८ वैशाख २०८१ शनिबार
अर्थ

नेपाल ल्याउन भरेको तेल भारतमै बिक्री

काठमाडौं- नेपालका लागि लोड गरेको पेट्रोल भारतमै बेचेर बदमासी गर्ने गरेको नयाँ तथ्य भेटिएको छ । नेपाल आयल निगमको जनकपुर डिपोको लागि इन्डियन आयल कर्पोरेसन (आइओसी)को बरौनीबाट तेल लोड गरेको ना २ ख ५३१७ नम्बरको ट्यांकरले भारतमै तेल बेचेको हो ।
भारतमा भन्दा नेपालमा पेट्रोल सस्तो भएकाले उतै बेच्न पाए ट्यांकर सञ्चाकललाई लाखौं रुपैयाँ फाइदा हुन्छ । निगमको जनकपुर डिपोको लागि पेट्रोल ल्याएको ट्यांकरले भारतमै बेचेको सूचनाको आधारमा प्रहरीले नियन्त्रणमा लिँदा यस्तो तथ्य भेटिएको हो ।
१२ हजार लिटरको ट्यांकर नियन्त्रणमा लिँदा तीन हजार लिटरमात्र पेट्रोल भेटिएको धनुषाका एसपी चक्रबहादुर सिंहले बताए । ‘कागजात नियन्त्रणमा लिएर आयल निगममा पठाएका छौं,’ सिंहले भने, ‘गाडी नियन्त्रणमा लिँदा तीन हजार लिटरमात्र तेल थियो ।’
सामन्यतया प्रहरी नियन्त्रणमा लिएका गाडी कारबाही प्रक्रिया अघि बढाउनु पर्ने भए पनि कागजातमात्र नियन्त्रणमा लिएर छाड्नुले यसमा प्रहरीको समेत संलग्ता भएको हुन सक्ने स्थानीयले बताएका छन् । प्रहरीले ट्यांकर छाडेपछि पम्पमा गएर तेल भरेर ल्याई निगमको डिपोमा दिने तयारी गरेको थियो ।
प्रहरी, ट्यांकर चालक र निगमका अधिकारीको मिलेमतोमा कारबाही नगरी उन्मुक्ति दिने तयारी गरेको भए पनि स्थानीयको दबाबपछि बाध्य भएर प्रहरीले नियन्त्रण लिएको हो ।
नेपालमा भन्दा भारतमा पेट्रोल २१ रुपैयाँ ४७ पैसा महँगो भएकाले उतै बेच्दा ट्यांकर सञ्चालकलाई फाइदा हुन्छ । नौ हजार लिटरमात्र पेट्रोल भारतमै बेच्दा पनि एक खेपमै एक लाख ९३ हजार दुई सय ३० रुपैयाँ फाइदा हुन्छ । तर, भारतमा बेचेर आएको हल्लापछि उक्त ट्यांकरले कारबाही पर्ने डरले जनकपुरकै पम्पबाट तीन हजार लिटर पेट्रोल भरेको हुन सक्ने प्रहरीको आशंका छ ।
बरौनीमा १२ हजार लिटर पेट्रोल लोड गरेको सो ट्यांकरले निगमको जनकपुर डिपोमा नपु¥याई बेचेको पुष्टि भएको छ । ट्यांकर धनीले बिग्रिएको बहाना गरिरहेको जनकपुर डिपोका प्रमुख सरोज रायले बताए । ‘तीन दिनभित्र गाडी ल्याउन लिखित पत्राचार गरेका छौं,’ रायले भने, ‘गाडी ल्याएपछि नियमानुसार कारबाही हुन्छ ।’
स्रोतका अनुसार निगमका डिपो प्रमुखसँगको मिलेमतो नभएसम्म ट्यांकर सञ्चालकले तेल बेच्न सक्दैनन् । आइओसीमा तेल लोड गर्न निगमले पत्र दिनुपर्छ । लोड भएको गाडी निगमको डिपोमा आएर खन्याउनुपर्ने र बिलिङ गर्नुपर्ने हुन्छ । रायले डिपोमा नआएको बताए पनि ट्यांकर सञ्चालक राजेश पाठकले निगमको डिपोबाट बिलिङ भइसकेको दाबी गरे । पाठकले भारतमै बेचेको भन्नै आरोप झुटो भएको दाबी गरे । नौ हजार लिटर तेल राजिव आयल स्टोरमा बेचेको पाठकले बताए ।
निगमको अमलेखगञ्ज डिपो प्रमुख प्रदिप यादबले सो ट्यांकरले बदमासी गरेकोले कारबाही प्रक्रिया अघि बढाएको बताए । ‘कारबाहीको लागि प्रहरीसँग पनि सल्लाह भएको छ,’ यादबले भने, ‘न्यूनतम करिब तीन महिना सो ट्यांकरले तेल ढुवानी गर्न पाउँदैन ।’
आयल निगमका वितरण विभाग प्रमुख विरेन्द्र गोइतले बदमासी भएको भए कारबाही हुने उनले बताए । ‘सम्बन्धित डिपो प्रमुखलाई निर्देशन दिईसकेका छौं,’ गोइतले भने, ‘नियमानुसार कारबाही हुन्छ ।’
स्रोतका अनुसार सो ट्यांकर निगमका अधिकारी, धनुषा प्रहरीको मिलेमतोमा त्यसै छाडिएकोमा नेपाल प्रहरीका एआइजी विजयलाल कायस्थको दबाबपछि नियन्त्रणमा लिए पनि फेरि कागजातमात्र राखेर छोडिएको थियो । प्रहरीले खानतलासीको लागि नियन्त्रणमा लिइसकेको ट्यांकरलाई मिलेमतोमा कारबाही नगरी त्यसै छाडेपछि स्थानीयले प्रहरीको उच्च निकायमा खबर गरेका थिए । प्रहरीले छाडेपछि बजारका पम्पबाट पेट्रोलबाट भरेर फेरि निगम लैजाने तयारी अनुरुप सो तीन हजार लिटर पेटोल भरेको ट्यांकर सञ्चालकमाथि आरोप लागेको छ ।
विगतमा पनि ट्यांकरले निगमकै अधिकारीसँगको मिलेमतोमा भारतमै तेल बेचेर लाखौं कमाउने गरेको आरोप लाग्दै आएको थियो । नेपालमा भन्दा भारतमा तेल महँगो भएकाले सीमा क्षेत्रबाट तस्करी भएको भन्दै नेपाल आयल निगमले मूल्य समायोजन गर्दा पनि भारतको मूल्यलाई ध्यान दिने गरेको छ । भारतका गाडी नेपाल आउँदा यतै ट्यांकी भरेर जाने गरेका छन् ।

प्रकाशित: २२ आश्विन २०७४ ०६:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App