१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
विचार

स्वीडिस पत्रकारको टाउको भेटियो

पिटर म्याडसेनको पन्डुबी (बायाँ)बाट यात्रा सुरु गरेदेखि हराएकी पत्रकार किम वाल (दायाँ) । तस्बिर : एएफपी

कोपनहेगन- दुई महिना अघिबाट हराइरहेकी स्वीडेनकी पत्रकार किम वालको टाउको डेनमार्कको राजधानी कोपनहेगन नजिकैको समुद्रमा भेटिएको छ ।
डेनमार्कका पन्डुबी मालिक पिटर म्याडसेनसँगै यात्रा गर्ने क्रममा अगस्ट महिनादेखि हराइरहेकी पत्रकार वालको टाउको, गोडा र कपडाले भरिएको झोला गोताखोरले डेनमार्कको राजधानी कोपनहेगनको दक्षिणमा रहेको ‘कोग बे’मा भेटेको सिटी प्रहरी इन्स्पेक्टर जेन्स मोलर जेनसेनलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ ।
अगस्ट १० का दिन पिटर म्याडसेनको पन्डुबीमा सामुद्रिक यात्रामा निस्केको ११ औं दिनमा पत्रकार वालको शव भेटिएको ठाउँ नजिकै टाउको र गोडा भेटिएको डेनिस प्रहरीले बताएको छ । पन्डुबी मालिक ४६ वर्षे म्याडसेनले उनको हत्या अस्विकार गर्दै आइरहेका छन् । पत्रकार वालको शवलाई टुक्रा टुक्रा पारेको आरोप पनि म्याडसेनले अस्विकार गरिरहेका छन् ।
प्रहरी इन्स्पेक्टर मोलर जेनसेनले शुक्रबार भेटिएको झोलालाई गहुँ्रगो बनाउनका लागि फलामका टुक्रा राखिएको बताएका छन् ।
‘हिजो बिहान हामीले पत्रकार किम वालको कपडा, अन्डरवेयर, स्टकिङ्स र जुत्ता भएको झोला भेटेका थियौं । त्यो झोलालाई गहँ्रुगो बनाउनका लागि चक्कु र कारका केही पाइप राखिएको थियो,’ उनले बताए ।
पोस्टमार्टम रिर्पोटका अनुसार शुक्रबार भेटिएको टाउको पत्रकार वालकै भएको र कुनैपनि फ्याक्चरको संकेत वा टाउकोमा कुनै पनि प्रकारको चोट भएको नभेटिएको उनले बताए ।
पोस्टमर्टम रिर्पोटसँगै पन्डुबी मालिक म्याडसेनले यस अघि पत्रकार वालको मृत्यु टाउको ठोक्किएर भएको भनेर दिएको बयानसँग बाझिएको छ ।
३० वर्षे पत्रकार वाललाई अगस्ट १० गते साँझ म्याडसेनले आफैले बनाएको ४० टनको पन्डुबी ‘युसी थ्री नाउटिलस’ मा उनको साहसिक कार्यका बारेमा समाचार संकलन गर्न जाने बेला अन्तिम पटक देखिएको थियो । यात्राबाट नफर्केपछि उनका केटा साथीले अर्को दिन पत्रकार वाल हराएको सूचना प्रहरीलाई दिएका थिए ।
वाल हराएपछि शंकाको घेरामा परेका म्याडसेनले सुरुमा आफूले उनलाई सुरक्षित रुपमा कोपनहेगनमा छोडेको बताएका थिए । तर पछि फेरि उनले आफ्नो भनाई परिवर्तन गरेर यात्राको दौरान खतरनाक दुर्घटना भएकाले आफूले उनलाई समुद्रमा नै गाडेको र आफूले पनि आफ्नो पन्डुबीलाई समुद्रमा डुबाएर आत्महत्या गर्ने योजना बनाएको बताएका थिए ।
पत्रकार वालको शव अगस्ट २१ मा भेटिएको थियो । शवको पोस्र्टमार्टम रिर्पोटबाट उनको गोप्य अंग र ढाडको करंगमा छुरा प्रहार गरेर हत्या गरिएको खुलेको थियो । छुरा प्रहार गरेलगत्तै वा केही बेरपछि उनको मृत्यु भएको हुनसक्ने अनुमान गरिएको थियो । डेनमार्कका अभियोजनकर्ता ज्याकोव बुक–जेपसेनले यस महिनाको सुरुआतमा म्याडसेनको हार्ड ड्राइभमा जिउँदै महिलाको शिर छेदन गरिएको फुटेज भेटिएको बताएका थिए । हार्ड ड्राइभ आफ्नो नभएको बताउँदै आएका म्याडसेनलाई अनुसन्धान जारी रहेको भन्दै थप चार साताका लागि प्रहरी हिरासतमै राखिएको छ ।

प्रकाशित: २२ आश्विन २०७४ ०३:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App