८ वैशाख २०८१ शनिबार
खेल

स्पेनको विश्वकप स्थान पक्का

पेरिस- बलियो टोलीका रूपमा हेरिएको स्पेनले शुक्रबार अल्बानियालाई ३–० ले हराउँदै विश्वकप २०१८ मा स्थान पक्का गरेको दिन अस्ट्रियालाई ३–२ को नतिजा सुम्पिएपछि सर्बियाले रूसको टिकट काट्न थप कुर्नुपर्ने भएको छ ।
रोड्रिगो, इस्को र थियागो एलकान्ट्राले पहिलो ३० मिनेटभित्र गरेको गोल २०१० को विश्वकप विजेता स्पेनलाई तीन अंक बटुल्न पर्याप्त भयो । जितसँगै स्पेनले समूह ‘जी’ बाट शीर्ष टोलीको हैसियतमा रूसको टिकट पक्का ग¥यो । समूह ‘जी’ कै इटाली टुरिनमा मेसेडोनियासँग १–१ को बराबरीमा रोकिएपछि विश्वकपका लागि प्लेअफबाट गुज्रिनुपर्ने भएको छ ।
१६औं मिनेटमा रोड्रिगोले गरेको गोलमा स्पेनले अग्रता लिएको थियो । २४औं मिनेटमा इस्कोले गोल गर्दै स्पेनको अग्रता दोब्बर पारेका थिए । त्यसको तीन मिनेटपछि थियागो एलकान्ट्राले  गोल गर्दै स्पेनका लागि महत्वपूर्ण तीन अंक पक्का गरेका थिए ।
‘हामीले अझै खेल सुधारमा ध्यान दिन जरुरी छ,’ स्पेनका प्रशिक्षक जुलेन लोप्टे्ग्वीले भने, ‘पछिल्लो केही समय हामी कठिन परिस्थितिबाट गुज्रिरहेका छौं । भाग्यवश हामीले ३० मिनेटमा बनाएको ३–० को अग्रता अन्त्यसम्म कायम रह्यो ।’
युरोपेली छनोटको प्रत्येक समूहको विजेता स्वतः विश्वकपमा छनोट हुँदा दोस्रो स्थानको टोलीले प्लेअफको मौका पाउनेछ ।
 यस जितपछि ९ खेलको समाप्तिमा २५ अंक जोडेको स्पेन समूहविजेताका रूपमा स्वतः विश्वकपमा छनोट भएको हो । २० अंक जोडेको इटाली दोस्रो र १३ अंक जोडेको अल्बानिया तेस्रो स्थानमा छन् । शुक्रबारै सम्पन्न खेलमा मेसेडोनियासँग १–१ को बराबरी खेल्दै अंक बाँडेपछि इटालीले भने विश्वकप यात्रा पक्का गर्न प्लेअफबाट गुज्रनुपर्ने भएको छ ।
४०औं मिनेटमा भेट्रान रक्षक जर्जियो किलिनीले गरेको गोलमा इटालीले अग्रता लिएको थियो । तर ७७औं मिनेटका वैकल्पिक खेलाडी एलेक्सान्डर तार्जकोभोस्कीले गोल गर्दै मेसेडोनियालाई खेलमा फर्काएपछि इटाली अंक बाँड्न बाध्य भएको थियो ।
‘छनोट चरणको अन्तिम खेल अझै बाँकी छ । त्यसैले हामी त्यो खेलपछि मात्र प्लेअफका बारेमा विचार गर्नेछौं,’ इटालीका प्रशिक्षक जियान पियरो भान्टुराले भने ।
शुक्रबारै सम्पन्न समूह ‘डी’ को खेलमा अस्ट्रियासँग ३–२ को अप्रत्याशित हार बेहोरेपछि सर्बियाले विश्वकपमा स्थान बनाउन अन्तिम खेलसम्म कुर्नुपर्ने भएको छ ।
११औं मिनेटमा लुका मेलिभोजोभिचले गरेको गोलमा सर्बियाले अग्रता लिएको थियो । २५औं मिनेटमा गुइडो बर्गस्टेलरले  गोल गर्दै अस्ट्रियालाई खेलमा फर्किएका थिए । ७३औं मिनेटमा मार्को अर्नाटोभिचले गोल गर्दै अस्ट्रियालाई अग्रता दिलाएका थिए ।  ७९औं मिनेटमा निमान्जा माटिचले गरेको गोलमा सर्बिया खेलमा फर्किएको थियो । तर खेल सकिन एक मिनेट बाँकी छँदा लुइस स्कबले अस्ट्रियाका लागि निर्णायक गोल गरेपछि सर्बियाको विश्वकप छनोट यात्रा लम्बिएको हो ।
यस नतिजापछि ९ खेलको समाप्तिमा १८ अंक जोडेको सर्बिया समूह ‘जी’ को शीर्ष स्थानमा यथावत् छ । समान खेलमा एक अंक कम जोडेको वेल्स दोस्रो स्थानमा र १६ अंक जोडेको आयरल्यान्ड तेस्रो स्थानमा छन् ।
वेल्सले जर्जियालाई १–० ले पराजित गर्दै विश्वकप सम्भावना बलियो पारेको हो । त्यस्तै आयरल्यान्डले मोल्डोभोलाई २–० ले पराजित गर्दै विश्वकप सम्भावना जीवित राखेको हो ।
यता समूह ‘आई’ को खेलमा टर्कीलाई ३–० ले पराजित गर्दै आइसल्यान्डले पनि विश्वकप छनोट सम्भावना थप बलियो बनाएको छ ।
यस जितपछि ९ खेलको समाप्तिमा १९ अंक जोडेको आइसल्यान्ड शीर्ष स्थानमा छ । समान खेलमा समान १७÷१७ अंक जोडेका क्रोएसिया र युक्रेन क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् ।
समूहका अन्य खेलमा युक्रेनले कोसोभोलाई २–० ले पराजित गर्दा क्रोएसिया फिनल्यान्डसँग १–१ को बराबरीमा रोकिएको हो ।

प्रकाशित: २२ आश्विन २०७४ ०४:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App