४ वैशाख २०८१ मंगलबार
कला

फेरि खेलाडीको भूमिकामा प्रियंका

मुम्बई- बायोपिक फिल्ममा काम गर्नु एउटा कलाकारका लागि सधैं चुनौतीपूर्ण मानिन्छ । सम्बन्धित पात्रको हरेक कुरा ख्याल गरेर चरित्रलाई फिल्ममा ढाल्नु कम जोखिम मानिन्न । तर, केही कलाकार यस्ता हुन्छन् जो यस्ता जोखिम बारम्बार लिन रुचाउँछन् । बलिउडमा प्रियंका चोपडालाई यस्तै अभिनेत्री मानिन्छ जाो चरित्रमा प्रयोग गर्न रुचाउँछिन् । बक्सर मेरी कोमको बायोपिक ‘मेरी कोम’ मा जीवन्त अभिनय गरेर आम दर्शकको मन जितेकी बलिउड अभिनेत्री प्रियंका चोपडा पुनः अर्को एक बायोपिक फिल्ममा देखिने भएकी छन् ।
समाचार अनुसार उनी रनिङ च्याम्पियन र ओलम्पिक मेडल विजेता पीटी उषाको जीवनीमा बन्ने फिल्ममा शीर्ष भूमिकामा देखिने तयारीमा छिन् । फिल्म निर्देशक रेवथी एस बर्माले प्रियंकालाई फिल्ममा शीर्ष भूमिकामा काम गर्नका लागि प्रस्ताव गरिसकेका छन् । उनले संगीतका लागि एआर रहमानसँग पनि कुराकानी गरेका छन् ।
‘म केही वर्षदेखि यो बायोपिकको विषयमा काम गरिरहेको छु । पीटी उषालाई यो विषयमा बुझाउन कुनै सजिलो काम थिएन,’उनले भने,‘उनले त्यो बेला आफ्नो बायोपिक बनाउनका लागि अहिलेको समय उपयुक्त नभएको बताइरहिन् । उनले अरु कोही भारतीयले ओलम्पिकमा गोल्ड मेडल जितेको हेरेर मात्र पर्दामा आफ्नो जीवन प्रस्तुत होस् भन्ने चाहेकी थिइन् । तर, अन्ततः उनी राजी भइन् ।’ निर्देशकले खबरको पुष्टि गरे पनि प्रियंकाले भने यो विषयमा केही कुरा बोलेकी छैनन् ।
यो फिल्मको बजेट सय करोड हुने जनाइएको छ । निर्देशक रेवथीले यसअघि सयौं तमिल र मलयालम फिल्म बनाइसकेका छन् । उषाको बायोपिक फिल्म हिन्दी, अंग्रेजी, चिनियाँ र रुसीलगायतका भाषामा निर्माण गरिनेछ ।

 

प्रकाशित: २२ आश्विन २०७४ ०४:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App