coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

वाम गठबन्धनबाट नतर्सिन कांग्रेसलाई आग्रह

काठमाडौं- नेकपा एमाले तथा माओवादी केन्द्रका शीर्ष नेताले दुवै दलबीच भएको चुनावी गठबन्धन र पार्टी एकता विषयबाट नेपाली कांग्रेस तर्सिएको बताएका छन् । एमाले–माओवादी केन्द्र गठबन्धन अधिनायकवादतर्फ उन्मुख भन्दै नेपाली कांग्रेसले व्यक्त गरेको धारणाप्रति आश्चर्य व्यक्त गर्दै उनीहरूले यस्तो भ्रम नपाल्न आग्रह गरे ।
दुवै दलका नेताले चुनावी गठबन्धन र पार्टी एकताको विषय कुनै दलप्रति लक्षित नभएको भन्दै यसबाट अधिनायकवाद आउँछ कि भन्ने भ्रम नपाल्न आग्रह गरेका हुन् । उनीहरूले प्रजातान्त्रिक प्रक्रियाप्रति आफूहरूको निष्ठाप्रति प्रश्न नगर्नसमेत कांग्रेसलाई चेतावनी दिएका छन् ।
माओवादी केन्द्रक अध्यक्ष पुष्पकमल दाहालले एमाले र माओवादी एकताले अधिनायकवाद नजन्मिने बताए । ‘हाम्रो एकताले तत्काल साम्यवादी शासन आउने होइन । अधिनायकवाद आउने होइन  । कसैले भ्रम पाल्न आवश्यक छैन,’ दाहालले भने, ‘संविधानले नै नेपाललाई समाजवादउन्मुख राज्य हुने भनी दिशा निर्देशन गरेको छ । शान्तिपूर्ण रुपमा समाजवादमा जाने हो ।’
माओवादी शान्तिपूर्ण राजनीतिको भट्टीमा छिरिसकेको भन्दै उनले भने, ‘यो भट्टीमा छिरिसकेका छौं । अब यो भट्टीभित्र छिरेर को खरानी हुने र को स्पात भएर निस्कने हो । फैसला हुन बाँकी छ ।’
सत्ता गठन्धनमा रहेको संसद्को तेस्रो ठूलो दल माओवादी केन्द्र र प्रतिपक्षी एमालेबीच चुनावी गठबन्धन र पार्टी एकीकरण विषय अघि बढेपछि कांग्रेसका नेताहरूले अधिनायवादको सुरुवात तथा प्रजातन्त्रमाथि खतरा र राजनीतिक अस्थिरता ल्याउने खेल भन्दै टिप्पणी गरेका थिए ।
स्थायी कमिटीको बैठकपछि बोल्दै एमाले सचिव प्रदीप ज्ञवालीले कम्युनिस्ट पार्टीहरूको एकता कसैप्रति लक्षित नभएकाले त्यसबाट कोही विचलित हुनुपर्ने अवस्था नभएको बताए । ‘यो एकतापछि जे जस्तो तरंग उत्पन्न भएको छ, त्यसबारे हामीले समीक्षा गरेका छौं । यो एकता कसैप्रति लक्षित छैन भनेर घोषणासभामा भनेका छौं,’ ज्ञवालीले भने, ‘कतिपय राजनीतिक दल, नेता तथा सार्वजनिक सञ्चारमाध्यममा आएका केही धारणा बेचैनी, विचलन र हतासले भरिएका छन् । यसबाट केही विचलित हुनुपर्ने आवश्यकता छैन ।’
उनले वाम तालमेलले लोकतन्त्रमा खतरा ल्याउने, अधिनायवाद जन्माउने र राजनीतिक अस्थिरता ल्याउने भन्दै कांग्रेसका नेताहरूले गरेको टिप्पणीले आफू आश्चर्यचकित भएको बताए । ‘यस्तो प्रकारको अराजनीतिक टिप्पणी नगर्न आग्रह गर्छांै,’ ज्ञवालीले भने, ‘राजनीतिक स्थायित्वका लागि विचार मिल्नेहरूसँग गरिएको एकता हो यो । कांग्रेसले गर्न खोजेको एकताबारे हामीले कुनै टिप्पणी गरेका छैनौं ।’ एमाले र माओवादीबीच चुनावी तालमेल र पार्टी एकता घोषणापछि कांग्रेसले आफूसँग विचार मिल्ने अन्य साना र क्षेत्रीय राजनीतिक दलहरूसँग गठबन्धन निर्माण प्रयास गरेको छ ।
राजधानीमा आयोजित पार्टीको पोलिटब्युरो बैठकमा पनि दाहालले एमालेसँग एकताका लागि आफूले नै प्रस्ताव गरेको बताए । ‘एमालेले माओवादीलाई फसाएको भन्ने तपाईंहरूलाई लाग्ला तर यस्तो नसोच्नुहोला,’ दाहालले भने, ‘यसपटक पार्टी एकताको प्रस्ताव मैले राखेको हो, एमालेले होइन । नेतृत्वले कहाँ लगेर फसायो भनेर तपाईंलाई लाग्छ भने त्यो गलत हो ।’
एमाले र माओवादीबीच एकता प्रक्रियाको सुरुवात चुनावी गठबन्धनबाट गर्ने निर्णयसँग यसको विषयमा विभिन्न कोणबाट समीक्षा र टिप्पणी हुन थालेका छन् ।

प्रकाशित: २२ आश्विन २०७४ ०२:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App