६ वैशाख २०८१ बिहीबार
कला

हलिउड जाने लिस्टमा कट्रिना

मुम्बई- एक समय बलिउडका कलाकार हलिउडमा देखिन सक्दैनन् भन्ने जनमत थियो । पुराना कलाकारहरू बलिउडकै फिल्ममा व्यस्त भइरहँदा उनीहरूको भनाइ पनि एक किसिमले सही हो कि भन्ने अनुभूति त्यो बेलाका मानिसलाई हुन्थ्यो । तर, अहिले अवस्था फेरिएको छ । कलाकारको कामको तारिफकै कारण पनि धेरै कलाकारहरू हलिउड फिल्ममा झुल्किन थालेका छन् ।
नसिरुद्दिन शाह, कबिर बेदी, मल्लिका सेरावत, अनिल कपुर, अमरिष पुरी, तब्बु, ऐश्वर्या राय बच्चन, अनुपम खेर, शहीद जाफ्रीजस्ता कलाकारहरूले हलिउडका फिल्ममा अभिनय गरे पनि उनीहरूले लोकप्रियता भने कमाउन सकेनन् । तर, ओम पुरी र इरफान खानले भने हलिउडका केही फिल्ममा अभिनय गरेर हलिउड फिल्मकर्मीको ध्यानाकर्षण गर्न सके ।
तर, ‘देशी गर्ल’ र ‘मेरी कोम’का रूपमा परिचित अभिनेत्री प्रियंका चोपडाले हलिउडका फिल्ममा आफ्नो उपस्थितिलाई मजबुत बनाउँदै लगेकी छिन् । टेलिभिजन शो ‘क्वान्टिको’मार्फत हलिउडमा पाइला टेकेकी प्रियंकाले यो सोको तीनवटा सिजनमा अभिनय गरेर आफूलाई विश्वमाझ परिचित गराइन् । हलिउड फिल्म ‘बेवाच’ र अन्य दुई फिल्ममा पनि अभिनय गरिसकेकी प्रियंका अहिले पनि हलिउडका अन्य फिल्ममा कामका लागि पालो पर्खिरहेकी छन् ।
प्रियंकाबाहेक दीपिका पादुकोणले हलिउड फिल्म ‘एक्सएक्सएक्सः रिटर्न अफ जेन्टर केज’मार्फत् हलिउडमा पाइला चालिन् । फिल्म बक्स अफिसमा फ्लप भए पनि दीपिकाका लागि भने आफ्नो अनुहार विश्वमाझ चिनाउन फिल्म प्रमुख माध्यम बन्यो । यो फिल्ममा भ्यान डिजलसँग उनको जोडी बाँधिएको थियो ।
प्रियंका र दीपिकाले हलिउडमा पाएको सफलतालाई मध्यनजर राख्दै अब कट्रिना कैफले हलिउड फिल्ममा चासो देखाएकी छन् । हालै मात्र अमेरिकाका एक एजेन्टले उनलाई अमेरिकी फिल्ममा अभिनयका लागि त्यता लागेको खबर छ । समाचार अनुसार फिल्म निर्माताहरूले दक्षिण एसियाली मूलको नायिकाको खोजी गरिरहँदा कट्रिना रोजाइमा परेकी हुन् ।
कट्रिनाका केही ठूला बजेटका बलिउड फिल्म २०१७ र २०१८ मा रिलिज हुँदैछन् । जसमा २०१७ को क्रिसमसमा सलमान खानसँगको ‘टाइगर जिन्दा है’ आउँदैछ । यस्तै २०१८ को दिपावलीमा आमिर खान, अमिताभ बच्चन र फतिमा साना शेखसँगको फिल्म ‘ठग्स अफ हिन्दुस्तान’ मा पनि उनको उपस्थिति छ ।

प्रकाशित: २३ आश्विन २०७४ ०५:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App