६ वैशाख २०८१ बिहीबार
राजनीति

मुख्यमन्त्रीका आकांक्षी बढ्दै

पोखरा- संसदीय विकास समितिका सभापतिसमेत रहेका एमाले नेता रवीन्द्र अधिकारी प्रदेशसभा सदस्य निर्वाचन लडेर मुख्यमन्त्री बन्ने अनुमान धेरैले गरेका थिए । तर, एमालेले उनलाई प्रतिनिधिसभा निर्वाचनमा कास्की–२ बाट प्रत्यक्षतर्फ उम्मेदवार बनाउन सिफारिस गर्यो ।

नेताहरूका अनुसार वाम गठबन्धनका कारण अहिले उम्मेदवार सिफारिस र चयनमा केही अन्योल उत्पन्न भएको छ ।

अधिकारीले प्रभावशाली युवा नेताको छवि बनाइसकेका छन् । तर, उनलाई प्रदेशको साटो प्रनितिधिसभाको उम्मेदवारमा सिफारिस गरियो । अधिकारी प्रतिनिधिसभाका लागि सिफारिस भएपछि मुख्यमन्त्री बन्नकै लागि एमाले स्थायी कमिटी सदस्य तथा प्रदेश–४ का संयोजक किरण गुरुङलाई तनहुँ–२ (ख) बाट प्रदेशसभा निर्वाचनका लागि उम्मेदवार बनाउन सिफारिस गरिएको छ ।
त्यसैगरी, एमाले प्रदेश–४ का सहसंयोजक गणेश तिमिल्सेना पनि पर्वतबाट प्रदेशसभा सदस्य उम्मेदवारका लागि सिफारिस भएका छन् । गुरुङ र तिमिल्सेना दुवैजना मुख्यमन्त्रीको आकांक्षी रहेको एमाले नेताहरूको भनाइ छ । एमाले कास्की, प्रचार विभाग प्रमुख तेजनारायण अधिकारी अहिले नै मुख्यमन्त्रीका उपयुक्त दाबेदार भनेर कोही नतोकिएको बताउँछन् । तर, प्रदेशसभा सदस्यका लागि उम्मेदवार बनाउन सिफारिस भएकामध्ये वरिष्ठ नेता नै त्यसका लागि उपयुक्त व्यक्ति रहेको उनको भनाइ छ । उनका अनुसार प्रदेशसभा सदस्यको उम्मेदवारमा सिफारिस भएकामध्ये गुरुङ सबैभन्दा वरिष्ठ नेता भएकाले मुख्यमन्त्रीको सम्भावित उम्मेदवार हुनसक्ने उनले बताए । त्यसको निर्णय पार्टी स्थायी कमिटी बैठकले गर्ने अधिकारी बताउँछन् ।
‘प्रदेश संयोजकसमेत रहेका गुरुङ नै सबैभन्दा वरिष्ठ हुनुहुन्छ । तर, उहाँ मुख्यमन्त्रीको दाबेदार हुने वा नहुने भन्ने स्थायी कमिटीले निर्णय गर्ने हो,’ उनले भने, ‘पार्टीले उहाँलाई आवश्यक ठानेमा केन्द्रमा पनि लैजान सक्छ ।’ उनले मुख्यमन्त्रीको चर्चामा रहेका युवानेता रवीन्द्र अहिले प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार लागि सिफारिस भए पनि अन्य दलसँग भएको गठबन्धनले फरक पार्न सक्ने बताए । ‘रवीन्द्रजी पार्टीबाट सिफारिस हुनुभएको हो । तर, को कहाँबाट पर्ने भन्ने निर्णय भइसकेको छैन,’ उनले भने, ‘एक–दुई दिनमा त्यसको पनि टुंगो लाग्नेछ ।’
नेताहरूका अनुसार वाम गठबन्धनका कारण अहिले उम्मेदवार सिफारिस र चयनमा केही अन्योल भएको छ । दलहरूले जिल्ला तहबाट सिफारिस गरे पनि गठबन्धनअनुसार जाँदा यताउता हुन सक्ने नेताहरूको भनाइ छ । ‘हामीले निर्णय गर्ने होइन, गठबन्धन पनि छ । त्यसले गर्दा प्रदेश वा प्रतिनिधिसभाका लागि को कहाँ पर्छ भन्ने अहिले भन्न सकिन्न,’ अधिकारीले भने, ‘सबै टुंगो केन्द्रले लगाउने हो ।’
माओवादी केन्द्रबाट भने अझैसम्म मुख्यमन्त्रीको दाबेदारका रूपमा कोही पेस भएका छैनन् । माओवादी केन्द्रका केन्द्रीय सदस्य विश्वप्रकाश लामिछाने केन्द्रीय गठबन्धनअनुसार जानुपर्ने भएकाले अहिले नै मुख्यमन्त्रीका दाबेदार को हुने भनेर भन्न नसकिने बताउँछन् । ‘गठबन्धनअनुसार नै हामी अघि बढ्ने हो । त्यसैले अहिले नै मुख्यमन्त्रीको दाबेदार भन्न सकिन्न,’ उनले भने, ‘गठबन्धनपछि बनेको संयन्त्रले नै उम्मेदवार टुंगो लगाउने हो । त्यसपछि बल्ल मुख्यमन्त्रीका सम्भावित उम्मेदवार थाहा हुनेछ ।’
माओवादी केन्द्र, कास्कीले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कास्की–१ मा देव गुरुङ, २ मा राजकाजी गुरुङ र ३ मा रामजी बराललाई उम्मेदवार बनाउन सिफारिस गरेको छ । वाम गठबन्धनअनुसार जाँदा कास्की–२ बाट उम्मेदवारमा सिफारिस परेका एमालेनेता रवीन्द्र अधिकारी र माओवादी केन्द्रका रामकाजी दुवैलाई उचित ठाउँ दिनुपर्ने नेताहरूको भनाइ छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई कास्की–३ बाट उम्मेदवार बनाउने प्रयाससमेत माओवादी केन्द्रको छ । त्यसका लागि लबिङ भइरहेको नेताहरूको भनाइ छ ।
‘दाहाललाई आफ्नै जन्मथलो पर्ने कास्की–३ बाट उम्मेदवार बनाउने भन्ने प्रस्ताव भएको छ । अझै निर्णय भइसकेको छैन,’ लामिछानेले भने, ‘अध्यक्ष दाहाल नै आउनुभयो भने त्यसले फेरि गठबन्धनअनुसार फरक पर्न सक्छ ।’
कांग्रेसले टिकट टुंगो नलागिसके पनि कास्कीबाट महादेव गुरुङ र शुक्रराज शर्मालाई प्रदेशसभा सदस्यमा उम्मेदवार बनाउने भएको छ । प्रदेशसभामा कांग्रेसले बहुमत ल्याए सम्भवतः यी दुईमध्येबाट एक मुख्यमन्त्री बन्ने सम्भावना छ । गुरुङ र शर्मा अहिले प्रतिनिधिसभा सदस्य उम्मेदवारका लागि कास्की–३ बाट सिफारिसमा परेका छन् ।
कांग्रेसका एक जिल्लास्तरीय नेताका अनुसार शर्मासँग लामो समय राजनीतिको अनुभव छ । उनको अनुभवले मुख्यमन्त्रीका रूपमा जान शर्मा तयार हुनुपर्ने ती नेताको भनाइ छ । शर्मा दुईपटकसम्म जिल्ला सभापति र राष्ट्रियसभा सदस्य बनिसकेका नेता हुन् । अहिले मुख्य पदमा नरहेकाले पनि उनी सम्भावित मुख्यमन्त्रीका उम्मेदवार हुनसक्ने ती नेताको भनाइ छ ।
त्यस्तै गुरुङ पनि प्रभावशाली नेताकै रूपमा परिचित छन् । पार्टीले मुख्यमन्त्रीको रूपमा गुरुङलाई नै प्रस्ताव गरेको थियो । तर, शर्मा र गुरुङ एकै क्षेत्रबाट सिफारिस भए पनि पछिल्लो समय गुरुङलाई ३ नम्बरबाट उठाउने तयारी भएको नेताहरूको भनाइ छ । ‘पार्टीले प्रस्ताव ग¥यो भने सिपाही बन्न पनि तयार हुनेछु,’ गुरुङले नागरिकसँग भने, ‘३ नम्बर क्षेत्रमै माओवादी केन्द्रबाट अध्यक्ष दाहाल आएमा आपूmलाई झनै सजिलो हुनेछ ।’
यो प्रदेशभित्र तनहुँ, गोरखा, पर्वतमा समेत कांग्रेसमा मुख्यमन्त्रीका लागि प्रभाव पार्नसक्ने नेता पनि छन् । ती जिल्लाका नेताहरू समेत मुख्यमन्त्रीका सम्भावित उम्मेदवार हुन सक्ने नेताहरूको भनाइ छ । कांग्रेस नेताहरूका अनुसार पर्वतका अर्जुन जोशी, तनहुँका शंकर पौडेल, गोरखाका चिनकाजी श्रेष्ठ पनि सम्भावित मुख्यमन्त्रीका उम्मेदवार हुन् ।
कास्की कांग्रेसका सदस्य नवीन सिग्देलले उम्मेदवार कसलाई बनाउने भन्ने टुंगो नलागेकोले पर्ख र हेरको अवस्थामा रहेको बताए । ‘वाम एकता भइसकेको छ । अब लोकतान्त्रिक गठबन्धनको तयारी पनि छ । अरू दलले कुन रूपमा उम्मेदवार तय गर्छन्, त्यहीअनुसार कांग्रेसले पनि उम्मेदवार बनाउनेछ, उनले भने ।’ सिफारिसमा परेका कुनै पनि वरिष्ठ नेता मुख्यमन्त्रीमा पर्न सक्ने उनले बताए ।

प्रकाशित: २३ आश्विन २०७४ ०३:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App