coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

फोरम-राजपा तालमेलले मधेसमा उत्साह, आधार क्षेत्र प्रस्ट नहुँदा अलमल

लहान- प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालबीच साझा उम्मेदवारी दिने सहमति भएपछि समाजवादी फोरमका केन्द्रीय सदस्य राजकुमार गुप्ताले आफ्नो फेसबुक वालमा लेखे, ‘आजको दिन मधेसका लागि ऐतिहासिक ।’ उनी पार्टीबाट सिरहा निर्वाचन क्षेत्र नं. १ ‘ख’ बाट प्रदेशसभा सदस्यको उम्मेदवारका लागि सिफारिस भएका छन् ।

कुनै गठबन्धनसँग तालमेल गरेर जाने वा दुई दलीय तालमेलकै आधारमा चुनावमा जाने विषयमा समाजवादी फोरम र राजपामा दुविधा छ ।

    यो क्षेत्रमा लहान नगरपालिकाका पाँचवटा वडा (२, १९,२०,२१,२३), लक्ष्मीपुरपतारी गाउँपालिकाका चारवटा वडा (२,३,४,५,६), भगवानपुर गाउँपालिकाकाका पाँचवटै वडा र सखुवानन्कारकट्टीका पाँचैवडा छन् । यो निर्वाचन क्षेत्रमा मतदाता संख्या ४७ हजार ६ सय ६० छ ।
    स्थानीय तह निर्वाचनमा यो क्षेत्रका दुई गाउँपालिका ( भगवानपुर र लक्ष्मीपुरपत्तारी) मा समाजवादी फोरम विजयी भएको छ । सखुवानन्कारकट्टीमा फोरम दोस्रो भयो । यहाँ एमाले विजयी भएको छ । स्थानीय तह निर्वाचनमा यो क्षेत्रमा फोरम मतको हिसाबले पहिलो स्थानमा छ । यो पार्टीले मत १० हजार ५ सय मत प्राप्त गरेको छ । मतका आधारमा दोस्रो एमाले र तेस्रो कांग्रेस छन् ।
    प्रदेशसभा सदस्यका लागि फोरमबाट सिफारिसमा परेका गुप्ता हौसिनुको प्रमुख कारण यो क्षेत्रमा फोरमले पाएको सबैभन्दा बढी  मत नै हो । ‘संगठनको मत पहिलो नम्बरमा छँदैछ,’ उनले भने, ‘ असल उम्मेदवारको छनोट भए यो क्षेत्रमा फोरमको वजन भारी रहनेछ ।’
    दुई पार्टीबीचको सहमतिपछि गुप्तामात्रै हैनन, ती दलबाट टिकटका आकांक्षीहरू उत्साहित भएका छन् । दुवै पार्टी आन्दोलनका बेला मिल्ने तर चुनावमा फुट्ने प्रवृत्ति यसपालि चुँडिएकोे छ । निर्वाचनअघि नै दुवै दलले साझा उम्मेदवार ल्याउने निर्णय सार्वजनिक गरेपछि मतदाता खुसी छन् ।
    एक दशकमा तीनपटक मिलेरै आन्दोलन गरेका पार्टीहरू यस अवधिमा भएका संविधानसभा र स्थानीयत तह निर्वाचनमा फुटेर चुनाव लडेका छन् ।  यस्तोमा मधेस केन्द्रित यी दुई दलका नेताहरू आगामी निर्वाचनका लागि कसरी मिल्ने निर्णयमा पुगे ? मधेस मामिलाका विश्लेषकहरूको तर्क छ, ‘स्थानीय तह निर्वाचनको परिणामले दिएको जनादेशले गर्दा यस्तो सम्भव भएको हो ।’
    तेस्रो चरणको स्थानीय तह निर्वाचनमा समाजवादी फोरम र राजपाले प्राप्त गरेको मतले नै दुवै पार्टीलाई उत्साहित बनाएको बताउँछन् मधेस मामिला विश्लेषक विजयप्रसाद मिश्र । उनी भन्छन्, ‘दुवै पार्टीलाई निर्वाचनमा मिल्ने साइत ‘कोर मधेस’ का मतदाताले जुराइदिएका हुन् ।’
प्राप्त मतको दृष्टिले तेस्रो चरणको स्थानीय तह निर्वाचनमा प्रदेश २ मा कांग्रेसद पहिलो स्थानमा छ । तर, समाजवादी फोरम र राजपाले प्राप्त गरेको मत जोडेर हेर्दा कांग्रेसभन्दा बढी छ । मिश्रले भने, ‘फुटेर चुनाव लड्दा त यति धेरै मत प्राप्त भयो । मिलेर जाँदा थप मत आकर्षित गर्न सकिने सोचले यी दुवै दल मिलेका हुन् ।’
चुनावी राजनीतिक ध्रुवीकरणका बीच निर्माण भएको वाम गठबन्धन र गठन हुने प्रक्रियामा रहेको लोकतान्त्रिक गठबन्धनमध्ये फोरम–राजपा तालमेलको निकटता लोकतान्त्रिक गठबन्धनसँग रहने पनि विश्लेषकहरूको भनाइ छ । ‘यो दुई दलीय तालमेलको विस्तारित रूप कांगे्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनसँग चुनावी सहकार्यका रूपमा देखिनेछ, उनको बुझाइ छ, ‘तालमेलपछि सीट सँख्या र अनुकूलको क्षेत्रमा दाबी गर्ने दुवै दलको हैसियतलाई फराकिलो र मजबुत बनाएको छ ।’ प्रदेश नं. २ मा फोरम र राजपाले कांग्रेस नेतृत्वको गठबन्धनसँग तालमेल गरे दुवै दललाई फाइदा हुने उनको तर्क छ । कुनै गठबन्धनसँग तालमेल गरेर जाने वा दुई दलीय तालमेलकै आधारमा चुनावमा जाने विषयमा समाजवादी फोरम र राजपामा दुविधा छ । थाँती रहेका समस्या सामाधानका लागि गठबन्धनमा सामेल हुनुपर्ने अवस्था पनि छ ।
    यी दुई दलका लागि चुनावी तालमेलमात्र नभई मधेसको आधार क्षेत्र निर्धारणका विषयमा पनि चुनौतीपूर्ण देखिन्छ । ‘संविधान संशोधन गरेर मधेस समस्या समाधान गर्ने विषयमा प्रमुख तीन दल कांग्रेस, एमाले र माओवादी केन्द्रबीच ताŒिवक भिन्नता छैन,’ मधेस मामिलाका अर्का विश्लेषक तुलानारायण साह भन्छन्,‘ माओवादी कांग्रेस खेमाबाट अलग्गिएर एमाले खेमामा जानुको कारण एमाले र माओवादी केन्द्रको ‘स्मार्ट’ निर्णय र कांग्रेसको ‘लेजी पोलिटिक्स’ हो ।’ कांगे्रेस, एमाले र माओवादी केन्द्रको धुव्रीकरण मधेस समस्या सामाधानका लागि नभएर सत्तामा पुग्नका लागि मात्रै भएको उनको भनाइ छ । उनका अनुसार मधेस केन्द्रित दलको प्रमुख मुद्दा संविधान संशोधन हो भने तीनवटै दललाई समदूरीमा राख्नसक्नुपर्छ । ‘तर, अब यो अवस्था रहेन । एमाले र माओवादी केन्द्र मिलेपछि अरूलाई गन्ने कुरा भएन । मधेस केन्द्रित दल कांग्रेसकै गठबन्धनमा जाने सम्भावना छ,’ विश्लेषक साहले भने ।
    तर, मधेस केन्द्रित दललाई कांग्रेसको गठबन्धनसँग चुनावी तालमेल गर्नु पनि चुनौतीपूर्ण छ । मधेसकेन्द्रित दलको आधार क्षेत्र खुम्चिएर प्रदेश नम्बर दुईको आठ जिल्लामा सीमित भएको छ । त्यसैले आगामी निर्वाचनका लागि गठबन्धनसँग यी मधेस केन्द्रित दलले गर्ने चुनावी तालमेलमा आफ्नो आधार क्षेत्र कहाँदेखि कहाँसम्म दाबी गर्नेबारेमा प्रस्ट हुनुपर्ने साहको भनाइ छ ।
फोरम–राजपाको तालमेलले आगामी निर्वाचनमा पूर्वी मधेसमा त राम्रै परिणाम हात पर्न सक्छ तर पश्चिम मधेसमा गाह्रो पर्ने उनको तर्क छ । हृदयेश त्रिपाठीबिना पश्चिम मधेसमा गाह्रो हुने विश्लेषण गर्दै उनले भने, ‘फोरम–राजपाले त्रिपाठजीलाई फर्काउन सके समग्र तराई–मधेसमा राम्रो परिणामको सम्भावना बढ्छ ।’

प्रकाशित: २३ आश्विन २०७४ ०३:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App