७ वैशाख २०८१ शुक्रबार
राजनीति

कांग्रेस संसदीय समितिमा भागबन्डा

काठमाड- नेपाली कांग्रेसले  प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उम्मेदवार तोक्न संसदीय समिति गठन गर्ने भएको छ । सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेलबीच भएको छलफलमा यस्तो सहमति बनेको हो ।
प्रधानमन्त्रीनिवास बालुवाटारमा आइतबार बिहान र साँझ भएका छलफल अनुसार सोमबार १४ सदस्यीय संसदीय समिति गठन हुने स्रोतको दाबी छ । समितिमा सभापति देउवानिकट आठ, पौडेलनिकट पाँच र कृष्णप्रसाद सिटौला पक्षबाट एक सदस्य रहने छन् ।
समितिमा पौडेल, प्रकाशमान सिंह र रामशरण महत रहने भएका छन् । कोषाध्यक्ष सीतादेवी यादव पदेन सदस्य हुने छिन् । सिटौला पनि समितिमा रहने छन् । त्यस्तै विमलेन्द्र निधि, गोपालमान श्रेष्ठ समितिमा पर्ने निश्चित छ । ज्ञानेन्द्रबहादुर कार्की, बालकृष्ण खाँण, प्रकाशशरण महत, खुमबहादुर खड्का, पूर्णबहादुर खड्का, अर्जुननरसिंह केसीमध्येबाट पनि समितिको सदस्य हुने छन् ।
विधानको धारा ३१ (२) को व्यवस्थाअनुसार पार्टी सभापति देउवा र महामन्त्री शशांक कोइराला समितिको पदेन सभापति र महामन्त्री हुने छन् ।
विधानको धारा ३१ (१) मा केन्द्रीय समितिबाट एक संसदीय समिति गठन गर्ने उल्लेख छ । सोही धाराको उपधारा ४ अनुसार बढीमा आठ सदस्य कार्यसमितिले चयन गर्नेछ भने संसदीय दलको नेता पदेन सदस्य रहने छन् ।
समिति गठनका लागि कांग्रेसले सोमबार बिहान ११ बजे कार्यसम्पादन समितिको बैठक बोलाएको छ । समितिले नै पार्टीको तर्फबाट प्रदेशसभा र प्रनिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार टुंगो लगाउने छ । मंसिर १० र २१ गते दुई चरणमा सम्पन्न हुने प्रदेशसभा र प्रतिनिधिसभा सदस्य  निर्वाचनका लागि असोज २७ भित्र उम्मेदवारको टुंगो लगाउने निर्णय कांग्रेसले गरेको छ ।
शुक्रबार सम्पन्न केन्द्रीय समितिको बैठकले उम्मेदवार टुंगो लगाउने संसदीय समिति गठनको अधिकार सभापति देउवालाई दिने निर्णय गरेको थियो ।  
महाधिवेशन सम्पन्न भएको दुई महिनाभित्र पार्टी पदाधिकारी र सबै निकायलाई पूर्णता दिइसक्नुपर्ने व्यवस्था विधानमा छ । तर, आन्तरिक व्यवस्थापन गर्न नसक्दा सभापति देउवाले अझै उपसभापति, महामन्त्री, सहमहामन्त्रीसहित पदाधिकारी र पार्टीका निकायलाई पूर्णता दिनसकेका छैनन् ।  

 

प्रकाशित: २३ आश्विन २०७४ ०३:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App