८ वैशाख २०८१ शनिबार
खेल

अमेरिका छनोट नजिक

अर्लान्डो- स्ट्राइकर क्रिस्टियन पुलिसिकको उत्कृष्ट प्रदर्शनप्रेरित अमेरिका पानामालाई पराजित गर्दै विश्वकप छनोटनजिक पुगेको छ । कन्काकाफ छनोटअन्तर्गत शुक्रबार सम्पन्न खेलमा पानामामाथि ४–० को सानदार जित हात पर्दै अमेरिकाले रूस विश्वकप २०१८ मा छनोट हुने सम्भावना बलियो पारेको हो ।
खेलको आठौं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका पुलिसिकले १९औं मिनेटमा स्ट्राइकर जाजी एल्टिडोरेका लागि गोलको अवसर सृजना गरिदिएका थिए ।
४३औं मिनेटमा एल्टिडोरेले पेनाल्टीमार्फ व्यक्तिगत दोस्रो गोल गरेपछि अमेरिकाले मध्यान्तरअघि ३–० को अग्रता लिएको थियो । ६३औं मिनेटमा बबी सोउ उडले गोल गर्दै अमेरिकाका लागि महत्वपूर्ण तीन अंक पक्का गरेका थिए ।
यस जितपछि ९ खेलको समाप्तिमा १२ अंक जोडेको अमेरिका तेस्रो स्थानमा उक्लिँदा १० अंक भएको पानामा चौथो स्थानमा झरेको छ । समान खेलमा २१ अंक जोडेको मेक्सिको शीर्ष स्थानमा छ । एक खेल कम खेलेको कोस्टारिका १५ अंकका साथ दोस्रो स्थानमा र होन्डुरस ९ अंकका साथ पाँचौं स्थानमा छन् ।
कन्काकाफ छनोटको शीर्ष तीनमा बस्ने टोली स्वतः विश्वकपमा छनोट हुँदा चौथो स्थानको टोलीले प्लेअफमार्फत पुनः एक पटक भाग्य परीक्षणको अवसर पाउनेछ । शीर्ष स्थानको मेक्सिको यसअघि नै विश्वकपमा छनोट भइसकेको छ । दोस्रो स्थानको कोस्टारिकाले दुई खेल खेल्न बाँकी छ र टोलीलाई विश्वकप यात्रा पक्का गर्न एक अंक मात्र पनि पर्यास्त हुन सक्छ । त्यसैले मंगलबार छनोट चरणको अन्तिम खेलमा ट्रिनिडाड एन्ड टोबागोलाई पराजित गरे वा बराबरीमा रोके पनि अमेरिकाको शीर्ष तीनमा बस्दै स्वतः विश्वकप छनोट हुने पक्का छ ।
यता अमेरिकासँगको हारपछि पहिलो पटक विश्वकपमा छनोट हुने लक्ष्य लिएको पानामा कठिन स्थितिमा पुगेको छ । पानामाले समूह चरणको अन्तिम खेलमा कोस्टारिकाको सामना गर्दै छ । त्यसैले टोलीलाई प्लेअफको सम्भावना जीवित राख्न पनि उक्त खेलमा स्पष्ट तीन अंकको आवश्यकता छ । बराबरी अथवा हारले टोलीको प्लेअफ सम्भावना कमजोर बन्नेछ र टोलीले अन्य खेलको नतिजा कुर्नुपर्नेछ ।
पाँचौं स्थानको होन्डुरसले कोस्टारिका र मेक्सिकोसँग गरी दुई खेल खेल्न बाँकी छ । होन्डुरसले दुवै खेलमा सुखद नतिजा निकालेमा पानामाको विश्वकप सपना समाप्त हुन सक्छ । यस क्षेत्रको प्लेअफमा छनोट हुने टोलीले एसियाली प्लेअफको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । एसियाली प्लेअफका लागि सिरिया र अस्ट्रेलिया छनोट भएका थिए । दुवै टोलीबीच बिहीबार सम्पन्न पहिलो खेल १–१ को बराबरीमा सकिएको थियो ।

‘ट्रिनिडाडविरुद्धको खेल त्यति सहज हुनेछैन । तर अहिले हामी राम्रो स्थितिमा छांै,’ अमेरिकाका प्रशिक्षक बु्रस एरेनाले भने, ‘यो खेल हाम्रा लागि महत्वपूर्ण र कठिन छ । ट्रिनिडाड छनोटबाट बाहिरिए पनि हामी उनीहरूलाई कमजोर सोच्ने गल्ती गर्र्दैनांै ।’
छनोट चरणअन्तर्गत शुक्रबार सम्पन्न अर्को खेलमा मेक्सिकोले ट्रिनिडाड एन्ड टोबागोलाई ३–१ ले पराजित गरेको छ । यता खराब मौसमका कारण होन्डुरस र कोस्टारिकाविरुद्धको खेल सारिएको छ ।

प्रकाशित: २२ आश्विन २०७४ ०४:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App