७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

ट्रम्पका नयाँ योजना, आप्रवासी रोक्ने, सीमामा पर्खाल लगाउने

वासिङ्ट- अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले कागजातविहीन युवा आप्रवासीसँग कुनैपनि नयाँ सम्झौतामा बन्देज लगाएको छ ।
यसैगरी ह्वाइट हाउसले गैरकानुनी आप्रवासीलाई अमेरिका प्रवेश गर्नबाट रोक्नका लागि पनि कठोर निर्णय लिएको छ । उसले गैरकानुनी आप्रवासीलाई अमेरिका प्रवेशमा रोक लगाउनका लागि मेक्सिकोको सीमामा पर्खाल लगाउने निर्णय गरेको छ ।
ह्वाइट हाउसले पर्खाल लगाउन, गैरकानुनी रुपमा अमेरिका प्रवेश गरेका आप्रवासीलाई तत्काल देश निकाला गर्न र हजारौं नयाँ आप्रवासी अधिकारी नियुक्त गर्न बजेटको माग गरिरहेको बिबिसीले उल्लेख गरेको छ ।
करिब ६ लाख ९० हजार आप्रवासीलाई संरक्षण गरिरहेको ओबामा–युग भनिने ‘ड्रिमर’ कार्यक्रम गत महिना ट्रम्पले अन्त्य गरेको घोषणा गरेका थिए । उनको पछिल्लो प्रस्तावलाई अमेरिकी कंग्रेसका नेतृत्वदायी डेमोक्र्याट्सहरुले अस्विकार गरेका छन् । उनीहरुले ट्रम्पले यस अघि युवा आप्रवासी जो अधिकांश मेक्सिको र ल्याटिन अमेरिकाबाट आएका छन् उनीहरुको अवस्थालाई सीमा पर्खालसँगको सम्झौतामा नल्याउने भनेर गरेको प्रतिबद्धताबाट पछि फर्केको आरोप लगाएका थिए ।
बाराक ओबामा अमेरिकाको राष्ट्रपति रहँदा सन् २०१२ मा लागू गरिएको ‘द डिफर्ड एक्सन फर चाइल्डहुड अराइभल्स् (डाका) कार्यक्रम’बाट लाभ लिएका वा संरक्षित भएका युवा आप्रवासीको भविष्यप्रति दोधार सिर्जना गर्दै मार्च महिनामा उक्त कार्यक्रम समापन हुँदै छ ।
अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले अमेरिकी संसद् कंग्रेसमा आइतबार पठाएको सिद्धान्तको सूचीमा विभिन्न विषय समावेश गरिएको छ । सूचीमा मेक्सिको र अमेरिकी सीमामा पर्खाल लगाउने, थप १० हजार आप्रवासी अधिकारी तथा एक हजार कानुन व्यवसायीलाई रोजगारी दिने, थप तीन सय ७० आप्रवासी न्यायाधीश तथा तीन सय संघीय अभियोजनकर्ता नियुक्त गर्ने, आप्रवासीलाई उनीहरुको विस्तारित परिवारका सदस्य अमेरिका ल्याउन प्रतिबन्ध गर्ने, गैरकानुनी आप्रवासीलाई काम दिनबाट रोक्न कम्पनीहरुलाई ‘इ–प्रमाणिकरण कार्यक्रम’ लागू गर्नेलगायतका रहेका छन् ।
‘डिफर्ड एक्सन फर चाइल्डहुड अराइभल्स्बाट फाइदा लिइरहेकालाई सम्बोधन गर्दै राष्ट्रपति कार्यालयले अध्ययन गरेर ल्याएको यस सुधारको कार्यक्रमलाई कानुनको कुनैपनि भागमा समावेश गरिनुपर्छ,’ राष्ट्रपति ट्रम्पले सूचीसहित कंग्रेसलाई लेखेको पत्रमा जनाइएको छ ।  
सुधारका कार्यक्रम डाकाबाट फाइदा लिएकाको कानुनी तथा आर्थिक असरलाई कम गर्नका लागि आवश्यक रहेको ट्रम्पका संसदीय मामिलासम्बन्धी निर्देशक  मार्क सर्टले बताएका छन् । ट्रम्पकै रिपब्लिकन पार्टीको बहुमत रहेको अमेरिकी कंग्रेसमा गत महिना उनले ड्रिमर्सलाई सहयोग गर्न संसद्समक्ष नयाँ कानुन स्वीकार गर्न ६ महिना रहेको बताएका थिए ।
‘ड्रिमर्सका लागि अभिसाप हुने सूची ल्याएर उनीहरुलाई सहयोग हुन्छ भनेर प्रशासनले सोचेको छ भने त्यो गैरजिम्मेवार कदम हो । यस्तो कदमले आप्रवासी समुदाय र अधिकांश अमेरिकी नागरिकलाई फाइदा पुग्दैन,’ हाउस अफ रिप्रेजेन्टेटिभ्स्का डेमोक्र्याट्स नेता न्यान्सी पेलोसी र सिनेटका डेमोक्र्याट्स नेता चुक स्कुमरले संयुक्त विज्ञप्ति निकाल्दै बताएका छन् । ‘राष्ट्रपति कार्यालयले जारी गरेको सूचीमा पर्खाल लगाउने विषय पनि समेटिएको छ जुन सम्झौताबाट बाहिरको विषय हो । यदि राष्ट्रपति ड्रिमर्सलाई संरक्षण गर्न गम्भीर थिए भने उनका कर्मचारीले यस्तो काम अगाडि बढाउँदैन थिए,’ विज्ञप्तिमा भनिएको छ । गत महिना स्कुमर र पेलोसीले राष्ट्रपति ट्रम्पलाई भेट्दा पर्खाल लगाउन लाग्ने बजेट डाका सम्झौतासँग नजोडिने बताएका थिए ।

प्रकाशित: २४ आश्विन २०७४ ०४:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App