४ वैशाख २०८१ मंगलबार
राजनीति

उम्मेदवारले नै मतपत्र चपाएपछि...

कांग्रेस उम्मेदवार सूर्यनारायण साहले मतपत्र निल्न खोजेपछि मुखबाट निकाल्ने प्रयास गर्दै प्रहरी । तस्बिर सौजन्य : सञ्जीव मण्डल

जनकपुर- धनुषास्थित नगराइन नगर कार्यपालिका सदस्यको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार सूर्यनारायण साहले एक मतले हार्ने सम्भावना देखेपछि एउटा मतपत्र चपाउने प्रयास गरेका छन् ।
आइतबार मतदान सम्पन्न भएलगत्तै सुरु भएको मतगणना क्रममा बदर भनिएको केही मतपत्रबारे पुनर्विचार गर्ने क्रममा एमालेका उम्मेदवारले एक मतको अन्तरले जित्ने देखिएपछि साहले एउटा मतपत्र निलेको आरोप एमालेको छ । प्रहरीले भने कांग्रेस उम्मेदवार साहले मतपत्र मुखमा हालेर चपाउनै लाग्दा सुरक्षाकर्मीले निकालेको दाबी गरेको छ ।
घटनापछि साहलाई प्रहरीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय पु¥याएको थियो । ‘कसले कति मत पायो र कसले जित्ने भन्दा पनि एकजना उम्मेदवारले नै मतपत्र मुखमा हालेपछि सुरक्षार्थी खटेको प्रहरीले तत्काल उनको मुखबाट झिकेर मतपत्रको सुरक्षा गरेका छन्,’ जिल्ला प्रहरी प्रमुख एसपी चक्रबहादुर सिंहले भने । उनले साहलाई निर्वाचन अधिकृतको प्रतिवेदन आधारमा थप कारबाही गर्ने बताए ।
निर्वाचन अधिकृत दानीकान्त झाले भने घटना सम्बन्धमा केही बताएनन् । एमालेलगायत विपक्षी दलका उम्मेदवारले निर्वाचन अधिकृत झाले कांग्रेससँग सेटिङ गरी सोहीअनुसार दल विशेषको पक्षमा लागेको आरोप लगाएका छन् ।
मुख्य निर्वाचन अधिकृत राधाकृष्ण उप्रेतीले पनि नगराइन नगरपालिकाका निर्वाचन अधिकृत झा सम्पर्कविहीन रहेको बताएका छन् । ‘घटनाबारे जानकारी पाएपछि आधिकारिक कुरो बुझ्न बारम्बार फोन गरिरहेको छु,’ उप्रेतीले नागरिकसँग भने, ‘तर, त्यहाँका निर्वाचन अधिकृत दानीकान्त झाले फोन उठाइरहनुभएको छैन ।’  
एमालेका निर्वाचन प्रतिनिधि सन्जित मण्डलले नगर कार्यपालिकाको खुला सदस्य निर्वाचनमा दुई जना कांग्रेसकै उम्मेदवार जिते पनि सूर्यनारायण साह एमालेका अरुण लाल कर्णको भन्दा एक मत कम ल्याएको दाबी गरेका छन् । ‘चपाइएको मतपत्रमा पनि साहकै पक्षमा मतदान भएको दावी निर्वाचन अधिकृतले गरिरहेका छन्’ मण्डलले भने तर, उक्त मतपत्रमा एमालेलाई मतदान गरिएको छ । उक्त मतपत्र गणना नगर्दा साह र कर्णको पक्षमा बराबर २४–२४ मत रहेको दाबी मण्डलको छ ।
कांग्रेसका धनुषा सभापति रामसरोज यादवले भने मण्डलको आरोपलाई निराधार रहेको बताएका छन् । चार मतको अन्तरले साह विजयी घोषणा भइसकेको अवस्थामा बदर मतपत्रबारे कुरो उठेपछि छलफल क्रममा खिचातानी हुँदा एउटा मतपत्र च्यातिएको यादवको जिकिर छ ।

प्रकाशित: २३ आश्विन २०७४ ०२:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App