६ वैशाख २०८१ बिहीबार
अर्थ

शिवशक्तिलाई कारबाही गर्न आनाकानी

बारा- बारा, जितपुरस्थित शिवशक्ति घिउ उद्योगले उत्पादन गर्ने फेमिली ब्रान्ड खानेतेलमा अखाद्य वस्तु मिसेको भेटिँदा पनि उक्त उद्योगलाई कारबाही गर्न सम्बन्धित निकायले आनाकानी गरेको पाइएको छ ।
भदौ २७ गते आपूर्ति मन्त्रालय अन्तर्गतको आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागको टोलीले उद्योगमै पुगेर त्यहाँ उत्पादित खानेतेल परीक्षण गर्दा त्यसमा अखाद्य वस्तु मिसेको भेटिएको थियो ।
खानेतेलमा अखाद्य वस्तु मिसाएको भेटेपछि अनुगमन टोलीले खानेतेल उत्पादन गर्ने प्लान्ट तत्काल बन्द गर्न उद्योग प्रशासनलाई लिखित निर्देशन दिँदै कालोबजारीमा थप कारबाही गर्न जिल्ला प्रशासन कार्यालयलाई भनेको थियो ।
अनुगमनमा संलग्न विभागका अधिकृत मोहन पुडासैनीले उद्योगबाट उत्पादित फेमिली ब्रान्ड खानेतेलमा सरकारले तोकेको मापडण्डविपरीत अखाद्य वस्तु मिसेको भेटिएपछि तत्काल उत्पादन प्लान्ट बन्द गरी उद्योगलाई कालोबजारीमा कारबाही गर्न जिल्ला प्रशासन कार्यालय बारालाई पत्र लेखेको जानकारी दिए ।
काठमाडौंको बजारमा बेचिएको फेमिली तेलमा अखाद्य वस्तु फेला परेपछि सरकारले उद्योगमै पुगेर अनुगमन गरेको र कैफियत भेटेपछि प्लान्ट बन्द गर्न भनेको पुडासैनीले बताए । तैपनि उद्योगले उत्पादन जारी राखेको छ । जिल्ला प्रशासनले कारबाही गर्नेतर्फ कदम चालेको छेन ।
उद्योगका प्रशासकीय अधिकृत राजेश पटेलले विभागको टोलीले अनुगमन गरेपछि पनि प्लान्ट बन्द नगरेको जानकारी दिए । ‘अनुगमन गर्न आएको टोलीले के निर्देशन दियो मलाई थाहा छैन, तर खानेतेल उत्पादन भइरहेको छ,’ पटेलले भने ।
यसअघि यो उद्योगले मापडण्डविपरीत खाने तेलमा मानव स्वस्थ्यमा हानी पु¥याउने अन्य तेल मिसाएर बेचेको भेटे पनि जिल्ला प्रशासन कार्यालय बाराले नाम मात्रको कारबाही गरेर छाडेको थियो ।
उद्योगबाट उत्पादित महँगो तोरी र सनफ्लावर तेलमा सस्तो र कम गुणस्तरको पामोलिन र भटमास तेलको मिसावट भेटिएको भन्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण क्षेत्रीय कार्यालय हेटौंडाले उद्योगविरुद्ध वर्षैपिच्छे मुद्दा दायर गर्ने गरेको जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ । यो राप्रपाका समानुपातिक सांसद राजकुमार अग्रवाल (राजु गाडिया) को उद्योग हो ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण क्षेत्रीय कार्यालय हेटौंडाले यस उद्योग विरुद्ध दायर गरेको तीनवटा मुद्दामा जिल्ला प्रशासन कार्यालय बाराले २०७३ मंसिर ३ गते उद्योगका प्रशासकीय अधिकृत सूर्य त्रिपाठीलाई नौ हजार जरिवाना गरेको कार्यालयको मुद्दा शाखाले जनाएको छ ।
तीन वर्षअघि गुणस्तरहीन तेल बेचेकोमा उद्योग कारबाहीमा परेको थियो । तैपनि यसले गुणस्तरहीन तथा अखाद्य वस्तु मिसाएर बेच्न छाडेन । दुई वर्षअघि पनि कार्यालयले उद्योगका प्रशासकीय अधिकृत त्रिपाठीलाई पाँच हजार जरिवाना गरेको थियो ।
पद र पैसाको बलमा सञ्चालक अग्रवालले उपभोक्ताको स्वास्थ्यसँग खेलवाड गरेको बताइन्छ । बाराका प्रमुख जिल्ला अधिकारी विजयनारायण मानन्धरले पनि अहिले उद्योगविरुद्ध कारबाही प्रक्रिया अघि नबढाइएको बताए ।
स्थानीय तहको निर्वाचन र बीचमा दसैं बिदा परेकोले गर्दा उद्योगलाई कारबाही गर्ने प्रक्रियामा ढिलाइ भएको उनको भनाइ छ । एक–दुई दिनमै कारबाही पक्रिया सुरु गर्ने उनले बताए । नाम मात्रको कारबाहीले गर्दा सांसद अग्रवालले हौसिएको स्थानीय बताउँछन् ।
खानेतेलमा मिसाइएका वस्तुले झाडापखाला, फुड प्वाइजन, टाइफाइड, कमलपित्त, पाचनप्रणाली, कलेजो र मिर्गौला सम्बन्धी रोग लाग्न सक्ने जानकार बताउँछन् ।

प्रकाशित: २३ आश्विन २०७४ ०६:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App