७ वैशाख २०८१ शुक्रबार
समाज

डा. केसीको स्वास्थ्यमा समस्या

काठमाडौं- चिकित्सा शिक्षामा सुधार माग राखेर चार दिनदेखि अनशनरत डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या देखिएको छ । नतङ्ग्रिँदै पुनः आमरण अनशन सुरु गरेका केसीको स्वास्थ्यमा यसपटक सुरुदेखि नै समस्या देखिन थालेको हो ।

उनका भाइ किशोरका अनुसार तेस्रो दिनदेखि नै अत्यधिक रिंगटा लाग्ने, छाती दुःख्ने र मांसपेशी बाउँडिने, पिसाब कम हुने समस्या डा. केसीमा देखिएको छ । केसी निकै गलिसकेको जानकारी उनले दिए ।
साउनमा २३ दिन अनशन बसेका केसी उपचार नसकिँदै तराईका बाढीपीडितको उपचारमा गएका थिए । त्यसपछि असोज ९ देखि तीन दिन अनशन बसेका उनले दसैं सुरु भएपछि रोकेका थिए ।

 असोज १९ देखि पुनः अनशन बसेका केसीले पर्याप्त पानीसमेत खाँदैनन् । स्वास्थ्य शिक्षामा सुधार माग राखेर केसी आमरण अनशन बसेको यो १३ औं पटक हो । केसीको स्वास्थ्यमा समस्या देखिएपछि त्रिवि शिक्षण अस्पताल, महाराजगन्जले आइतबार स्वास्थ्य टोली बनाएको छ । आइतबार अपराह्नदेखि केसीलाई नसा खोलेर नर्मल स्लाइन दिन थालिएको छ ।  टोलीले आइतबार रातिसम्म अन्य उपचार भने सुरु गरेको छैन् ।
 चिकित्साशास्त्र अध्ययन संस्थानका सहायक डिन डा. मधु देवकोटाको अध्यक्षतामा बसेको विभागीय प्रमुखहरूको बैठकले स्वास्थ्य उपचार टोली बनाउने  निर्णय गरेको हो । समिति गठनको पत्र डा. केसीलाई बुझाए पनि उपचार सुरु नभएको जानकारी भाइ किशोरले दिए । उपचार टोलीमा डा. प्रदीपकृष्ण श्रेष्ठ, डा. दिव्यासिंह शाह, डा. सुवास आचार्य, डा. जेन्टलसुन्दर श्रेष्ठ छन् । टोलीमा नर्सिङतर्फबाट तारा कार्की र रेजिडेन्टहरू डा. सुमन बराल र डा. सन्तोष क्षेत्री छन् ।

केसीले विद्यार्थी र जनतामुखी चिकित्सा शिक्षा विधेयक संशोधनसहित पारित र चिकित्सा क्षेत्रमा सुधारका लागि राखिएका सबै माग पूरा नहुँदासम्म अनशन नछोड्ने अडान दोहो¥याएका छन् ।  उनले विधेयक तोडमरोड गरेर माफियामुखी ऐन जारी गर्न संसद्बाट अन्तिम प्रयास भइरहेको बताए । ‘जुनसुकै समय झुक्याएर माफियामुखी विधेयक पारित गर्ने माफियाको योजना रहेको जानकारी हामीले पाएका छौं,’ उनले भने, ‘यो षड्यन्त्र पूरा हुन दिन्नौं ।’ उनले यसका लागि तीनै प्रमुख दलबीच  साँठगाँठ भइरहेको आरोपसमेत लगाए । ‘अहिले प्रस्तावित विधेयक जस्ताको तस्तै पारित भए यसले विकृति संस्थागत हुने मात्र नभई हाम्रो अभियानले हालसम्म गरेका उपलब्धिसमेत उल्टिने प्रष्टै छ,’ उनले भने ।

उनले आफूले दिएका सुझाव र माथेमा प्रतिवेदनअनुसार हुनेगरी चिकित्सा शिक्षा विधेयक परिमार्जन गरी  पारित गर्नुपर्ने बताए । केसीले चिकित्सा शिक्षा सुधारका लागि शुल्क निर्धारण, विभिन्न बेथिति र अनियमिततामा संलग्न पदाधिकारीमाथि कारकाही मागसमेत राखेका छन् ।  सरकारले अघिल्लो वर्ष नै यो वर्षसमेतका लागि एमबिबिएसतर्फ शुल्क उपत्यकामा ३८ लाख ५० हजार र उपत्यकाबाहिर ४२ लाख ४५ हजार  तथा बिडिएसतर्फ १९ लाख ३२ हजार रुपैयाँ शुल्क निर्धारण गरेको थियो ।
यसविपरीत काठमाडांै विश्वविद्यालयले प्रत्यक्ष शुल्क मात्रै कलेजपिच्छे फरक हुनेगरी ५० लाखसम्म र त्योबाहेक विभिन्न अतिरिक्त शुल्क बेग्लै लिन पाउनेगरी निर्धारण गरेको छ । यस्तो निर्णयमा संलग्न उपकुलपति डा. रामकण्ठ माकजू र डिन डा. राजेन्द्र कोजूलाई बर्खास्त गरी  निर्णय फिर्ता गर्नुपर्नेलगायत माग केसीको छ ।
स्वास्थ्य विज्ञान प्रतिष्ठान बनेको धेरै वर्ष बितिसक्दा पनि हाल स्नातक तहको पढाइ सुरु नभएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल पठनपाठन सुरु गर्न र कैलाली र दाङमा सरकारी मेडिकल कलेजको काम शीघ्र अघि बढाउनुपर्ने  माग पनि केसीको छ । उनले डोटी–डडेल्धुरा, धनुषा–महोत्तरी, उदयपुर, पाँचथर–इलाम आदि ठाउँमा तत्काल सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया अघि बढाउन माग गरेका छन् । उनले जग्गा खरिद घोटला आरोपमा सरकारले बर्खास्त गरेका नेपाल आयल निगमका तत्कालीन कार्यकारी निर्देशक गोपाल खड्कामाथि तत्काल थप कारबाही थाल्नसमेत माग गरेका छन् । उनले खड्कासँगै अनियमिततामा संलग्न अन्यलाई पनि कारबाही माग राखेका छन् ।

प्रकाशित: २३ आश्विन २०७४ ०३:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App