६ वैशाख २०८१ बिहीबार
राजनीति

सरकारलाई राप्रपाको समर्थन

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीले शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारलाई समर्थन गरेकोे छ । राप्रपाका उपाध्यक्ष बुद्धिमान तामाङ र प्रमुख सचेतक दिलनाथ गिरीले सोमबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा गई राप्रपाले सरकारलाई समर्थन गरेको पत्र बुझाएका हुन ।
त्यसअघि राप्रपाले संसद् सचिवालयमा सरकारलाई समर्थन गरेको पत्र दर्ता गराएको थियो । सोमबार बिहान बसेको राप्रपा कार्यसम्पादन समितिको बैठकले सरकारलाई समर्थन गर्ने निर्णय गरेको थियो । माओवादी केन्द्र बाहिरिए प्रधानमन्त्री देउवा अल्पमतमा पर्ने र त्यस स्थितिमा चुनाव अनिश्चित हुने भएकाले निर्वाचन सुनिश्चितताका लागि सरकारलाई समर्थन गर्ने निर्णय भएको राप्रपाका सहप्रवक्ता मोहन श्रेष्ठले बताए ।
सोमबार बिहानै दुई दलबीच आन्तरिक सहमति पत्रमा हस्ताक्षर गर्ने तयारी भएपनि आन्तरिक विवादका कारण दिउँसो मात्र सहमति भएको थियो । दुई दलबीच पूर्व सहमतिमा केही असमझदारी देखिएपछि राप्रपा उपाध्यक्ष तामाङले सहमति जुटाउन भूमिका लेखेका थिए । राप्रपा उपाध्यक्ष तामाङ प्रमुख सचेतक गिरीलाई साथै लिएर प्रधानमन्त्री देउवालाई भटेपछि मात्र दुई दलबीच सहमति जुटेको थियो । त्यसपछि मात्र राप्रपाले सरकारलाई समर्थन गरेको पत्र संसद् सचिवालयलाई सुझाएको स्रोतको दाबी छ ।
दिउँसो मात्र त्प्रधानमन्त्री शेरबहादुर देउवा र राप्रपा अध्यक्ष कमल थापबीच भेटवार्ता भएको थियो । वार्तामा राप्रपा सरकारमा सहभागी हुने सहमति भएको स्रोतले बतायो । राप्रपाका प्रमुख सचेतक दिलनाथ गिरीले पार्टीले सरकारलाई समर्थन गरेपछि आफूहरू सरकारमा जाने सम्भावना रहेको बताए । तर मन्त्रालय बाँडफाँट भने टुंगो नलागेको स्रोतले बतायो । सहप्रवक्ता श्रेष्ठले नेपाली कांग्रेस र राप्रपाबीच भद्र सहमति भएको बताए । सरकारमा जानेबारेमा भने सोमबारको छलफलमा टुगो नलागेको उनको भनाइ  छ ।
प्रधानमन्त्री देउवा र थापाबीच आइतबार आगामी चुनावमा सिट बाँडफाँटबारे कुराकानी भएको थियो । थापाले गृहजिल्ला मकवानपुरमा दाबी गरेको स्रोतको भनाइ छ । सोमबार कांग्रेससँग भएको छलफलमा राप्रपाले प्रत्यक्षमा सात सिट र समानुपातिकमा ३२ सिटमा सहमति गरेको राप्रपाका एक नेताले बताए । यसबारेमा दुवै पार्टीका नेताले औपचारिक रूपमा  केही बताएका छैनन् ।  
प्रधानमन्त्री देउवाले सिट बाँडफाँटबारे राप्रपाका नेताहरूसँग सोमबार छुट्टै कुराकानी गरेका थिए । सिट बाँडफाँटबारे देउवाले राप्रपा प्रजातान्त्रिकसँग पनि छुट्टै छलफल गर्ने तयारी गरेको सो दलका नेता विक्रम पाण्डेले बताए । यसैगरी देउवाले फोरम नेपाल र राजपाका नेताहरूसँग पनि छुट्टै कुराकानी गर्ने तयारी गरेको बालुबटार स्रोतले जनाएको छ ।

 

प्रकाशित: २४ आश्विन २०७४ ०२:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App