coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

क्षेत्र बाँडफाँटमा माओवादीले समय माग्यो

काठमाडौंं- वामपन्थी गठबन्धनको प्रमुख घटक नेकपा माओवादी केन्द्रले गृहकार्यका लागि थप समय मागेपछि गठबन्धनकारी शक्तिबीच निर्वाचन क्षेत्र बाँडफाँटमा ढिलाइ भएको छ ।
पार्टीको आन्तरिक बैठक जारी रहेको भन्दै निर्वाचन क्षेत्र बाँडफाँट कार्यदलमा रहेका माओवादी केन्द्रका नेताहरूले सोमबारसम्म समय मागेका छन् ।
पार्टी एकता संयोजन समितिले वाम गठबन्धनमा रहेका दलहरूले कुनकुन क्षेत्रबाट प्रत्यक्षतर्फ उम्मेदवार उठाउने भन्ने तय गरी निर्वाचन क्षेत्र बाँडफाँट गर्न कार्यदललाई तीन दिनको समय दिएको थियो । कार्यदललाई निर्वाचन क्षेत्र बाँडफाँट प्रतिवेदन बुझाउन शनिबारसम्म समय दिइएको थियो ।   
‘माओवादीका साथीहरूले गृहकार्यका लागि थप समय माग गर्नुभएकाले आज (आइतबार) कार्यदलको बैठक बस्न सकेन,’ कार्यदलका संयोजक एमाले महासचिव ईश्वर पोखरेलले नागरिकसँग भने, ‘हामीलाई ढिलो गरेर जाने सुविधा समयका कारण छैन । यो विषय एकदुई दिनभित्रै टुंग्याउने छौं । गृहकार्यका लागि केही समय लागेकाले निष्कर्षमा पुग्न ढिलो भएको हो ।’ पोखरेलको नेतृत्वमा निर्वाचन क्षेत्र बाँडफाँट गर्न सात सदस्यीय कार्यदल गठन गरिएको छ ।
कार्यदलमा एमालेबाट विष्णु पौडेल र सुरेन्द्र पाण्डे, माओवादी केन्द्रबाट रामबहादुर थापा, वर्षमान पुन र मातृका यादव, नयाँ शक्ति पार्टीबाट गंगा श्रेष्ठ सदस्य छन् । यादवले पार्टीभित्रको गृहकार्य नसकिएकाले प्रतिवेदन तयार पार्न केही समय लागेको बताए । ‘पार्टीभित्र यस विषयमा छलफल भइरहेको छ । गृहकार्यका लागि समय लागेकाले टुंगोमा पुग्न केही  विलम्ब भएको हो,’ यादवले भने, ‘गठबन्धनमा एमाले र माओवादीमात्रै छैनन् । गठबन्धनका अन्य दलको दाबीलाई पनि सम्बोधन गर्नुप¥यो । त्यसैले निर्वाचन क्षेत्र बाँडफाँटमा समस्या परेको छ ।’
उनले यो विषय शीर्ष नेतृत्व तहबाट टुंग्याइनुपर्ने बताए । ‘आज फलानोले यो क्षेत्रबाट लड्ने भनौंला, भोलि अर्कोले त्यस्तो हुन्न भन्ला,’ यादवले भने । एमाले महासचिव पोखरेलले भने, ‘यो विषय पछि एड्जस्ट गर्दै जान सकिन्छ ।’
एमाले र माओवादीबीच गठबन्धनमा आबद्ध अन्य साना दल तथा स्वतन्त्र समूहलाई छुट्याइएका स्थानबाहेक ६०–४० को अनुपातमा प्रतिनिधिसभा र प्रदेशसभामा सिट बाँडफाँट गर्ने सहमति भएको छ । नयाँ शक्ति नेपाल र मधेसवादी नेता हृदेयश त्रिपाठीसहितका केही नेता सूर्य चिह्न लिएर चुनावमा उम्मेदवार बन्ने भएका छन् । प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १ सय ६५ र प्रदेशसभामा ३ सय ३० निर्वाचन क्षेत्र छन् ।
पार्टी एकता घोषणा गरेका एमाले र माओवादीले मंसिर १० र २१ गते दुई चरणमा हुने प्रदेश तथा संघीय संसद् (प्रतिनिधिसभा) को चुनाव मिलेर लड्ने सहमति गरेका छन् ।  
कार्यदलमा रहेका माओवादी नेतालाई दोस्रो संविधानसभा र स्थानीय तह निर्वाचनमा पार्टीहरूले प्राप्त गरेका सफलताको प्रारम्भिक विवरण बुझाइएको एमाले नेता पाण्डेले बताए । कार्यदलले २०७० को दोस्रो संविधानसभा तथा हालै सम्पन्न स्थानीय तह चुनावमा गठबन्धनमा आबद्ध दलले प्राप्त गरेको मत र सिटलाई आधार बनाएर प्रदेश तथा संघीय संसद्को निर्वाचनमा क्षेत्र बाँडफाँँँँट गर्ने बताइएको छ । स्थानीय तहमा  बडाध्यक्षले प्राप्त गरेको मतलाई प्रमुख आधार बनाएर प्रदेश र संघीय चुनावमा क्षेत्र बाँडफाँट गर्न खोजिएको छ ।

प्रकाशित: २३ आश्विन २०७४ ०२:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App