८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

उत्तर कोरियामाथि एउटा कुराले मात्रै काम गर्नेछ : ट्रम्प


वासिङ्ट- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वर्षौंदेखि प्योङयाङसँगको वार्ता नतिजामुखी हुन नसकेकोले उत्तर कोरियामाथि अब एउटै कुराले मात्र काम गर्ने चेतावनीको भाषामा बताएका छन् ।
‘अमेरिकाका विभिन्न राष्ट्रपति तथा उनीहरुका प्रशासनले विगत २५ वर्षदेखि उत्तर कोरियासँग वार्ता गरिरहेका छन् तर  त्यसले नतिजा निकालेको छैन,’ ट्रम्पले ट्विट गरेका छन् ।
राष्ट्रपति ट्रम्पले उत्तर कोरियालाई एउटा कुराले मात्रै काम गर्ने बताएपनि त्यो ‘एउटै कुरा’ बारे भने थप खुलाएका छैनन् ।
उत्तर कोरियाको क्षेप्यास्त्र कार्यक्रमलाई लिएर दुई देश चर्को आरोप–प्रत्यारोपमा व्यस्त छन् । अमेरिकाले उत्तर कोरियाले सञ्चालन गरिरहेको आणविक कार्यक्रम रोक्नका लागि दबाब दिँदै आइरहेको भएतापनि प्योङयाङले भने आफ्नो आणविक कार्यक्रमलाई अगाडि बढाइरहेको छ । प्योङयाङले पछिल्लो समय मात्रै लामो दूरीको क्षेप्यास्त्रले बोक्न सक्ने हाइड्रोजन बमको सफल परीक्षण गरेको दाबी गरेको थियो ।

उत्तर कोरियाको यस्तो दाबीपछि अमेरिकी पहलकदमीमा संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को बैठकबाट उत्तर कोरियामाथि कच्चा तेल आयात र कपडा निर्यातमा प्रतिबन्ध लगाइएको छ ।
सेप्टेम्बर महिनामा न्युयोर्कमा सम्पन्न भएको राष्ट्रसंघीय महासभालाई सम्बोधन गर्दै अमेरिकी राष्ट्रपति ट्रम्पले आफू र आफ्नो गठबन्धन राष्ट्रमाथि उत्तर कोरियाका कारण कुनैपनि प्रकारको समस्या आए उसलाई पूर्णरुपमा ध्वस्त पारिदिने चेतावनी दिएका थिए । गत साता अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनले उत्तर कोरियाको क्षेप्यास्त्र तथा पारमाणविक कार्यक्रमबारे वार्ताका लागि प्योङयाङसँग वासिङ्टन सिधा सम्पर्कमा रहेको बताएका थिए ।

त्यसबारे प्रतिक्रिया जनाउँदै ट्रम्पले ट्विट गरेका थिए, ‘रेक्स तिमीले आफ्नो ऊर्जा जोगाऊ, हामीले जे गर्नुपर्छ त्यो गर्छौं ।’ यस्तो ट्विट आएपछि ट्रम्प र टिलरसनबीचको सम्बन्धमा टकराव आएको विभिन्न सञ्चारमाध्यमले जनाएका थिए ।  तर ट्रम्पले भने आफू र विदेशमन्त्रीबीच राम्रो सम्बन्ध रहेको बताएका छन् ।
टिलरसनले आफू र राष्ट्रपति ट्रम्पबीच मतभेद रहेको भनी यसै साताको सुरुतिर सञ्चारमाध्यममा आएको खबरको खण्डन गरेका थिए । सञ्चारमाध्यमका अनुसार टिलरसनले ट्रम्पलाई ‘मूर्ख’ भनेका थिए ।

अन्तर्राष्ट्रिय समुदायको विरोधका बाबजुत पनि उत्तर कोरियाले गत सेप्टेम्बरमा छैठौं पारमाणविक परीक्षण गरेको थियो र प्रशान्त महासागरमा अर्को परीक्षण गर्ने चेतावनी दिएको थियो । गत महिना उत्तर कोरियालाई नष्ट गरिदिने चेतावनी दिएका ट्रम्पले किम जोङ उनलाई आत्मघाती अभियानमा लागेका क्षेप्यास्त्र मान्छे भनेका थिए ।

जवाफमा किम जोङ उनलेसंयुक्त राष्ट्रसंघमा ट्रम्पले दिएको भाषणलाई भुकिरहेको ‘कुकुरको आवाज’ को संज्ञा दिएका थिए ।

प्रकाशित: २३ आश्विन २०७४ ०४:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App