मेगावाट विद्युत् खपत हुँदै आएको छ। सिंहदरबारका विभिन्न भवनका छानाले नपुगेर सिंहदरबारनजिकै बाहिर रहेका सरकारी भवनको छतमा समेत सोलार प्यानल जडान गर्ने तयारी भइरहेको उनले बताए। 

गत वर्ष भारतले नाकाबन्दी लगाएपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारभित्र सोलार प्यानल जोड्न चिनियाँ सहयोग मागेका थिए। चीनमा निर्मित सोलार प्यानल र त्यसका उपकरण धमाधम सिंहदरबारमा जडान गरिँदै छ। एक मेगावाट क्षमताको सोलार प्यानल जडान भएपछि राष्ट्रिय प्रसारण लाइनमा एक मेगावाट विद्युत् थपिनेछ । यसले लोडसेडिङ न्यूनीकरणमा सघाउ पुर्‍याउनेछ।

 

प्रकाशित: २४ आश्विन २०७४ १२:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App