६ वैशाख २०८१ बिहीबार
समाज

सिकारीका संरक्षक छोरा

चितवन- विष्णुबहादुर लामाका पितापुर्खा नामुद सिकारी थिए। वन्यजन्तु देख्नै नहुने, मारिहाल्थे। घरमा त्यसैको भोज चल्थ्यो। त्यही बिँडो थाम्दै विष्णुले पनि बन्दुक समाते। सयौं जन्तुमाथि निसाना साँधे। तर, उनको बन्दुकले कहिल्यै जन्तुको प्राण हरेन। बरु सधैं तिनलाई जोगाई मात्र रह्यो।

बाटो भड्किएर बस्ती पस्ने जन्तु कम्ती आक्रामक हुँदैन। स्थानीयको ज्यानै लिन सक्छ। स्थानीय पनि सकेसम्म त्यस्ता जन्तुलाई मारिहाल्नतिर लाग्छन्। हो, त्यही अवस्था निम्तिन नदिनु विष्णुको कर्म हो। त्यस्ता जन्तुलाई सुरक्षित जंगल फर्काउने कर्ममा खर्चिए, उनले जीवनका ४० वर्ष। राष्ट्रिय प्रकृति संरक्षण कोषका जागिरे उनले सौराहालाई औपचारिक कार्यथलो बनाए।

बस्ती पसेको जन्तुलाई सुरक्षित जंगल फर्काउन वा अध्ययन–अनुसन्धानका लगि नियन्त्रणमा लिन पहिले तिनलाई लठ्याउनुपर्छ। यस्तो प्रक्रियालाई 'डार्ट' भनिन्छ जसमा औषधि राखेको सिरिन्ज बन्दुकमा जोडेर जनावरमाथि प्रहार गरिन्छ। निसाना चुस्त भएको मान्छेले मात्र यो काम निपुणतापूर्वक सम्पन्न गर्न सक्छ। विष्णुबहादुर त्यसैका लागि कहलिए।

 कोषमा वरिष्ठ वन्यजन्तु प्राविधिकका रूपमा कार्यरत लामाले जागिरे जीवनबाट भर्खरै अवकाश पाएका छन्। यो अवधिमा सबैभन्दा बढी बाघ लठ्याए उनले। अनुसन्धानका लागि ३१ र गाउँ पसेका २५ बाघलाई डार्ट गरेको अनुभव सुनाउँछन्। 'सोही हाराहारीमा गैंडा पनि लठ्याएँ,' उनले भने,  'जंगली र घरेलु हात्तीलाई पनि निसाना लगाएको छु।'

विष्णुबहादुरको बाघसँग संगत बसेको २०२९ सालबाट हो। धादिङ, नौबिसे, तोपलाङमा २०१३ सालमा जन्मिएका उनी कीर्तिमान तामाङको बाघ तथा पर्यावरण नामक अनुसन्धानमूलक परियोजना टिममा सामेल भएर सौराहा आएका थिए। बाघ खोजेर अनुगमनका लागि रेडियोकलर जडान गर्ने काम थियो। सुरुमा अर्कैले डार्ट गर्थ्यो। हेर्दै जाँदा दुई वर्षपछि उनी आफैं गर्न सक्ने भए।

चितुवा, मृग र भालु पनि डार्ट गर्नुपर्थ्यो। चितवन मात्रै होइन, डार्ट गर्नकै लागि देशका कुनाकुना पुगे उनी। सुन्दा रोमाञ्चक लाग्ने यो काम कम्ती जोखिमपूर्ण भने छैन। मृत्युको मुखबाट फुत्किएका थुप्रै भोगाइ ताजै छन्, लामाको स्मृतिमा। एकपटक उनी जंगली हात्ती डार्ट गर्न कोसी टप्पु वन्यजन्तु आरक्ष पुगे। तर, कसोकसो हात्तीले चाल पाइहाल्यो। सिरिन्ज हान्न भ्याएकै थिएन, हात्तीले उल्टै लखेट्न थाल्यो। उनीहरू ज्यान जोगाउन तेजसँग दौडिए। 'लखेट्दै बगरमा ल्यायो। धन्न, बगरमा हात्ती दौडन सकेन र बाँच्यौं,' लामाले  सम्भि्कए।

लगभग १० वर्षअघि रामपुर कृषि क्याम्पस परिसरमा बाघ पस्यो। त्यसलाई नियन्त्रणमा लिन लामाकै टोलीलाई निम्तो आयो। लामा हात्तीमाथि बसेर बाघलाई 'डाट' निसाना हाले। औषधिको सिरिन्ज जसै बाघको जिउमा गाडियो, ऊ यसरी रन्थनियो कि हात्तीलाई नै झम्टियो। अचानकको आक्रमणपछि हात्तीले सन्तुलन गुमायो। लामा झन्डै भुइँमा बजारिएका! 'खसेको भए सिधै बाघमाथि, आक्रोशित बाघले के गर्थ्यो–गर्थ्यो,' उनले भने, 'धन्न, औषधिको असरले गर्दा केही बेरमा लट्ठियो।'

वन्यजन्तु मानिसजति बुद्धिमान् हुँदैनन्। असुरक्षा महसुस हुनासाथ आक्रमण गर्नु उनीहरूको स्वभावै हो। तर, जोखिम मोलेरै भए पनि प्रकृतिका यी नादान साथीहरूलाई जोगाउने कर्म पाएकोमा गर्व गर्छन् लामा। 'यो जनावर जंगल फर्काउन सकिँदैन भन्ने लागे स्थानीयले हानेर मार्थे होलान्। जंगल फर्काउन टोली आउँदै छ भनेपछि उनीहरूले पनि धैर्य गर्ने भए। धेरै वन्यजन्तु जोगिएर वासस्थल फर्केका छन्,' लामाले भने।

वन्यजन्तुसँग लामो संगत गरे पनि लामा अझै हच्किन्छन्। 'जन्तु भनेको जन्तु नै हो, उसको र हाम्रो स्वभाव भिन्न हुन्छ। हामी नै जोगिनुपर्छ,' उनले भने। थुप्रैचोटि बाघको सामुन्ने परिसकेका छन् लामा। त्यसलाई सिरिन्ज हान्न नजिकै नगई उपाय छैन। उनी जसै बन्दुक ताक्थे, बाघ जोडले घुर्थ्यो। यता लामाको मुटु डरले ढक्क फुल्थ्यो। बाघ घुर्दा नडराउन हरेकचोटि प्रयास गरे उनले तर कहिल्यै सकेनन्। 'नजिक जाँदा बाघ कराउँछ। त्यसले केही गरिहाल्ने होइन तर मन झसंग हुन्छ। हरेकचोटि मन दह्रो पारेर गएँ तर त्यत्तिकै फर्कन कहिल्यै सकिनँ,' लामाले भने।

वन्यजन्तुलाई उनीहरूकै स्वभावअनुसार वातावरण दिनुपर्ने उनको भनाइ छ। अहिले परिवारसहित सौराहा बस्दै आएका लामा १४ युवालाई डार्टको काममा निपुण बनाउने अभियानमा छन्। जागिरे जीवनबाट औपचारिक रूपमा बिदा भए पनि सिकाउने काम जीवनभर जारी राख्ने उनले बताए। 'वन र वन्यजन्तु भन्दै उमेर बित्यो, बाँकी जीवन पनि यसबाट टाढा रहन्नँ,' लामाले भने।

प्रकाशित: १६ श्रावण २०७३ ०२:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App