७ वैशाख २०८१ शुक्रबार
समाज

डा. गोविन्द केसी अस्वस्थ

काठमाडौं- पाँच दिनदेखि अनशनरत डा.गोविन्द केसीको श्वासप्रश्वासमा समस्या देखिएपछि सोमबारदेखि अक्सिजन दिन थालिएको छ । चिकित्सकले केसीको रक्तचाप घट्नुका साथै अन्य स्वास्थ्य समस्या पनि बढ्दै गएको बताएका छन् । सास फेर्न अप्ठेरो भएका कारण शरीरमा अक्सिजनको मात्रा घटेपछि उपचारमा संलग्न चिकित्सकहरूले उनलाई अक्सिजन दिन थालेका हुन् । अस्पताल प्रशासनले सोमबार गठन गरेको उपचार टोलीले केसीको उपचार सुरु गरेको छ ।

उपचार टोलीका प्रमुख डा. प्रदीपकृष्ण श्रेष्ठद्वारा जारी विज्ञाप्तिमा रक्तचाप घटेको र पिसाबमा एसिटोन पोजेटिभ देखिएको उल्लेख छ । ‘एसिटोन पोटेटिभ देखिनुले शरीरमा रहेको ग्लुकोज सकिएको र अब सञ्चित बोसो पग्लिन थालेको संकेत गर्छ,’ विज्ञाप्तिमा उल्लेख छ । सञ्चित बोसो टुक्रिएर शरीरले खानाको रूपमा प्रयोग गर्ने र सो पनि सकिएपछि मांसपेशी टुक्रिन थाल्ने चिकित्सकहरू बताउँछन् । शरीरमा सञ्चित ग्लुकोज सकिएकै कारण डा. केसी निकै गलेको निरन्तर रिंगटा लाग्ने, टाउको र छाती दुःख्ने, मांसपेशी बाउँडिने समस्या बढ्दै गएको छ ।
यसअघिको अनशनबाट नतग्रिँदै पुनः अनशन सुरु गरेका डा. केसीको यसपटक सुरुदेखि नै समस्या देखिन थालेको चिकित्सकहरू बताउँछन् । उपचार टोलीमा डा. प्रदीपकृष्ण श्रेष्ठ, डा. दिव्यासिंह शाह, डा. सुवाष आचार्य, डा.जेन्टलसुन्दर श्रेष्ठ छन् । टोलीमा नर्सिङतर्फबाट तारा कार्की र रेजिडेन्टहरू डा. सुमन बराल र डा. सन्तोष क्षेत्री छन् ।
स्वास्थ्य बिग्रँदै गए पनि डा. केसीले भने विद्यार्थी र जनतामुखी चिकित्सा शिक्षा विधेयकसहित सुधारका अन्य सबै माग पूरा नहुँदासम्म अनशन नछोड्ने अडान दोहो¥याएका छन् । उनले चिकित्सा शिक्षा सुधारका लागि शुल्क निर्धारण, विभिन्न वेथिति र अनियमिततामा संलग्न पदाधिकारीमाथि कारबाहीको मागसमेत राखेका छन् । अघिल्ला थुप्रै अनशनमा सहमति भइसके पनि हालसम्म कार्यान्वयन नभएको चिकित्सा शास्त्र अध्ययान संस्थान (आइओएम)मा रहेको र हाल त्रिभुवन विश्वविद्यालयले खोसेको शुल्क, सिट र सम्बन्धनसम्बन्धी अधिकार फिर्ताको माग यसपटकको अनशनमा समेत उठाएका छन् ।
स्वास्थ्य विज्ञान प्रतिष्ठान बनेको धेरै वर्ष बितिसक्दा पनि हाल स्नातक तहको पढाइ सुरु नभएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल पठनपाठन सुरु गर्न तथा कैलाली र दाङका सरकारी मेडिकल कलेजको काम शीघ्र अघि बढाउनसमेत डा. केसीले माग गरेका छन् ।

प्रकाशित: २४ आश्विन २०७४ ०४:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App