७ वैशाख २०८१ शुक्रबार
अन्य

एकनाथको अन्तर्राष्ट्रिय परिवार : लामो भाषण गर्ने बानी श्रीमतीले छोट्याइदिइन्

–अनिल यादव

नेपाल परिवार दलका अध्यक्ष एवम् सासंद एकनाथ ढकालको परिवार अन्तर्राष्ट्रिय छ। उनकी पत्नी ब्लेसी गाडन ढकाल फिलिपिन्सकी हुन्। उनीहरुका ६ जना छोरीमात्रै छन्। छोरीहरु  स–साना भएपनि अधिकांशले चारभन्दा बढी देशका भाषा बोल्छन्। घरभित्र अंग्रेजी, नेपाली, फिलिपिन्स, कोरियन, स्पेनिस, हिन्दी र फ्रेन्च भाषा बोल्न सक्छन्। एकनाथलाई लाग्छ, ‘विश्व एउटा घर हुँदैछ ।’ तर उनको परिवार हेर्दा लाग्छ, ‘उनीहरुको घर अब विश्व हुँदैछ ।’

०००
ब्लेसी : नमस्कार आमा ।
आमा : ओहो, मगर्नी पो रहिछ।
ब्लेसी :ओके, ओके ।

ब्लेसी र उनकी सासु आमाबीच पहिलो भेटमा भएको संवादको अंश हो यो। जनजाति अनुहारको झल्को आउने ब्लेसीलाई देख्नासाथ एकनाथकी आमालाई लागेको थियो, उनी मगर समुदायकी हुन् । न एकनाथकी आमा ब्लेसीको भाषा बुझ्थिन्, न उनी नेपाली बुझ्थिन् । संवादमा समस्या त हुने नै भयो। ‘उहाँले जे–जे भनेपनि म केही बुझ्दिन थिएँ, त्यसैले ‘ओके–ओके’मात्र भनेर जवाफ दिइरहन्थेँ,’ ब्लेसीलाई सासुआमासँगको त्यो पल सम्झँदा अहिले रमाइलो लाग्छ।

नेपाललाई पुरुषप्रधान मुलुकका रुपमा चिनिन्छ तर फिलिपिन्समा महिलाको सहभागिता पुरुषको भन्दा बलियो मानिन्छ ।नेपाल हिमाली सभ्यता र फिलिपिन्स सामुन्द्रिक सभ्यता भएको देश हो । नेपालमा अग्लो हिमाल छ, फिलिपिन्समा गहिरो समुन्द्र । उनीहरुको जोडीलाई देख्दा लाग्छ, यो अग्लो र गहिरोको गज्जबको तालमेल हो। दुई फरक संस्कृति, फरक भेषभूषा, फरक भाषा भएका देशका नागरिक कसरी एक भए ? कसरी यी दुईको जोडी बाँधियो त ? कहानी रोचक छ। भदौ महिनाको दोस्रो साता काठमाडौं, महाराजगञ्जस्थित उनीहरुको घरमा पुग्दा पूरै परिवार सजिएर बसेको थियो । हाल फिलिपिन्समा रहेकी एक छोरीबाहेक अरु सबै जना नागरिक परिवारसँग फोटो खिचाउन र कुराकानी गर्न तम्तयार थिए । एकनाथ र ब्लेसीले आफ्नो जोडी र परिवारबारे खुलेर कुरा गरे ।

तीनपल्ट बिहे
सन् १९९९ तिरको कुरा हो । एकनाथ र ब्लेसी दुवै युनिभर्सल पिस फेडेरेसनमा आबद्ध थिए । विश्वव्यापी शान्ति अभियानमा लागेका थिए। जसरी घरमा अभिभावकको व्यवस्थापनमा बिहे गरिन्छ त्यसैगरी फेडेरेसनले अभियानमा आबद्ध भएका कार्यकर्ताबीच भेट गराउँछ अनि बिहे गराइदिन्छ। अन्तर्राष्ट्रिय बिहेका लागि तयार हुनेहरु यो अभियानमा सहभागी हुन्छन् । एकनाथ र ब्लेसी यस्तै एउटा जोडी हो । एकनाथ फिलिपिन्समा अध्ययनका लागि गएका बेला फेडरेसनकै कार्यक्रममा उनीहरुको पहिलो भेट भएको थियो । भेट हुनुअघि नै उनीहरुबीच चिठ्ठी आदान–प्रदान हुन्थ्यो । ‘त्यतिबेला अहिलेको जस्तो इन्टरनेट थिएन, इमेल पनि भर्खरभर्खर सुरु भएको थियो,’ एकनाथ सम्झन्छन्, ‘फिलिपिन्समा टेलिफोन गर्न पनि महँगो शुल्क लाग्थ्यो । विद्यार्थी मान्छे पैसा हुँदैनथ्यो । त्यसैले हामी चिठ्ठीमै कुरा गथ्र्यौं । चिठ्ठी उताबाट यता आउन पनि एक महिना लागिदिन्थ्यो ।’ चिठ्ठी आदानप्रदान भए पनि उनीहरुबीच त्यतिबेला गहिरो प्रेम स्थापित भएको थिएन । सामान्य भावनाको मात्र आदानप्रदान हुन्थ्यो । ‘हाम्रो बिहे सामान्य बिहे नभएर एउटा मिसन थियो, हामी विश्व शान्ति, भातृत्व र मेलमिलापका लागि बिहे गर्दैथियौँ,’ एकनाथ विगतमा फर्किए, ‘हामीबीच चिठ्ठीमा पनि प्रेमको कुरा त्यति हुन्थेन। व्यक्तिगत जीवनलाई मात्र नभएर सामाजिक जीवन र मिसनलाई अघि बढाउनुपर्छ भन्ने खालका कुरा हुन्थे ।’

भेट हुनुभन्दा अघि नै दुवैले भविष्यमा बिहे गर्ने मानसिकता बनाइसकेका थिए। ‘हामी भविष्यमा बिहे गर्छौं भन्ने एक खालको माइन्ड सेट भइसकेको थियो,’ ब्लेसीले सुनाइन्, ‘जब पहिलोपल्ट हामी भेट्यौँ सम्बन्धलाई कसरी अघि बढाउने भन्नेतिर नै फोकस्ड भयौँ । हामी दुवै फरक देश, फरक भाषा, फरक संस्कृति र समुदायबाट थियाैं, हाम्रो मानसिकता पनि फरक थियो । त्यसैले बिहे सहज त थिएन तर हामी गर्ने भइसकेका थियौँ ।’

भेट भएको एक वर्षपछि, सन् २००० मा उनीहरुको बिहे भयो । बिहे पनि तीनपल्ट भयो । सर्वप्रथम अभियानको तर्फबाट कोरियाको रंगशालामा भयो । जहाँ एक सयभन्दा बढी देशबाट सहभागीले अन्तर्राष्ट्रिय बिहे गरेका थिए । ‘तर त्यो बिहे इन्गेजमेन्टजस्तो थियो, कानुनी प्रक्रिया नगरी सँगै बस्न मिल्थेन,’ एकनाथले भने, ‘त्यहाँ बिहे गरेपछि दोस्रोपल्ट हामीले ब्लेसीको क्याथोलिक संस्कारअनुसार फिलिपिन्समा गएर बिहे गर्यौँ अनि नेपालमा मेरो घर पुगेर हिन्दु संस्कारअनुसार बिहे ग¥यौँ ।’

सहज थिएन बिहे
एकनाथ ब्राह्मण परिवारका हुन् । उनको पुख्र्यौली घर गोरखाको बोर्लाङ हो । उनका जिजुबाजेहरु गोरखामा राजा पृथ्वीनारायण शाहका पुरोहित थिए । जतिबेला उनले बिहे गरे, त्यतिबेला अर्को जातिसँग बिहे गर्ने कुरा प्रायः असम्भव नै हुन्थ्यो। ‘झन् विदेशको मान्छेलाई त छुट्टै रुपमा हेरिन्थ्यो, स्वीकार गर्ने कुरै हुन्थेन,’ एकनाथ सुनाउँछन्, ‘त्यसैले मैले सुरुमा त भनिनँ । पछि घरमा लिएर गएपछि छोराले ल्याइहाल्यो भनेर आमाले स्वीकार्नुभयो अनि बिहे गरिदिनुभयो ।’

त्यसो त एकनाथलाई सानोछँदादेखि नै बिहेको दबाब थियो । आठ वटा दिदीहरुजन्मिएपछि उनी ९औँ सन्तानका रुपमा जन्मिएका थिए। ‘त्यसैले बुबा देहान्तअघि मेरो बिहे हेर्न चाहनुहुन्थ्यो, झुक्याएर पनि बिहे गराउने प्रयास भएको थियो,’ एकनाथले भावुक हुँदै भने,‘तर त्यसो हुन सकेन। म १६ वर्षको छँदा बुबा बित्नुभयो। त्यतिबेला म भर्खरै एसएलसीअघिको टेस्ट परीक्षा दिँदै थिए। मैले क्रिया बस्दाबस्दै सेतो लुगा लगाएर कम्मल ओडेर एक घण्टा हिँडेर परीक्षा दिएको थिएँ । छोराले बुबाको क्रिया गर्न पाउँछ भनेर मेरो व्रतबन्ध पनि ८ वर्षको उमेरमै गरिएको थियो।’

यो त भयो एकनाथको परिवारको कुरा । उता फिलिपिन्स ब्लेसीको घरमा पनि कम तनाव भएन !कोरियामा ‘मास वेडिङ’ सकिएपछि दुवैजना फिलिपिन्स पुगे।ब्लेसीले एकनाथलाई माइती चिनाउन लगिन् । ब्लेसीको परिवार पनि एकदमै संस्कारी थियो। उनको घर पुग्न फिलिपिन्सको मनिलाबाट हवाई जहाजमा एक घण्टा लाग्थ्यो । एकनाथलाई लिएर ब्लेसी माइत पुग्दा बुबा रिसाइरहेका थिए । एकनाथसँग निहुँ खोज्न थाले, कहाँको केटो आयो ? दुईचार दिन घुमाएर छाड्ने पो हो कि ! बिहे गरिसकेको भन्दा पनि उनले पत्याएनन् । धन्न उनीहरुले विवाहको चिनो लिएर गएका थिए । ‘हामीले कानुनी रुपमा फिलिपिन्समै बिहे गरिसकेका थियौँ,सर्टिफिकेट पनि सँगै थियो, देखाएपछि बल्ल बुबा शान्त हुनुभयो,’ ब्लेसीले सम्झिइन् ।

‘मेरो परिवार पहिलेदेखिनै अन्तर्राष्ट्रिय थियो,’ ब्लेसीले भनिन्, ‘मेरो हजुरआमा अमेरिकी नागरिक हुनुहुन्थ्यो। बुबाकी बहिनी जापानी हुनुहुन्थ्यो, अर्की फुपु स्वीसको हुनुहुन्थ्यो, अर्को एकजना अमेरिकाकै हुनुहुन्थ्यो । त्यसैले यो मामिलामा हाम्रो परिवारमा समस्या थिएन।’

फिलिपिन्समा बिहे भएपछि एकनाथले ब्लेसीलाई सिधै काठमाडौंबाट मोटरमा गोरखा लिएर गएका थिए । त्यतिबेला देशमा जनयुद्ध चलिरहेको थियो । देशको वातावरण एकदमै त्रसित थियो । त्यसमाथि ब्लेसी त पहिलोपल्ट नेपाल आएकी, त्रसित हुने नै भइन् । ‘हामी गोरखा पुग्दा रात परेको थियो, प्रहरीले ‘त्यहीँ उभिई’ भनेर हामीलाई बन्दुक सोझ्यायो । ब्लेसी त एकदमै डराएकी थिइन्,’ एकनाथले सम्झिए, ‘जीवनको उतर्राद्धमा देशमा भइरहेको हिंसा, हत्या, युद्धले गर्दा पनि मलाई शान्तिको मिसनमा लाग्न झन् प्रेरित गर्यो ।’

सुरुमा विदेशी युवती बिहे गर्छु भन्दा एकनाथकी आमा अलिकति पनि सकारात्मक थिइनन् । उनलाई विदेशी केटीहरु नेपालको केटासँग बिहे गर्छन् अनि एक–दुईवर्षमै छाडेर जान्छन् भन्ने लाग्थ्यो । तर घरमा भित्र्याएपछि भने माहोलराम्रै भइदियो । ब्लेसी स्वयम् आमाको प्रशंसा गर्छिन्, ‘उहाँले मलाई एकदमै प्रेम गर्नुभयो । तिम्रो यहाँ कोही पनि छैन, जो भने पनि हामी नै हो भन्दै एकदमै हेरचाह गर्नुहुन्थ्यो।’ एकनाथले त्यसमै थपे, ‘छोराले जो ल्याएपनि ल्याइहाल्यो भनेर उहाँले प्रतिकार गर्नुभएन । आमालाई जुन डर थियो त्यस्तो पनि भएन । हेर्दाहेर्दै हाम्रो दाम्पत्य जीवन चलेको आज १७ वर्ष भइसकेछ ।’

१ दिनमा १० शब्द
घरजम गरेर नेपाल आएपछि ब्लेसीलाई सबैभन्दा ठूलो चुनौती भाषाको थियो । उनी स्वयं अध्ययनमा लागिन् । ‘प्रत्येक दिन १० शब्द सिक्थेँ,’ उनले भनिन् । उनले सिकेको पहिलो नेपाली शब्द ‘फेरि भेटौँला’ रहेछ । भाषासँगै आफूले खाना बनाउन पनि सिकेको उनले सम्झिइन् । भनिन्, ‘श्रीमानलाई खाना पकाएर खुवाउनुथ्यो, त्यसैले कसरी खाना बनाउने भनेर सिकेँ।’
ब्लेसी हाल संयुक्त राष्ट्रसंघअन्तर्गत रहेको विश्व शान्तिका लागि महिला संघ नेपालका अध्यक्ष छिन् । नेपाल फिलिपिन्स चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रीकी अध्यक्षसमेत रहेकी उनी नेपलिज–फिलिपिन्स एसोसिएसनकी संस्थापक अध्यक्ष हुन्।

बिहेपछि राजनीति
एकनाथ सानैदेखि क्रान्तिकारी स्वभावका थिए, रुपान्तरण चाहन्थे तर फेरि कम्युनिस्ट पनि होइन । उनलाई लाग्थ्यो– समाजका कतिपय आधारभूत संस्कृतिले हामीलाई सीमित गरिरहेका छन् । तैपनि ब्लेसीसँग भेट हुँदा राजनीतिज्ञ थिएनन्, विश्व शान्तिका अभियन्तामात्र थिए । उनीसँग बिहे भएको आठ वर्षपछि सन् २००८मा राजनीतिमा आए । किन आउनुप¥यो उनलाई राजनीतिमा ? भन्छन्, ‘म सामाजिक अभियानका माध्यमबाट विभिन्न देशमा पुगेँ, धेरै ज्ञान हासिल गरेँ तर आफ्नो देशको परिस्थिति जहीँको तहीँ पाएँ। देशलाई योगदान गर्न सामाजिक अभियानबाट मात्र नहुने रहेछ, नीतिनियम तहमा पुग्नैपर्ने रहेछ भनेर म राजनीतिमा आएको हुँ।’

एकनाथसँगै उनकी श्रीमती ब्लेसी पनि संविधानसभाको चुनावमा नेपाल परिवार दलको तर्फबाट समानुपातिक उम्मेद्वार थिइन् । हाल संविधानसभाका सभासद् रहेका एकनाथ दुईपल्ट मन्त्री भइसकेका छन् । एकपल्ट सहकारी मन्त्री भएका छन् भने अर्कोपल्ट शान्ति तथा पुनर्निर्माण मन्त्री ।

राजनीतिमा एकनाथ बिहेपछि लागेको हुन् तर ब्लेसीसँग भेट गराउने शान्ति अभियानमा लाग्नचाहिँ उनलाई केले प्रेरित गरेको थियो ? ‘म त्यतिबेला पृथ्वीनारायाण क्याम्पसमा ब्याचलर डिग्री पढ्थेँ,’ एकनाथले सम्झिए, ‘पहिलो वर्षमा पढ्दा जापानी स्वयंसेवक नेपाल आउनुभएको रहेछ । प्रोफेसर कृष्णप्रसाद ढकालमार्फत हामी उहाँहरुको सेमिनारमा भाग लिने मौका पाएँ । मलाई उहाँहरुको कन्सेप्ट मनप¥यो । विश्व एउटा घर हो र विश्वको मान्छे एउटा परिवार । हामी जात, धर्म, राष्ट्रभन्दा माथि उठ्न सक्नुपर्छ, मान्छेको जीवन धेरै महत्वपूर्ण छ भन्ने विश्वव्यापी कन्सेप्टले मेरो मन छोयो र म उहाँहरुको मिसनमा सहभागी भएँ। अहिलेसम्म लागिरहेको छु ।’

भाषाका धनी छोरीहरु
जतिबेला एकनाथ–ब्लेसीको सम्बन्ध गाँसिदै थियो त्यतिबेला भाषा अलि–अलि बाधक त बनेको थियो । तैपनि त्यो ठूलो समस्या भएन । स्पेनी मूलकी फिलिपिनो युवती ब्लेसी त्यतिबेला अंग्रेजी, फिलिपिनो र स्पेनिस भाषामात्र बोल्थिन् । उनीहरुको संवाद अंग्रेजीमा हुन्थ्यो तर एकनाथ त्यति पर्फेक्ट थिएनन्। अहिले ब्लेसी नेपाली बोल्न सक्छिन्, एकनाथ अंग्रेजी बोल्न सक्छन् । ‘उनले मलाई अंग्रेजी सिकाइन्, मैले उनलाई नेपाली सिकाए,’ एकनाथले भाषा सहकार्य सुनाए ।

एकनाथ–ब्लेसीका ६ सन्तान छन् । सबै छोरीहरु । ६ जनै छोरीलाई उनीहरुले विभिन्न भाषा सिकाइरहेका छन् । १६ वर्षीया जेठी छोरी एस्थर अंग्रेजी, नेपाली, फिलिपिनो, कोरियन र स्पेनिस भाषा जान्दछिन् । १५ वर्षिया माइली छोरी काही अंग्रेजी, नेपाली, फिलिपिनो, चिनियाँ र स्पेनिस बोल्छिन् । १४ वर्षीया साइँली छोरी सिम ह नेपाली, अंग्रेजी, फिलिपिनो भाषा बोल्छिन् भने फ्रेन्च भाषा सिक्दैछिन् । नौ वर्षीया काइँली छोरी एकता पनि अंग्रेजी, नेपाली, चिनियाँ, फ्रेन्च र हिन्दी बोल्छिन् । सात वर्षीया अन्तरी छोरी ऐश्वर्य अंग्रेजी र नेपाली बोल्छिन् । कान्छी छोरी सोमाङ पाँच वर्षकी छिन् । उनलाई पनि विभिन्न भाषा सिकाउने यो जोडीको तयारी छ।
सबै छोरीहरुलाई यसरी विश्वका प्रख्यात भाषाहरु किन सिकाइँदैछ ? आमा ब्लेसी जवाफ दिन्छिन्, ‘हामी छोरीहरुलाई सम्पत्ति दिनसक्छौँ, सुन दिन सक्छौँ तर त्यो हराउन पनि सक्छ, कसैले खोसेर लान पनि सक्छ । भाषा त सधैँ आफूसँगै रहन्छ, कसैले लान सक्दैन । अहिले विश्व प्रतिस्पर्धात्मक छ। जिन्दगीलाई अघि बढाउन चाहिने सबैभन्दा ठूलो उपहार भनेकै भाषा हो । भाषा जानेपछि मेरा छोरीहरु जहाँ गएपनि उनीहरुलाई कसैले ठग्न सक्दैन, कसैले हानि पु¥याउन सक्दैन । जहाँ गएर पनि उनीहरु निर्धक्कसँग काम गर्न सक्छन् ।’

६ छोरी किन ?
एकनाथ र ब्लेसीलाई धेरैले सोध्ने एउटा प्रश्न हो– ‘एउटा छोरा कुर्दाकुर्दै ६ वटा छोरी भएको हो ?’ उनीहरु दुवैलाई छोरामा पनि रुचि त छ तर छोरा कुरेर ६ छोरी भएको भन्ने प्रश्न उनलाई वाहियात लाग्छ । ‘म छोरा–छोरी भनेर छुट्टयाउँदिन, मेरा लागि सबै सन्तान हुन्,’ एकनाथ भन्छन्, ‘मलाई बालबच्चा भनेको भगवानको उपहार हो भन्ने लाग्छ । उनीहरु कतिजना भएभन्दा पनि उनीहरुलाई कस्तो संस्कार दिने भन्ने कुरा महङ्खवपूर्ण हो । ६ जना छोरी नै मेरो नेचुरल्ली भएका हुन् । श्रीमती गर्भवती हुुँदा मेरो दिमागमा कहिल्यै पनि गर्भपतन गराउने भन्ने सोच आएन । नेचुरल प्रोसेसलाई मैले कहिल्यै रोक्न चाहिनँ ।’

दुवैजना बालबच्चा त अझै होस् भन्ने चाहन्छन् तर उनीहरु यो परिवारको नितान्त निजी कुरा भएकाले अरुलाई यसबारे नसुझाउने बताउँछन् । ‘बिहे गरेपछि बच्चाचाहिँ पाउनुपर्छ । बच्चा पाउँदिन भन्नेसँग मेरो राय मिल्दैन। तर मेरो यतिवटा छोरी छ अरुले पनि यति नै बनाउनुस् भन्ने मेरो फिलोसिफी होइन । कतिवटा पाउने भन्ने कुराचाहिँ जोडीले निर्णय गर्ने विषय हो ।’

राजनीतिज्ञ भएपछि एकनाथ पार्टीका काममा बढी व्यस्त हुन्छन् भने ब्लेसी सामाजिक काममा व्यस्त हुन्छिन् । महिला जागरण र सशक्तीकरणमा ब्लेसी सक्रिय छिन् । विश्व शान्तिका लागि महिला संघ नेपालका तर्फबाट उनले महाभूकम्पपछि लुम्बिनी, गोरखा र जनकपुरमा गरेर तीनवटा सरकारी विद्यालय पुनःनिर्माण गरेकी छन् । उनी इम्पोर्ट–एक्सपोर्टको बिजनेस पनि गर्छिन् । फिलिपिन्सबाट हेल्थ र ब्युटीका प्रोडक्ट नेपालमा सप्लाई गर्छिन् । ५० डलरबाट सुरु गरेको बिजेनस आज कन्टेनरमा सप्लाई हुने अवस्थासम्म आइसकेकोमा उनी दंग छिन् । यो सब सम्भव हुनमा उनको अथक् मिहनेत त छँदैथियो, सँगसँगै श्रीमान् र छोरीहरुको सपोर्ट पनि थियो । ‘पहिले पहिले प्लेनबाट समान आउँथ्यो, ती समान प्याकिङ गर्ने, स्टिकर टाँस्ने लगायतका काममा छोरीहरुले सघाउँथे,’ ब्लेसी भन्छिन्, ‘मलाई मेरी छोरीहरु धेरै भएकोमा अलिकति पनि दुःखमनाउ छैन । म त सन्तान अझै होस् भन्ने चाहन्छु । जतिबेला म बाहिर कामबाट थकित भएर घर आउँछु, बालबच्चालाई देख्नासाथ बेग्लै महसुस गर्छु । कम्फर्ट जोनमा आएको महसुस हुन्छ ।’

अन्तरदेशीय बिहेका फाइदा
अन्तरजातीय बिहेका फाइदाबारे त धेरै चर्चा भए । अन्दरदेशीय बिहे गर्दा फाइदा के हुँदा रहेछन् त ?नेपालमा ६ सयभन्दा बढी नेपाल–फिलिपिनो जोडी भइसकेको बताउँदै ब्लेसीले भनिन्, ‘म यो देशलाई फिलिपिन्समा प्रमोट गर्न सक्छु । त्यसैगरी फिलिपिन्सलाई नेपालमा प्रमोट गर्न सक्छु । नेपालको जीवन सहज बनाउनका लागि फिलिपिन्सबाट आवश्यक सामग्री ल्याउन सक्छु । यसरी दुई देशका नागरिक एकहुँदा धेरै फाइदाहरु हुन सक्छन् ।’

‘हाम्रो बिहे सामान्य युवायुवतीको बिहेभन्दा विशिष्ट उद्देश्यले गरिएको हो,’ ब्लेसीकै कुरामा एकनाथले थप्न चाहे, ‘यसरी गरिएको बिहेले दुइटा देशको सम्बन्धलाई जोड्ने, दुइटा देशका संस्कृति र सभ्यतालाई जोड्ने काम गर्छ । विश्व शान्तिको अभियानमा योगदान गर्छ ।’  

ब्लेसी र एकनाथको एउटै चाहना छ– आफूहरुको जोडीलाई आदर्श जोडी बनाउने र परिवारलाई पनि उदाहरणीय बनाउने । ‘हामी फरक भाषा, फरक संस्कृति, फरक सिद्धान्त रहेको फरक देशबाट भएकाले हामीबीच द्वन्द्व हुनसक्छन्, विचार नमिल्न सक्छन् तैपनि हामी एकअर्काको भाषा, संस्कृति र सिद्धान्तलाई सम्मान गर्छौ,’ ब्लेसी भन्छिन्,‘एकअर्काको देशलाई प्रेम गर्छौ । किनभने हामी विश्वकै लागि आदर्श जोडी बन्न चाहन्छौँ । हाम्रो परिवार सफल बनाउन चाहन्छौँ ।’

एकनाथका बुबा ब्रिटिस आर्मीमा थिए । दोस्रो विश्वयुद्धमा बेलायतका तर्फबाट जापानविरुद्ध लडेका थिए । ‘हामी नेपालीको दब्ने स्वभाव हुँदैन त्यहीँमाथि म त आर्मीको छोरो । फिलिपिनी महिला पनि दबिने स्वभावका हुँदैनन्,’ एकनाथ भन्छन्, ‘त्यसैले कहिलेकाहीँ हामीबीच झगडा नहुने होइन, हुन्छ । व्यक्तिगतभन्दा पनि कामका विषयमा विवाद हुन्छ तर हाम्रो परिवारमा सहअस्तित्वको सिद्धान्त छ । उहाँले मेरो देश र संस्कृतिलाई सम्मान गर्नुहुन्छ, म उहाँको गर्छु । र, मेरा छोरीहरु दुवैको देश र संस्कृतिलाई उत्तिकै मान्छन् र सम्मान गर्छन् ।’

रोचक कुरा त के छ भने ब्लेसी आफूले मात्र नेपाली युवकसँग बिहे गरिनन्, आफ्ना बहिनीहरुलाई पनि नेपाली केटासँग बिहे गराइन् । ‘उहाँले आफ्नो एकजना बहिनीलाई नेपालको इन्जिनियरसँग बिहे गराइदिनुभयो, अन्य दुई–तीनजना बहिनीहरुलाई नेपाल भित्राइसक्नुभयो,’ थोरै मुस्कानसहित श्रीमतीप्रति इंकित गर्दै एकनाथले भने ।

ब्लेसीलाई नेपाली केटाहरु ‘ह्यान्डसम’ लाग्दोरहेछ । त्यसैले उनी आफ्ना बहिनीहरुलाई नेपाली केटासँग बिहे गर्न सुझाउँदी रहिछन् । उनी आफ्ना बहिनीहरुलाई यस्तो भन्छिन् रे, ‘तिमीले अमेरिकन या अन्य कुनै देशका बिहे गर्यौ भने पैसा पाउली तर नेपाली केटासँग बिहे ग¥यौ भने ह्यान्डसम श्रीमान् पाउँछौ ।’

फेरि उनको शब्दकोषमा ह्यान्डसम भनेको सुन्दर मुहार र जीउडाल भएको केटोमात्र होइन । ‘बाहिरीसँगै भित्री मन र व्यवहार दुवै सुन्दर भएको मिहिनेती केटाहरु भन्न खोजेकी हुँ,’ह्यान्डसमको परिभाषालाई उनले प्रस्ट्याउँदै भनिन्, ‘अमेरिकीसँग बिहे गर्दा नो ग्यारेन्टी तर नेपालीसँग बिहे गर्दा ग्यारेन्टी हुन्छ भनेर सम्झाउँछु ।’

समय ठूलो चुनौती
एकनाथ र ब्लेसी दुवै आफ्नो काममा एकदमै व्यस्त हुन्छन् । अन्तर्राष्ट्रिय शान्ति सांसद मञ्च एसियाका अध्यक्ष रहेका एकनाथ विभिन्न देश भ्रमण गरिरहन्छन् । उता ब्लेसी पनि आफ्नो संस्थाको काममा देश–विदेश घुमिरहन्छिन् । ‘व्यस्तताका कारण मैले छोरीहरुलाई पर्याप्त समय दिन नसकेको महसुस हुन्छ,’ एकनाथ भन्छन्, ‘तर म व्यस्तताका बाबजुद पनि समय दिने कोसिस गरिरहेको हुन्छु । यद्यपि यति पर्याप्त छैन । समयव्यवस्थापन ठूलो चुनौती भएको छ । हाम्रो आदर्श भनेको नै परिवार राम्रो बनाउनुपर्छ भन्ने हो । परिवार नै असफल भयो भने त हाम्रा सबै सफलताहरु गौण भइहाल्छन् नि ! त्यसमाथि म त नामै परिवार दल रहेको पार्टीको अध्यक्ष !’ ब्लेसीले आफूहरु बाहिर गएका बेला नेपालमा रहेकी बहिनी र भाञ्जाभाञ्जीले छोरीहरुको हेरचाह गरिदिने गरेको सुनाइन् । बाआमाले दिएको समय कति पर्याप्त छ भन्ने प्रश्नमा १६ वर्षीया छोरी एस्थरले भनिन्, ‘अरुबेला त बिहान जाने बेलुका घर आउने हो । शनिबारचाहिँ घुम्न लैजाउनुहुन्छ । म त अलि बुडो भइसकेँ, समयको अभाव खड्किएको छ कि छैन भनेरचाहिँमेरा बहिनीहरुलाई सोध्नुपर्छ ।’ अर्की छोरी सिम हले भ्याएका बेला लन्च गर्न बाहिर लाने गरेको सुनाइन् । एकनाथकी ८२ वर्षकी आमा हाल चितवनमा कान्छो छोरासँग बस्दै आइरहेकी छन् ।

भाषण गर्दा श्रीमतीको सहयोग
एकनाथ र ब्लेसी एकअर्काको काममा सहकार्य पनि उत्तिकै गर्छन् । देश–विदेशका विभिन्न कार्यक्रम, सम्मेलनमा एकनाथ अंग्रेजीमा भाषण दिने गर्छन् । उनले तयार पारेको भाषण ब्लेसीले हेरिदिन्छिन् र सुझाव दिन्छिन् । भाषा बिग्रेको छ भने सच्याइदिन्छिन् । ‘म पहिले लामो भाषण गर्थेँ, उहाँले छोटो गर्ने बनाइदिनुभयो,’ एकनाथले सुनाए । ‘लामो किन बोल्नुप¥यो, धेरै कुरा मुखले भन्दा पनि कामले बोल्नुपर्छ,’ एकनाथकै कुरामा ब्लेसी थपिन् । त्यसो त ब्लेसीको सामाजिक काममा पनि एकनाथले सुझाव दिइरहने उनले बताइन् ।

ब्लेसीको पहिलो दसैँ
कुनै समय एकनाथ यति व्यस्त थिए कि उनले दसैँका बेला पनि घरमा समय दिन पाएनन् तर पछिल्लो समय उनीहरु दसैँको तीन दिन चितवन पुगेर दसँै आमा, भाइ र आफन्तसँग मनाउने गर्छन् । पहिलोपल्ट दसैँ मनाएको देख्दा फिलिपिन्सकी ब्लेसीलाई कस्तो महसुस भएको थियो ? परिवारको प्रश्नमा उनले ठूलाले सानालाई रातो टीका लगाइदिएको देख्दा रमाइलो लागेको बताइन् । ‘खराबमाथि सत्यको जीतमा मनाइएको भन्ने कन्सेप्ट नै मनप¥यो,’ उनले भनिन् । उनलाई तिहारको चाहिँ लक्ष्मीपूजा सबैभन्दा बढी मनपर्ने बताइन् । उनले त्यसो भन्नासाथ छेउमा रहेका श्रीमान्ले ठट्टा गरिहाले, ‘उहाँ बिजनेस वुमन भएकाले धनकी लक्ष्मीलाई पूजा गर्ने दिन मनपराउनुहुन्छ । त्यो दिन उहाँले जताततै पोतेर, सजाएर उत्पातै गर्नुहुन्छ ।’

धर्मका बारेमा...
धर्मले ब्लेसी क्रिस्चियन (क्याथोलिक) र एकनाथ हिन्दु हुन् । उनीहरु दुवै धर्म व्यक्तिको नितान्त रोजाइ र अधिकारको कुरा रहेको बताउँछन् । ‘धर्मलाई लिएर विवाद गर्नु राम्रो होइन जस्तो लाग्छ,’ एकनाथ भन्छन्, ‘उहाँ मेरो मन्दिर पनि जानुहुन्छ, म उहाँको चर्च जान्छु । उहाँ मेरो धर्मलाई सम्मान गर्नुहुन्छ, म पनि उहाँको धर्मलाई सम्मान गर्छु र मेरा छोरीहरु दुवैको धर्मलाई सम्मान गर्छन् ।  मनको अन्तरात्माले जेलाई मान्न भन्छ त्यसलाई मान्नुपर्छ ।’

खानेकुराकै प्रश्न, खानेकुरामै विवाद
एस्थरलाई आफ्नो परिवार देख्दा युनिक महसुस हुन्छ । उनलाई स्कुलमा आफ्ना साथीहरुले सबैभन्दा बढी सोध्ने प्रश्न पनि खानेकुराकै हुन्छ । ‘धेरैजसो साथीले लन्चकै कुरा गर्छन्,’ उनले सुनाइन्, ‘हामी घरमा कोरियन, फिलिपिनो, जापाजिन, इटालियन, नेपाली सबै प्रकारका खाना खान्छौँ । साथीहरु पनि आउँछन् । मिठो लाग्यो भन्छन् ।’
यो परिवार विकेन्डका बेला कहिलेकाहीँ खाना खान बाहिर जाने गर्छ । त्यतिबेला पनि सबैभन्दा ठूलो विवाद कुन खाना खाने भन्नेमै हुन्छ । ‘कुन रेस्टुराँ गएर कुन खाना खाने भन्नेमै एक–डेढ घन्टा बहस भइदिन्छ,’ छोरी एस्थरले सुनाइन् । कहिलेकाहीँ त भोटिङ नै गर्नुपर्ने अवस्था आउने गरेको एकनाथले सुनाए । ‘धेरैजसो कोरियन फुडको प्रेमी छन्, त्यसैले कोरियनले जितिदिन्छ,’ उनले भने, ‘मलाई भने नेपाली दालभात, तरकारी, अचार भएको परम्परागत खाना मनपर्छ । यस्तो खाना त्यति खान नपाउँदा आमाले पकाएको मिस हुन्छ। हाम्रो परिवारमा उहाँहरुले जे पनि उसिनेर पकाउनुहुन्छ । मासु पनि उसिनेर पकाउनुहुन्छ । हेल्थका लागि राम्रो होला तर खान गाह्रो लाग्छ ।’

फिलिपिन्समा टाइ लगाउने कल्चर छैन । एकनाथलाई टाइ बनाउन आउँदैन । त्यसैले उनले लगाउने टाइ बनाउने काम जेठी छोरी एस्थरको हो ।‘मैले स्कुलमा बनाउन सिकेको भएर म नै बनाइदिन्छु,’एस्थरले सुनाइन् ।

परिवारमा त्याग महत्वपूर्ण
परिवारलाई बलियो बनाउन के कुरा जरुरी हुन्छ ? ब्लेसी भन्छिन्, ‘विश्वास सबैभन्दा ठूलो कुरा हो ।सम्बन्धमा एकअर्काप्रति शंका गर्न थालियो भने द्वन्द्व सुरु हुन्छ ।’ ब्लेसीको कुरा एकनाथले सहमति जनाउँदै भने, ‘विश्वासको अभाव भयो भने समस्या हुन्छ, यो क्यान्सरभन्दा ठूलो रोग हो । यसको उपचार कमै हुन्छ ।’
एकनाथ र ब्लेसी दुवैले फेरि एकै आवाजमा थपे, ‘परिवार सफल बनाउन त्याग पनि महत्वपूर्ण हुन्छ ।’ एकनाथले प्रस्ट्याए, ‘मैले मेरो इच्छा मात्र पूरा गर्न खोजेँ र उहाँले उहाँको मात्र गर्न खोज्नुभयो भने परिवार सफल हुँदैन । दुवैजनामा त्याग हुनुपर्छ । परिवार भनेको सम्झौता पनि हो ।’

(नागरिक परिवारबाट साभार)

 

प्रकाशित: २३ आश्विन २०७४ ०७:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App