८ वैशाख २०८१ शनिबार
राजनीति

सत्याग्रही केसी सडकमा

काठमाडौं- आठपटक आमरण अनशन बस्दा पनि माग सुनुवाइ नभएपछि मेडिकल शिक्षा क्षेत्रका विकृतिविरुद्ध लड्दै आएका त्रिवि शिक्षण अस्पतालका वरिष्ठ चिकित्सक डा. गोविन्द केसी अभियानको नेतृत्व लिँदै सडकमा आएका छन्।

यसपटकको उनको अभियान पूर्वसम्झौता कार्यान्वयनमा बाधक बनिरहेका अख्तियार दुरुपयोग अनुसन्धान प्रमुख लोकमानसिंह कार्कीविरुद्ध केन्द्रित छ।

आठपटकमा ८२ दिन आमरण अनशन बसिसकेका डा. केसी पछिल्लो अनशन तोडेको पाँचौं दिन सडकमा आएका हुन्। आठौं अनशनको पन्ध्रौं दिन डा. केसीसँग भएको सम्झौतामा अख्तियारप्रमुख कार्कीविरुद्ध महाभियोगको प्रक्रिया संसद् प्रवेश गरिसकेको उल्लेख भए पनि संसद्मा यो विषय अगाडि नै नबढ्ने संकेत देखिएपछि शनिबार कार्कीविरुद्ध प्रदर्शन आह्वान गरिएको हो।

उपचारमा संलग्न चिकित्सकले शरीरमा सोडियम, पोटासियम अझ नर्मल अवस्थामा आइसकेको भन्दै अस्पताल नछाड्न सुझाए पनि डा. केसीले मानेनन्। अनशन र त्यसपछिका उपचारका क्रममा स्लाइन दिन र रगत झिक्न नशा खोलिएको ठाउँ (आइभिक्यानुला) समेत नझिकिसक्दै केसी शनिबार अस्पतालकै शऒ्ढयाबाट सवारीसाधन चढेर प्रदर्शनस्थल पुगे। 

सरकारसँग भएका सम्झौता कार्यान्वयनका लागि निरन्तर दबाब दिन गठित 'डा. केसी ऐक्यबद्धता गठनबन्धन' ले 'हिँडौँ डा. केसीसँगै' भन्ने प्रदर्शन शनिबारलाई आह्वान गरेको थियो। प्रदर्शनमा डा. केसीसँगै माइतीघरदेखि नै खाली खुट्टा बानेश्वरसम्म हिँड्ने भनिएपछि उनी पूर्ण रुपमा नतंग्रिइसकेकाले बानेश्वर पुग्ने समयमा मात्रै र्‍यालीमा सामेल भएका थिए।

त्यसअघि हजारौं शुभेच्छुक एवं सर्वसाधारण माइतीघरबाटै विभिन्न ब्यानर, प्लेकार्ड बोकेर नारा लगाउँदै बानेश्वरसम्म यात्रा गरेका थिए। ठूलो संख्यामा युवा सहभागी र्‍यालीमा 'टुलुटुलु हेरेर भ्रष्टाचार अन्त्य हुँदैन', 'चारैतिर प्रस्ट छ, अख्तियारमै भ्रष्ट छ', 'बोलबोल सांसद बोल, भ्रष्टाचारीको जालो खोल', 'संसद्को घडीमा लोकमानको ब्याट्री', 'एक, दुई, तीन, चार, बन्द गर भ्रष्टाचार', 'डाक्टर केसी एक्लो छैनौं, हामी तिम्रो साथ छौं' जस्ता नारा लगाएका थिए।

र्‍याली बानेश्वर पुग्ने समयमा डा. केसी सामेल भएका थिए। त्यसको केही समयमा र्‍याली कोणसभामा परिणत भएको थियो।

प्रदर्शनकारी पुगिनसक्दै डा. केसी सडकमा बसिसकेका थिए। केही बेरपछि पुगेका सहभागीसमेत सबै सडकमै बसेका थिए।

कोणसभा सुरु हुनै लाग्दा सिमसिम पानी पर्न सुरु गरेको थियो। सो क्रममा विद्यार्थीले छाता ओडाइदिन खोज्दा नांगो सडकमा पलेटी मारेर बसेका केसीले पर्दैन भन्दै हटाएका थिए। पानीमा रुझ्दै उनले सहभागीलाई हात उठाएर अभिवादन गरिरहे।

सुरुमै कार्यक्रमस्थलमा रामेश, रायनले गाएको 'गाउँगाउँबाट उठ, बस्तीबस्तीबाट उठ' बोलको चर्चित गीत बजाउँदा उपस्थितले स्वर र तालीले साथ दिएका थिए। डा. केसीले पनि बिस्तारै ताली बजाए।

सहभागीका तर्फबाट रञ्जु दर्शाना, सिर्जना विश्वकर्मा, कलाकार अस्मिना रञ्जित र गठबन्धनका तर्फबाट डा. जीवन क्षत्रीको सम्बोधनपछि कार्यक्रम सञ्चालकले डा. केसीलाई बोल्ने समय दिए। उद्घोषक ठूलो स्वरमा 'अघि बढ डाक्टर केसी, हामी तिम्रो साथ छौं' भन्दै माइकबाट कराएका थिए।

सहयोगीले पलेटी मारेर बसेको ठाउँमा माइक पुर्‍याइदिएपछि डा. केसीले बसेरै सम्बोधन सुरु गरे। सुरुमै आफूलाई हजारांै समर्थकबीच पाउँदा गौरव महसुस गरेको भन्दै उनले देशमा आइपरेको प्राकृतिक विपत्तिको प्रसंगबाट भनाइ सुरु गरेका थिए। उनले मृत्यु भएकाप्रति श्रद्धा व्यक्त गर्दै विस्थापित र पीडितसम्म राहत पुर्‍याउन सरकारको ध्यानाकर्षण गराए।

पुरानै शैलीमा 'के छ भनेदेखि' भन्ने शब्दबाट सुरु गरेका केसीले उपस्थितलाई आफू स्वास्थ्य र चिकित्सा शिक्षाको सुधारका लागि धेरै वर्षदेखि लडिरहेको प्रसंग कोट्ट्याए।

'गुणस्तरीय शिक्षा होस्, सबै नेपाली चाहे त्यो स्याङ्जा, हुम्ला वा सप्तरीको होस्, सबैको गुणस्तरीय सेवामा पहुँच होस् र सबै विद्यार्थीको गुणस्तरीय, निःशुल्क, सस्तो र सुलभ शिक्षामा समान पहुँच होस् भन्नका लागि हो,' उनले भने, 'गुणस्तरीय शिक्षामा पैसाकै कारण जेहनदार विद्यार्थीलाई बाधा नपरोस्,' डा. केसीले भने।

संविधानले दिएको नैसर्गिक अधिकारकै लागि आफ्नो लडाइँ भएको भन्दै डा. केसीले पटकपटक लड्ने, सम्झौतामा टुंगिने र उल्लंघनसमेत हुने गरेको भन्दै यसपटकको सम्झौता पनि उल्लंघन हुने संकेत देखिइसकेको सुनाए।

यसमा राजनीतिक नेतृत्वको गैरजिम्मेवारी र संवेदनहीनता प्रमुख कारण भएको उनको भनाइ थियो। 'यो दलहरुको भ्रष्ट मानसिकताका कारण भएको हो, यसलाई उल्लंघन गर्न त अवश्य हामी दिँदैनौं,' उनले भने।

अब राजनीतिक नेतृत्व पक्षले देशमा लुटतन्त्र चलाइरहेको अवस्थामा देशमा अर्को 'नायक' आएको बताए। नजिकै उपस्थितले उनलाई नायक भन्दै ती नायकबारे प्रस्ट्याउन खोज्दा नजिकै उपस्थितले 'खलनायक' भन्दै  सम्झाएका थिए र पनि उनले नायक नै भनौं न भन्दै 'भ्रष्टाचारका नायक' को उपमा दिएपछि सहभागीले ताली बजाएका थिए।

उनले भ्रष्टाचार निवारण त कली युगमा सम्भावना नदेखिएको भन्दै न्यूनीकरण गर्ने दायित्व पाएका व्यक्ति नै देशको सबैभन्दा भ्रष्ट व्यक्ति भएको आरोप लगाए। उनले अख्तियार प्रमुखले आफ्नो कार्यक्षेत्रबाहिर गएर अधिकार दुरुपयोग र हस्तक्षेप गरेको बताए।

'निजी स्वार्थ, आसेपासे र नातेदारका लागि कार्यक्षेत्रबाहिर गएर अधिकार दुरुपयोग गरिरहेका छन्,' उनले थपे, 'त्यो मात्र होइन, पूरै सन्त्रासको स्थिति पैदा गरेका छन्।'

प्रजातन्त्र आएको २७ वर्षमा यति धेरै सन्त्रास महसुस कहिल्यै र कसैबाट नभएको भन्दै डा. केसीले आतंकको स्थिति देखाएर अख्तियारप्रमुखले महाभ्रष्ट, तानाशाही र समानान्तर सत्ता चलाइरहेको आरोप लगाए।

'राजनीतिक नेतृत्व यति भ्रष्ट र गैरजिम्मेवार र संवेदनहीन नभएको भए यो परिस्थिति आउने थिएन,' डा. केसीले भने, 'बिडम्बना के छ भने सरकार ढाल्न ५१ प्रतिशत भए पुग्छ, उन (लोकमान) लाई ढाल्न दुईतिहाइ चाहिन्छ।'

डा. केसीले यसपटक पनि तानाशाह नहटाए त्यसबाट अर्को तानाशाही जन्मिने बताए। 'अर्को तानाशाही जन्मिन नदिन पनि यो तानाशाह ढाल्नुपर्छ,' उनले भने।

यसो हेर्दा संविधान समाजवादउन्मुख रहेको र दलमा पनि कांग्रेसले समाजवाद र कम्युनिस्टले साम्यवाद भन्ने गरे पनि गाँस, बास, शिक्षा, स्वास्थ्यका विषय सुलभ नभएको डा. केसीले जनाए। 'यी सबै भुँडीवाद हुन्,' उनले भने, 'कुनै पार्टी काम छैन, जनताको हकहितविरुद्ध आफ्नै भुँडी भरिराखेका छन्।'

दलहरु यही कारण गैरजिम्मेवार भएर सुतेको जस्तो बहाना गरिरहेको उनले बताए। 'निदाएको जस्तो बहाना गरेर बसेकालाई उठाउन गाह्रो हुन्छ, सुई दियो भने त उठ्नै पर्छ,' उनले भने, 'पानी खन्याएर, बोलाएर हुँुदैन, सुई नै हाल्नुपर्छ अनि उठ्छन् यिनीहरु।'

डा. केसीले यसको प्रमुख कारण दलमा पुरानै नेतृत्व हाबी हुनु रहेको भन्दै अब नयाँ पुस्ताले नेतृत्व लिनुपर्ने समय आएको बताए। 'युवाले सक्छन् भन्ने देखाइसकेका छन्,' उनले भने।

उनले सांसदहरुले आफूलाई लोकतन्त्रको रक्षक भन्ने गरेको भन्दै त्यस्तो हो भने लोकमानतन्त्रको अन्त्य गर्न चुनौती दिए। 'नत्र सांसदलाई कुर्सीमा बस्ने नैतिकता हुन्न, राजीनामा गर, अर्को योग्य व्यक्ति आउँछ र लोकमानतन्त्र अन्त्य गर्छ,' उनले चुनौती दिए।

केही बेर बोलेपछि उनले आफूलाई असहज महसुस भएको भन्दै धन्यवाद दिएर आफू प्रत्येक कदममा एक कदम अगाडि नै हुने भन्दै मन्तव्य पूरा गरेका थिए।

यसअघि युवाका तर्फबाट सम्बोधन गर्दै दशर्नाले डा. केसीले हरेक नेपालीलाई छुने गरी चेतनाको दियो जलाइदिएको भन्दै शान्ति र समृद्ध नेपाल निर्माणमा युवा अगाडि बढ्ने बताइन्। अर्का किशोरी सिर्जना विश्वकर्माले नेता र प्रशासकसँग आफूहरुले पनि भ्रष्ट आचरण छाड्नुपर्ने बताइन्।

गठबन्धनका तर्फबाट डा. क्षत्रीले नेताहरुले राजतन्त्रको सिनो बोकेर हिँडेको भन्दै त्यसलाई छाड्न आग्रह गरे। क्षत्रीले अहिले यो सिनो बोक्नेमा सबैभन्दा अग्रमोर्चामा पुष्पकमल दाहाल देखिएको भन्दै उनको राजनीतिक भविष्य यही मुद्दाले निर्धारित हुने चेतावनी दिए।

आइतबार सम्पत्ति विवरण मागिने

प्रमुख आयुक्त भएको तीन वर्ष भइसक्दा पनि सम्पत्ति विवरण नबुझाएका अख्तियारप्रमुख कार्कीको सम्पत्ति विवरण माग गर्दै युवाले आइतबार अख्तियारमा दर्जनौं निवेदन एकैपटक बुझाउने भएका छन्।

११ बजे अख्तियारमा जम्मा भएर एउटै बेहोराको निवेदन भरेर बुझाउने कार्यक्रम रहेको गठबन्धनका संयोजक डा. जीवन क्षत्रीले बताए। क्षत्रीका अनुसार सूचनाको हकसम्बन्धी ऐन २०६४ का आधारमा अख्तियारका सूचना अधिकारीमार्फत प्रमुख आयुक्त र आयुक्तहरुको सम्पत्ति विवरण माग्ने कार्यक्रम राखिएको हो।

डा. केसीको स्वास्थ्यमा अचानक समस्या

डाक्टरका आग्रहविपरीत सडक प्रदर्शनमा सहभागी डा. केसीको स्वास्थ्यमा अचानक समस्या देखिएको छ। सम्बोधन गरेर फर्कने क्रममा ट्याक्सीमा अत्यधिक रिंगटा चलेको भन्दै आँखा बन्द गरेर अस्पताल पुगेका केसीको अस्पताल पुगेर जाँच्दा स्वास्थ्य सूचक जोखिम अवस्थामा देखिएका थिए।

उनको हार्टबिट १३४ हुनुका साथै रक्तचाप ८०/४० पुगेको थियो। उनलाई तत्काल मोनिटरमा जोडेर लामो समय आइभी फ्लु र औषधि दिएपछि बिस्तारै जोखिम कम भएको थियो। साँझसम्म पनि उनको रक्तचाप, हार्टबिट नर्मल भएको छैन। 'मनले सक्छस् भनेर गएको, ज्यानले त्यति साथ दिएन,' उनले साँझ नागरिकसँग भने, 'अब केही दिन आराम गरेर फेरि लाग्छु।'

प्रकाशित: १६ श्रावण २०७३ ०२:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App