५ वैशाख २०८१ बुधबार
समाज

मकवानपुरमा बस दुर्घटना, नौ जनाको मृत्यु, ३२ जना घाइते

चितवन- मकवानपुरको मनहरीमा गएराति दुई यात्रु बस एक आपसमा ठक्कर खाँदा नौजनाको ज्यान गएको छ। सो घटनामा ३१ जना यात्रु घाइते भएको मकवानपुर प्रहरीले जानकारी दिएको छ। मकवानपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) बामदेव गौतमका अनुसार छजनाको घटना स्थलमै निधन भएको हो।

निधन हुनेमा एकजना बालिका, दुईजना महिला र अरु पुरुषहरु छन्। टिकटका आधारमा चार जनाको नाम खुले पनि मृतकको बारेमा थप विवरण प्राप्त नभएको डिएसपी गौतमले बताए। काठमाडौंबाट उदयपुर गाइघाट जाँदै गरेको ना ५ ख २०५५ नम्बरको बस र काकडभिट्टाबाट काठमाडौं आउँदै गरेको ना ५ ख ४०६४ नम्बरको अर्को यात्रुबस एक आपसमा ठक्कर खाएको उनले जानकारी दिए।

पूर्व-पश्चिम महेन्द्र राजमार्गको मनहरी-३, रमनटारमा गएराति करिब साढे १ बजे दुर्घटना भएको थियो। दुवै बसका चालक घाइते अवस्थामा रहेका कारण दुर्घटनाको विषयमा थप बुझ्न बाँकी नै रहेको डिएसपी गौतमले बताए। मृतकमध्ये छजनाको बसमा च्यापिएर घटनास्थलमै ज्यान गएका हो। हेटौंडा चुरे हिल अस्पतालमा उपचार गराउन ल्याइएकामध्ये अरु तीनजनाको ज्यान गएको डिएसपी गौतमले बताए।

बाँकी ३२ जना घाइतेको पनि हेटौंडाको चुरेहिल अस्पतालमै उपचार हुँदै गरेको डिएसपी गौतमले जानकारी दिए। अघिल्लो वर्ष मकवानपुरमा एकपछि अर्को ठुला ठुला दुर्घटना भएका थिए। यात्रु बस र मालवाहक गाडीहरुमा प्रहरीले विषेश निगरानी सुरु गरेपछि कम हुँदै गएको दुर्घटना फेरि बल्झिएको छ।

प्रकाशित: १६ श्रावण २०७३ ०१:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App