coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

फ्रान्स छनोटको नजिक

पेरिस- ब्लाइसे माटुडीको गोलप्रेरित फ्रान्सले शनिबार बुल्गेरियालाई १–० ले पराजित गर्दै रूस विश्वकप २०१८ को छनोट नजिक पुगेको दिन बेलारूसमाथि ३–१ को को जित हात पारे पनि नेदरल्यान्ड्सको छनोट सम्भावना पातलिएको छ ।
युरोपेली छनोटअन्तर्गत समूह ‘ए’ को खेलमा फ्रान्सलाई महŒवपूर्ण तीन अंक पक्का गर्न मिडफिल्डर माटुडीले तेस्रो मिनेटमा गरेको गोल नै पर्याप्त भयो ।
‘यो कठिन खेल थियो जहाँ धेरै गल्ती र खेलप्रतिको लगाव देखियो,’ फ्रान्सेली प्रशिक्षक डिडियर डेसच्याम्पले भने, ‘हामी अझै शीर्ष स्थानमा छौं । यो नै महत्वपूर्ण पक्ष हो ।हामीसँग छनोटमा अझै एक खेल बाँकी छ । त्यसैले विश्वकप यात्रा पक्का गर्न हामीसँग मंगलबार बेलारुसविरुद्धको खेल जित्नुको विकल्प छैन ।’
युरोपेली छनोटको प्रत्येक समूहको विजेता स्वतः विश्वकपमा छनोट हुँदा दोस्रो स्थानको टोलीले प्लेअफको मौका पाउनेछ ।
यस जितपछि ९ खेलको समाप्तिमा २० अंक जोडेको फ्रान्स समूहको शीर्ष स्थानमा छ । समान खेलमा १९ अंक जोडेको स्विडेन दोस्रो र १६ अंक जोडेको नेदरल्यान्ड्स तेस्रो स्थानमा छन् ।

स्विडेनले शनिबारै सम्पन्न समूहको अर्को खेलमा लक्जेम्बर्गमाथि ८–० को फराकिलो जित दर्ता गर्दै विश्वकप सम्भावना जीवित राखेको हो । स्विडेनले अन्तिम खेलमा नेदरल्यान्ड्सको सामना गर्दै छ । स्विडेनलाई शीर्ष स्थानमा बस्दै स्वतः विश्वकपमा छनोट हुनका लागि नेदरल्यान्ड्सविरुद्धको जित मात्र पर्याप्त नहुन सक्छ । त्यसका लागि टोलीले बेलारुसविरुद्धको खेलमा फ्रान्सको हार वा बराबरीको कामना गर्नुपर्नेछ । अन्यथा टोलीले प्लेअफको भर पर्नुपर्छ ।
स्विडेनको जितमा मार्कुस बर्गले चार गोल तथा आन्दि«यास ग्रान्क्विभिस्टले दुई गोल गरेका थिए । त्यस्तै मिचेल लस्टिङ र ओला तोइभोनेनले समान १÷१ गोल गरेका थिए ।
यता बेलारूसमाथि जित हात पारे पनि नेदरल्यान्ड्सको विश्वकप सम्भावना लगभग समाप्त भएको छ । मंगलबार हुने खेलमा फराकिलो जित हात पारेमा मात्र नेदरल्यान्ड्सको प्लेअफमार्फत विश्वकप खेल्ने सम्भावना जीवित रहन्छ । बराबरीले टोलीको विश्वकप यात्रामा पूर्णविराम लाग्नेछ ।
नेदरल्यान्ड्सको जितमा डाभे प्रोइपेर, कप्तान आर्जेन रोवेन र मेम्फिर डिपेले समान १÷१ गोल गरेका थिए । बुल्गेरियाका माक्सिम भोलोड्कोले एक गोल गरेका थिए ।
त्यस्तै समूह ‘बी’ को खेलमा पोर्चुगलले एन्डोरामाथि २–० को जित हात पार्दै विश्वकप छनोट सम्भावना जीवित राखेको छ ।
पोर्चुगलको जितमा स्ट्राइकर क्रिस्टियानो रोनाल्डो र आन्द«े सिल्भाले समान एक गोल गरेका थिए ।
‘क्रिस्टियानो रोनाल्डोको उपस्थिति टोलीको जितमा निर्णायक साबित भयो,’ पोर्चुगलका प्रशिक्षक फर्नान्डो सान्तोसले भने, ‘खराब मैदानका कारण हामीले आफ्नो क्षमताअनुसारको प्रदर्शन गर्न सकेका थिएनौं । तर हामीले स्पष्ट तीन अंक जोड्यौं । यो नै महŒवपूर्ण पक्ष रह्यो ।’
शनिबार सम्पन्न अर्को खेलमा हंगेरीमाथि ५–२ को जित हात पारेको स्विजरल्यान्डले विश्वकप सम्भावना थप बलियो पारेको छ ।
समूह ‘बी’ का ९ खेलको समाप्तिमा २७ अंक जोडेको स्विजरल्यान्ड शीर्ष स्थानमा छ । समान खेलमा २४ अंक जोडेको पोर्चुगल दोस्रो स्थानमा छ ।
मंगलबार हुने छनोट चरणको अन्तिम खेलमा स्विजरल्यान्ड र पोर्चुगल एकआपसमा भिड्दै छन् । पोर्चुगलले स्विजरल्यान्डमाथि स्पष्ट तीन अंक जोडे मात्र समूह विजेताका रूसमा स्वतः विश्वकपको टिकट काट्नेछ । बराबरी वा पराजित भएमा पोर्चुगलले प्लेअफको सहारा लिनुपर्ने हुन्छ ।
समूह ‘एच’ को खेलमा साइप्रसमाथि २–१ को जित दर्ता गरेको ग्रिसले उपविजेताका रूपमा प्लेअफ खेल्ने सम्भावना बलियो पारेको छ । यस समूहबाट बेल्जियम यसअघि नै विश्वकपमा छनोट भइसकेको छ । बेल्जियमले अर्को खेलमा बोस्निया एन्ड हर्जगोभिनालाई ४–३ ले पराजित गरेको थियो ।
९ खेलको समाप्तिमा २५ अंक जोडेको बेल्जियम शीर्ष स्थानमा यथावत् छ । समान खेलमा १६ अंक जोडेको ग्रिस दोस्रो र १४ अंक जोडेको बोस्निया एन्ड हर्जगोभिना तेस्रो स्थानमा छन् ।
समूहको अन्तिम खेलमा बेल्जियमले साइप्रस, ग्रिसले जिब्राल्टर र बोस्नियाले इस्टोनियाको सामना गर्दै छन् ।

प्रकाशित: २३ आश्विन २०७४ ०४:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App